|

इलाम : खेलकुदको क्षेत्रमा इलाम अब्बल मानिन्छ। भौगोलिक रुपमा विकट भएपनि विभिन्न खेलका राष्ट्रिय टिममा इलामेली खेलाडीहरूको भूमिका महत्वपुर्ण रहँदै आएको छ। सुगम क्षेत्रबाट भन्दा दुर्गम क्षेत्रबाट राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने खेलाडीको संख्या बढि छ इलाममा।

जिल्लाको उत्तरी क्षेत्र सन्दकपुर पर्यटकीय मात्र होइन, खेलकुदको दृष्टिकोणले पनि अब्बल रहँदै आएको छ। नेपाली फुटबलको क्षेत्रमा क्लासिक डिफेन्डरको छवि बनाएका एन्फा एकाडेमीको पहिलो ब्याचका लोकबन्धु गुरुङ, छिरिङ गुरुङ हुँदै राष्ट्रिय लिगका उत्कृष्ट दर्शन गुरुङ सन्दकपुरकै हुन्।

सेभेन साइड मैदानबाट फुटबल जगतमा उठेका उनीहरु पछिका पुस्ताले अब ११ जना खेल्न मिल्ने फुटबल मैदान पाउने भएका छन्। सन्दकपुर–५ जमुनाका फुटबल प्रेमीहरूको सक्रियतामा अहिले खेल पर्यटन विकासका निम्ति इलाभेन साइड मैदानको काम तीव्र रुपमा अघि बढेको छ।

मैदान बनाउन गाउँपालिका र प्रदेश सरकारले लगानी थपेको छ। प्रदेश सरकारको १५ लाख र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँँ लागतमा गजाधर धनमाया रंगशालाको काम भइरहेका हो।

अहिले २५ रोपनी क्षेत्रफलमा रंगशालाको कामलाई अघि बढाइएको छ। नेपाली कांग्रेसका नेता तोयानाथ भट्टराईसँग १५ लाख रुपैयाँँमा १८ रोपनी जग्गा किनेर रंगशाला बनाउने काम अघि बढाइएको थियो। पछि भट्टराईले ७ रोपनी जग्गा निःशुल्क दिएपछि राष्ट्रिय स्तरको रंगशाला बनाउने सन्दकपुरबासीको सपना अघि साकार हुन लागेको हो।

जग्गा प्राप्त भएपछि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको रंगशाला बनाउन काम अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए। उनका अनुसार करिब २ करोड रुपैयाँँ लागत लाग्ने अनुमान गरिएको र १६ रोपनी क्षेत्रफलमा १०५ मिटर लम्बाइ र ६५ मिटर चौडाइको फुटबल मैदान बन्नेछ। ६ रोपनी क्षेत्रफलमा प्लेयर बक्स, फोर्थ अफिसियल बक्स र बाँकी क्षेत्रफलमा कङक्रिट प्यारापिट बनाउने योजना रहेको गुरुङले बताए। 

रंगशाला निर्माणका लागि प्रदेश र स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ सहयोग पाएपछि अहिले स्थानीय बासिन्दाबाट ८ लाख र फुटबल प्रेमीहरुबाट १ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ। सो जग्गालाई वडा कार्यालय मातहत ल्याएर निर्माण कार्य अघि बढाइएको हो।

‘२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मैदान सम्याउने कार्य अघि बढाएका छौं,’ उपभोक्ता समितिका अध्यक्ष गुरुङले भने, ‘अपुग रकम संघीय र प्रदेश सरकारका साथै गाउँपालिकाबाट प्राप्त हुने अपेक्षा छ।’ सदरमुकाममा हुने माईभ्याली गोल्डकपपछि सन्दकपुर–५ जमुनामा आयोजना हुने कागे गोल्डकपमा दर्शकको चाप अत्यधिक हुने गर्छ। इलामको फुटबल इतिहास बोकेको कागे गोल्डकप विगत ३४ वर्षदेखि स्थानीय भानुदय आधारभूत विद्यालयको खेलमैदानमा संचालन हुँदै आएको थियो। 

कागे गोल्डकपले खेलकुदको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई समेत जोड्दै आएको छ। यो क्षेत्रबाट दार्जिलिङ नजिक भएको कारण जमुनाका खेलाडी फुटबल खेल्न जाने र महिनौंसम्म बस्ने गरेका छन्। जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्ने कागे मेला र सो अवसरमा हुने फुटबलमा पनि भारतको दार्जिलिङ र अन्य क्षेत्रबाट धेरैजसो टिम आउने गरेका छन्। त्यसकारण पनि जमुनामा रंगशाला निर्माण गर्नुपर्ने अवस्था रहेको अध्यक्ष गुरुङले बताए।

दर्शकको चाप वर्षेनी बढ्दै गएकाले खेल पर्यटनको माध्यमबाट सन्दकपुर चिनाउन रंगशाला निर्माणलाई तीव्र रुपमा अघि बढाइएको वडाध्यक्ष जीतबहादुर साँवाले बताए। ‘जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले विद्यालयको सानो मैदानमा हुँदै आएको थियो, तर यो रंगशाला निमार्ण सम्पन्न भएपश्चात विद्यालयको मैदानमा फुटबल खेलाउनु पर्ने बाध्यता हट्नेछ,’ उनले भने 

खेलमैदान निर्माणका लागि छिरिङको सहयोग

रंगशाला निर्माणका लागि राष्ट्रिय खेलाडी छिरिङ गुरुङले नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। विश्वकप छनौटको प्रारम्भिक सुचीमा रहेका छिरिङले क्लोज क्याम्पका लागि काठमाडौं जानुअघि सहयोग रकम प्रदान गरेका हुन्।

‘हामीले दुःख,सुख गरी सानै मैदानमा भएपनि खेलेर यो अवस्थासम्म आयौँ, रंगशाला निर्माणपछि अब आउने भाइबहिनीहरूलाई सहज हुनेछ,’ छिरिङले भने, ‘ गाउँमै बनाएको रंगशालामा सहयोग गर्न पाउँदा खुशी लागेको छ, इलामेली खेलकुद विकासको निम्ति कोसेढुङ्गा सावित हुने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.