|

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका मन्त्रीहरू अहिले केन्द्रीय राजनीतिको विषयलाई लिएर  गुटगत रुपमा राजनीतिक भेटघाटमा व्यस्त छन्। केन्द्रमा देखिएको नेकपाको गुटले प्रदेशमा पनि रहेको नेकपाकै सरकारका मुख्यमन्त्री र मन्त्रीहरू सरकारी कार्यालयमै  गुटगत भेला गरिरहेका छन्। 

साउन २२ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो समय भइरहेको राजनीतिक विषयमा छलफल गर्न नेकपाका जिल्लास्तर र प्रदेश स्तरका ओली पक्षका नेताहरू राखेर सरकारी निवासमा छलफल चलाएका थिए। 

उनले बागमती प्रदेशमा ओली पक्षका सांसदहरूलाई आफ्नो पकड बाहिर नदिन भन्दै जिल्लास्तरका नेताहरूलाई आश्वस्त पारेका थिए। केन्द्रमा उठिरहको बागमती प्रदेशको मुख्यमन्त्रीसहित मन्त्रिमण्डल फेर्ने कुरामा डोरमणि पौडेल सशंकित भएका छन्। 

यस्तै ओली पक्षमा जनताको साथ छ भन्ने ढंगले प्रचार गर्न पनि गुटमा सहभागी नेताहरूलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिएका थिए। ओली पक्षको भेलामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा नेकपा बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, बागमती प्रदेश कमिटीका संगठन विभाग प्रमुख तथा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश कमिटीका सदस्य रहेका मनहरी गाउँपालिकाका अध्यक्ष  एकराज उप्रेती, नेकपाका जिल्ला नेता एकलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका मकवानपुर संयोजक सन्तोष चौलागाईंसहित पश्चिम क्षेत्रका ओलीनिकट युवा सहभागी भएका थिए।  

यस्तै बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले ओलीइतरका हेटौंडाका युवा तथा विद्यार्थीसँग मन्त्रालयमा छलफल गरेका छन्। समसामयिक विषय, राजनीतिक घटनाक्रम र अन्य विषयमा भन्दै माधव नेपाल तथा प्रचण्ड पक्षधरका  मकवानपुर जिल्लास्तरका युवा तथा विद्यार्थी नेताहरूसँग छलफल गरेका हुन्। मुख्यमन्त्री पौडेलेको क्याबिनेटमा भए पनि माधव नेपाल पक्षबाट सिफारिस भएका मन्त्री अरुण नेपाल माधव–अष्टलक्ष्मी शाक्य निकटका केन्द्रीय सदस्य हुन्।

बागमती प्रदेशका अन्य मन्त्रालयमा पनि सरकारी खर्चमा गुटगत भेला हुने गरेको छ। सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि औपचारिक तथा अनौपचारिक रुपमा विभिन्न शीर्षक राखेर तत्कालीन माओवादी निकटका कार्यकर्तासँग छलफल हुने गरेको मन्त्रालय स्रोतको दाबी छ। 

यस्तै बागमती प्रदेशका अन्य मन्त्रालयमा पनि कार्यकर्ताको बाक्लो चहलपहल हुने गरेको छ। कार्यालयको कामभन्दा पनि बागमती प्रदेशका मन्त्रीलाई नेता कार्यकर्ताको आतिथ्यता स्विकार गर्दै राजनीतिक गफमा भ्याइनभ्याई हुँदै आएको छ। 
  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.