काठमाडाैं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेका थिए। विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।
सिंहदरबारमा आज शपथग्रहणपछि पत्रकारसँग कुराका क्रममा प्रत्यायोजित व्यवस्थापन समितिका सभापति बिडारीले महामारी रोग फैलिरहेको र संसद् बैठक पनि नभएका बेलामा संसदीय समिति नै संसद्को काम गर्ने मुख्य थलो रहेको उल्लेख गर्दै सरकार, संवैधानिक अङ्ग र कानुनअनुसार स्थापित संस्थालाई सदनप्रति उत्तरदायी बनाउन समितिले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
उनले वर्तमान परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर मुलुकको कानून देश र जनताको हितका निम्ति मात्रै बन्छन्, राष्ट्रिय महत्वका विषय संरक्षित हुन्छन् र सरकारले बोलेका कुरा लागू गरिन्छ भन्ने कुराको अनुभूति दिलाउने विषय मुख्य चुनौती रहेकाले त्यसतर्फ समिति केन्द्रित हुने बताए।
सोही क्रममा राष्ट्रिय सरोकार समितिका सभापति रावलले राष्ट्रिय गौरवका योजना भनिए पनि २०/२५ वर्षसम्म सम्पन्न नहुने जटिलता कायमै रहेका सन्दर्भमा गुणस्तर युक्त बनाएर समयमै सम्पन्न गर्न सके समृद्धिको योजना साकार पार्न कोसे ढुङ्गा सावित हुने भएकाले त्यसतर्फ समितिको ध्यान गएको बताए ।
उनले राष्ट्रिय सुरक्षा, मानवाधिकार र पछाडि पारिएका समुदायको अधिकारको विषयलाई ध्यान दिँदै त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाए । राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई–दुई वर्षमा हुने व्यवस्था छ । निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना छन्।पुननिर्वाचित सभापति बिडारी भने राष्ट्रपतिबाट मनोनीत सांसद हुनुहुन्छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।