पार्टी एकता रक्षा गर्न महाधिवेशनमा जानु पर्ने मत

|

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारयणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक तत्कालै सुरू गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै स्थायी कमिटी बैठक तत्काल राख्नुपर्ने बताएका हुन्।

‪'म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं', उनले भनेका छन्, 'सबैजना बैठकमा उपस्थित भएर आ-आफना बिचार राखौं र छलफल गरौं। त्यसबीचमा आवश्यकता अनुसार शीर्ष नेताहरु र सचिवालयमा पनि गृहकार्य गरौं।'

असार १० गतेबाट सुरू भएको बैठक तत्काल राख्नुपर्ने उनले माग गरेका छन्। पार्टीको विवाद उत्कर्षमा पुगेकै कारण बैठक पटक पटक स्थगित हुँदै आएको छ। 

'बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवशनको तयारी गर्ने गरी निकास निकालौं', उनले भनेका छन्, 'यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्‍नेबारे अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं। अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई  सम्बोधन गर्ने गरी निष्कर्ष निकालौँ।'

नेता श्रेष्ठले पार्टी एकताको रक्षा गर्न केन्द्रीय कमिटीको निर्णयानुसार महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिएका छन्। पार्टीको विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्नुपर्ने बताएका हुन्। 

प्रधानमन्त्री ओलीले बैठक राख्‍न नचाहेपछि पार्टीको विवाद उत्कर्षमा पुगेको उनको बुझाइ छ। समस्या समाधानका लागि प्रधानमन्त्री ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक वार्ता प्रयास गरे पनि सहमति जुट्न सकेको छैन।

ओलीले गत मंगलबार एक्लै स्थायी कमिटी स्थगित गरेपछि विवाद थपिएको छ। 'पार्टी भित्रको बहस र अन्तरसंघर्षलाई सत्योन्मुख रुपान्तरणको साधन बनाऔँ, ब्यक्तिको हार र जीतको बिषय होइन यो', उनले भनेका छन्, 'पार्टी , कम्युनिस्ट आन्दोलन, देश र जनतालाई बिजयी बनाऔं। ब्यक्तिगत आरोप-प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, ‪सैध्दान्तिक, राजनीतिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं।'

प्रधानमन्त्री ओलीको वैशाख १४ गतेको अभिव्यक्तिलाई लिएर अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायत नेताहरूले राजीनामा मागेपछि विवाद बढिरहेको छ। 

गत मंगलबारपछि पहिलो पटक आइतबारबाट ओली र दाहाल छलफलमा जुटेका थिए। तर, प्रधानमन्त्रीको कार्यशैलीबाट पार्टी फुटको संघारमा पुगेको अवस्थामा एकलौटी रूपमा लगानी बोर्डमा विवादित पृष्ठभूमिका मान्छे नियुक्ति गरेपछि विवाद झन् बढेको छ। 

मंगलबारको भेटवार्तामा लगानी बोर्डको सीईओ नियुक्तिलाई लिएर अध्यक्ष दाहालसँग चर्काचर्की भएको थियो। त्यसपछि ओली-दाहालच छलफल हुन सकेको छैन। केही समयताको छलफलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र दाहाल पक्षबाट वरिष्ठ नेता खनाल सहभागी हुँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.