|

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका-३ नायरनमतलेसस्थित बाहुन डाँडाका २२ वर्षीय उमेश सोमैले गत माघमा विवाह गरे। विवाह गरेको एक महिनापछि अर्थात् फागुनमा उनी रोजगारीको शिलशिलामा भारतको मुम्बई पुगे।

जुन लक्ष्यका साथ मुम्बई पुगे : त्यो भने पूरा हुन सकेन। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाधक बन्यो। बल्लतल्ल पाएको काम पनि कोरोना महामारीका कारण महिनामै गुम्यो। जागिर छुटेपछि खान र बस्न समस्या हुन थाल्यो। उनी घर फर्कन खोजे। जसोतसो बैशाख महिनाको अन्तिमतिर घरमा आउन सके।

गाउँ फर्किएका उनी स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा करिब एक महिना बसे। कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी घर गए। घरमा पुगेर केही समय परिवारसँग रमाएका उमेश पछिल्लो समय खासै खुसी थिएनन्।

खुसी नहुनुको कारण बेरोजगार थियो। तर पनि, कोरोनाको अवस्था सामान्य बनेपछि बाझिएका खेतबारीमा तरकारी खेती गर्ने र बाख्रा पालन व्यवसाय गर्ने योजना उमेशले बनाएका थिए। भावी योजनाबारे श्रीमती शोभालाई पनि जानकारी दिए। तर योजना अधुरै छाडे। योजनाबारे सुनाएको केही दिनमै अर्थात् साउन २० गते उनले आत्महत्या गरे।  

विवाह गरेको ६ महिनामै श्रीमानले छाडेर गएपछि १८ वर्षीय शोभा भावविह्वल बनेकी छिन्। ‘कोरोनाबाट बचाउन घरमा बोलाएकी थिएँ,’ उनले भनिन्, ‘तर घरमै आएर मृत्युको बाटो रोज्नुभयो। मेरो जीवनमा धोका दिनुभयो, उहाँ त आफ्नै खुसीले मरेर जानुभयो, तर मलाई न जिउनु न मर्नु बनाउनुभयो।'

साउन २१ गते माथगढी गाउँपालिका ७ बहादुरपुरमा एकैदिन एकै ठाउँमा दुई जनाले झुन्डिएर आत्महत्या गरे। नाता सम्बन्धले काकी र भतिज पर्ने दुई जनाले एउटै पासो लगाएर आत्महत्या गरेका थिए। २७ वर्षीय धनबहादुर राना र ३२ वर्षीया तारा रानाले आफूहरूबीचको अनैतिक सम्बन्ध लुकाउन आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

यस्तै, साउन २२ गते रैनादेवी छहरा गाउँपालिका २ सोमादीका ५६ वर्षीय कृष्ण विकले आत्महत्या गरे। दिनहुँ मादक पदार्थ सेवन गर्ने उनले त्यसैको नशामा नै आत्महत्या गरेको खुलेको छ।  

यी त लगातार तीन दिनसम्म घटेका केही प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समयमा पाल्पामा आत्महत्या गर्नेको संख्या निकै बढेको छ। विभिन्न कारण देखाउँदै आत्महत्याको बाटो रोज्नेको संख्या बढ्दै गएपछि जिल्लामा चूनौति थपिएको छ।

जिल्लाभर पछिल्लो एक वर्षमा ८८ जनाले आत्महत्या गरेका छन्। आर्थिक वर्ष २०७६/०७७ को मसान्तसम्म ८८ जना र यही साउन महिनाको २२ गतेसम्म ४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपकराज खरेलले बताए।

कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा ३८ जनाले आत्महत्या गरेका छन्। २३ जना पुरुष, १२ जना महिला, १ बालक र २ बालिकाले आत्महत्या गरेका हुन्।

गरिबीका कारण धेरैले आत्महत्या गरेको पाइएको छ। बेरोजगार हुनु र त्यसैमाथि ऋण थुप्रिँदै गएपछि आत्महत्याका घटना बढिरहेको हो। खरेलका अनुसार समाजमा अनैतिक घटनामा संलग्न भई समाजले थाहा पाएको भन्दै आत्महत्या गरेका छन् भने घरायसी झगडा सहन नसकी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आफूलाई अन्याय भएको महसुस भएमा मृत्यु होइन्, न्यायको लागि प्रहरी समक्ष आउन प्रहरी उपरीक्षक खरेलले आग्रह गरे। मरेर होइन बाँचेर समाजलाई सुधार्ने अभियानमा साथ दिन उनले अनुरोध गरे।

पाल्पामा तीन वर्षको तथ्यांक हेर्दा आत्महत्याको घटना न्यूनीकरण भएको छैन, झन बढ्दै गएको छ। आर्थिक वर्ष २०७४/७५ मा ६५ जनाले आत्महत्या गरेका थिए। २०७५/७६ मा ८४ र आर्थिक वर्ष २०७६/७७ मा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। गत आर्थिक वर्षको विवरण हेर्दा सबैभन्दा बढी पुरुषले आत्महत्या गरेका छन्। ५४ जना पुरुष, २८ जना महिला, बालक २ र ४ जना बालिकाले आत्महत्या गरेको उनले बताए।

२०७७ सालको साउन महिनाको २२ गतेसम्म ४ जनाले आत्महत्या गरिसकेका छन्। पछिल्लो अवस्था हेर्दा आत्महत्याको संख्या बढ्दो अवस्थामा रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।  

सर्वसाधारण नागरिकलाई सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सन्चो हेल्थ केयर प्रालि तानसेनका डाक्टर झपेन्द्र ढकालले बताए। ‘अहिलेका अधिकांश मानिस मानसिक तनावमा रहेको पाइन्छ,’ उनले भने, ‘उनीहरूलाई सामाजिक तथा कानुनी रुपमा सचेत गराउन आवश्यक छ।’ आत्महत्यालाई मुख्य कारण मान्न नहुने उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.