|

मनाङ : लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दै छन्। लकडाउन खुलेसँगै कोभिड १९ को संक्रमण पुनः फैलिदै गएको छ भने कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको छ। तर कामदार मनाङ भित्रिदै गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ।

जिल्लामा विभिन्न ठाउँबाट कामका लागि दैनिक ४० देखि ६० जनाका दरले भित्रने गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।  यहाँ गोरखा, लमजुङ, रुकुम, रोल्पा, रसुवा लगायतका जिल्लाहरुबाट कामको खोजीमा कामदार मनाङ भित्रने गरेको सिमा प्रहरी चौकी तालले जनाएको छ।

केही स्थानलाई स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमयुक्त जिल्ला घोषणा गरिसकेको छ। तर कोरोना भाइरस मुक्त भएको मनाङमा कामदार तथा कर्मचारी भित्रिदै गर्दा जोखिम बढ्न सक्ने सम्भावना बढेको छ। मनाङमा कुन ठाउँमा कसले काम गराउने हो, सबैको रेकर्ड राखेर कामदारलाई छाड्ने गरिएको र आरडिटि परीक्षण गरेर गन्तव्यमा जान दिने गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए। 

घलेकाअनुसार आफ्नो पालिकाभित्र आउने कामदारलाई सेल्फ क्वारेन्टाइनमा राख्ने र काम क्षेत्र भन्दा बाहिर हिडडुल गर्न समेत रोक लगाइएको छ। चामे गाउँपालिका अन्तरगत अहिले जिल्ला अस्पताल र कारागारको भवन निर्माणको काम भइरहेको र यिनै स्थानमा कामदारहरु आएका घलेले जानकारी दिए। सम्बन्धित ठेकेदारलाई कामदार तथा कर्मचारीको पीसिआर लगायतका आवश्यक स्वास्थ्य मापदण्ड अपनाउने अनुरोध गरिएको उनले बताए।

त्यस्तै हाल जिल्लामा चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभुमी गाउँपालिकाका लागि कामदारहरु भित्रिएको बताइएको छ। देशैभर जोखिम बढ्दै गएको अवस्थामा धेरै मात्रामा बाहिरीबाट आएका कामदार जिल्लामा निर्वाध रुपमा भित्रदा सर्वसाधारणमा त्रास छाएको छ। 

कामको खोजीमा कामदारहरु नासों गाउँपालिकका हुँदै जिल्ला भित्रन थालेपछि स्थानीयले चिन्तित बनेका छन्। स्थानीयका अनुसार यस पटक यार्सा संकलन नभएकाले मनाङमा आर्थिक संकट त छदैछ, उनीहरुबाट कोरोना संक्रमणको मात्रै जोखिम छैन्। सुरक्षा थ्रेट पनि उत्तिकै देखिएको छ।

काम गर्न आएपनि मनाङका स्थानीय सरकार र प्रशासनको समन्वयमा आरडिटि परीक्षण गरेर मात्र जिल्ला प्रवेशको अनुमति दिएको जनाइएको छ। यता प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार बन्दाबन्दी खुलेपछि सर्वसाधारणहरु आवागमन स्वभाविक रुपमै बढ्ने बताउँदै सुरक्षा सतर्कता पनि अपनाइरहेको बताए। 

काम गर्न आउने मान्छे कहाँबाट आएका हुन्, कता जाने हुन्, कसको जिम्मा जाने हुन्, सम्बन्धित ठेकेदार स्थानीय तहलाई जिम्मा लगाउने गरिएको प्रजिअ पौडेलको भनाइ छ।
वर्षेनी गोरखा, धादिङ, रुकुम, नुवाकोट र रसुवा लगायतका जिल्लाबाट धेरै संख्यामा कामको खोजीमा मनाङ आउने गर्दछन्। तर अधिकांश कामदार कर्मचारीको पीसिआर रिपोर्ट भने नभएको सिमा प्रहरी चौकी तालले जनाएको छ। पीसिआर रिपोर्ट नआउँदा आवश्यक कामदार कर्मचारी ल्याउन नसकिएको क्याराभान कन्सल्टेन्सीका फिल्ड मेनेजर सोमनाथ थकालीले बताए। 

नासों गाउँपालिकामा भने बाहिरी कामदार नआएको तर अन्य स्थानीय तहमा कामदार आउने गरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए। ‘गत वर्षको योजना सकिएकाले बाहिरबाट कामदार ल्याउनुपर्ने छैन, यहाँका साना योजनाहरु भने स्थानीय कामदार प्रयोग गरी निर्माणको काम भइरहेको छ, तर गाउँपालिकाकै बाटो भएर प्रवेश गर्ने कामदारहरुबाट भने जोखिम रहेको छ,’ अध्यक्ष घलेले भने, ‘यही गाउँपालिका अन्तर्गत भएर आउने कामदारलाई सिधै गन्तव्यमा जान अनुरोध गर्ने गरिएको छ।’

सम्बन्धित क्षेत्रको सेल्फ क्वारेन्टाइनमा बसी कामदारले काम गर्दै आएको नार्पाभूमि गाउँपालिकाले जनाएको छ । मनाङमा यार्सागुम्बा संकलन गर्नदेखि विकास निर्माणका कामहरुमा समेत गोरखा, लमजुङ, धादिङ, रसुवा र रुकुमकै मान्छेहरु प्रयोग हुने गर्दछन् । मनाङमा हालसम्म एक कर्मचारीलाई कोरोना संक्रमण देखिएकोमा उपचार पछि निको भएर घर फर्किसकेका छन्। यसपछि अन्य संक्रमित नभेटिएकाले मनाङ कोरोनामुक्त जिल्लामा सूचिकृत छ। 

साउन १३ गते रसुवाबाट २२, १६ गते १२, १७ गते धादिङबाट ११, १८ गते कास्कीबाट १२, २० गते गोरखाबाट २२ र रोल्पाबाट ३३, २१ गते गोरखा नौ, २२ गते तिन, २३ गते गोरखाबाट पाँच, चितवनबाट ११ र रोल्पाबाट ३३ गरी एक सय ७१ कामदार मनाङ भित्रिएको सिमा प्रहरी चौकी तालले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.