|

हेटौंडा : मकवानपुरमा कोरोना संक्रमित बढेपछि हेटौंडा उपमहानगर क्षेत्र र मनहरी बजार क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय भएको छ। 

मकवानपुरको कमाण्ड पोस्टको आइतबार साँझ भएको बैठकबाट सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।  

बैठकमा आइतबार बिहानैबाट निषेधाज्ञा गर्नेबारे छलफल भए पनि त्यसबाट आम सर्वसाधारणमा ठूलो असर पुग्नसक्ने भन्दै सोमबार रातिदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको नेपालले बताए। हेटौंडा र मनहरी क्षेत्रबाहेकका क्षेत्रमा के गर्ने भन्नेबारे निर्णय भएको छैन।

मकवानपुरमा आइतबार मात्रै २३ जनामा कोरोना संक्रमण देखिएपछि यो खालको निर्णय भएको हो। मकवानपुरमा हालसम्म ७७ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

बकैयाको सेवा बन्द 

हेटौंडा ः मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको सेवा बन्द भएको छ। पालिकामा कार्यरत कर्मचारीको परिवारको सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पालिकाले सेवा प्रवाह बन्द गर्ने जनाएको हो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले आइतबार एक सूचना जारी गर्दै  गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी  गराएका हुन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.