विरोध गर्दै पौडेल समूह, पेलेरै अघि बढ्ने मुडमा देउवा

|

काठमाडौं : कांग्रेसले आगामी फागुन ७-१० मा १४ औँ महाधिवेशनको मिति तोकेको छ। तर त्यही मितिमा हुने नहुने अझै ठेगान भएको छैन। तर हुने निश्‍चित नभएको महाधिवेशनले कांग्रेसमा तताएको छ।

१४ औँ महाधिवेशनबाट नेतृत्व सम्हाल्ने भन्दै १० जना नेताले सभापतिको उम्मेदवारका रुपमा चर्चा गर्न थालिसकेका छन्। आगामी महाधिवेशनमा पनि सभापति बन्‍ने तयारीका साथ सभापति शेरबहादुर देउवा नेताहरु तान्‍ने ध्यानमा छन्। आफ्नो गुटबाट सभापतिका एक्ला दाबेदार उनी अर्को गुटलाई भन्दा सजिलो पनि देखिएको छ। 

कांग्रेसमा देखिने गरी तीन वटा गुट छन्, उप गुट त कति कति। सभापति देउवाको गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला गुट १३ औँ महाधिवेशन र त्यसपछिको गतिविधिमा स्पष्ट देखिँदै आएको छ।

वरिष्ठ नेता पौडेल पुन आफू नै सभापतिको उम्मेदवार बन्ने ध्याउन्‍नमा छन् भने सिटौला पनि आफू स्वभाविक रुपमा सभापतिको उम्मेदवार रहेको बताउँदै आएका छन्। गएको हिउँदमा गृह जिल्ला पुगेर उनले सभापतिमा चुनाव लड्ने घोषणा नै गरे। 

कांग्रेसमा पहिले देखि नै चल्दै आएको ६०/४० को कुरा अहिले पनि चल्ती नै छ। अहिले देउवा ४० प्रतिशत र इतर समूह ६० प्रतिशत। तर, इतर समूहमा भागबण्डा र नेता व्यवस्थापन नहुँदा त्यहाँबाट केही नेता अघिल्लो महाधिवेशनकै जस्तो देउवा समूहमा जाने पक्का छ। 

यता महाधिवेशनमा आफू कसरी बलियो बनाउन सकिन्छ भनेर देउवा विभाग गठनमा लागेका छन्। महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन गर्नु विधान विपरीत हुने भन्दै वरिष्ठ नेता पौडेल समूहले भने विरोध गर्दै आइरहेको छ।

सभापति देउवाकै जिल्ला डडेल्धुरा लगायत शीर्ष नेताकै जिल्लामा संगठन समायोजनको काम सकिएको छैन। तर, पनि गत साउन १० गते यता क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु भएको छ।  

देउवा आफू बलियो हुनका लागि आफ्ना पक्षका नेतालाई धमाधम मनोनयन र फरक पार्टीबाट आएकालाई नेतालाई राम्रै पद दिएर व्यवस्थापन गरिरहेका छन्। उनले अहिले कांग्रेसका पुराना नेतालाई होल्डमा राखेर नयाँ नेताहरुलाई व्यवस्थापन गरिरहेका छन्। 

तत्कालीन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका विजयकुमार गच्छदारसहित १२ जनालाई उनले केन्द्रीय कार्यसमितिमै  समेटेका छन्। गच्छदार अहिले कांग्रेसका उपसभापति हुन्।

देउवाले गत प्रतिनिधिसभा निर्वाचनमा, तत्कालीन नयाँ शक्ति, एमाले र माओवादी परित्याग गरेर आउने नेताहरुलाई पनि जिम्मेवारी सुम्पेका छन्। गच्छदार समूहलाई २५ हजार क्रियाशिल सदस्यता दिने सहमति देउवाले गरेका छन्। अन्य पार्टीबाट आएकालाई पनि अवस्था हेरेर सदस्यता दिने देउवाको तयारी छ। 

त्यस्तै गत साउन १३ गते मात्रै राप्रपा छोडेर कांग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापाको समूहलाई व्यवस्थापन गर्न देउवाले आन्तरिक तयारी सकिसकेको देउवाको सचिवालयले जानकारी दिएको छ।

‘सुनिल थापाको समूह जुन साउन १३ मा कांग्रेस प्रवेश गर्याे उनीहरुलाई कहाँ के पद दिएर व्यवस्थान गर्ने सबै काम सभापतिज्युले सकिसक्नु भएको छ,’ देउवाको सचिवालयले भन्यो, ‘उहाँहरुलाई जिम्मेवारी दिन मात्रै बाँकी छ।’ 

पार्टी प्रवेश गराउँदा साउन १३ गते सानेपामा भएको कार्यक्रममै देउवाले थापालाई सहमहामन्त्री पद दिएको घोषणा गरेका थिए। उनले भनेका थिए, ‘धेरै साथीहरु हाम्रो पार्टी प्रवेश गर्नुभएको छ। अहिले हामीले के दिएका छौँ र सहमहामन्त्री पद दिएको छु। भोलिका दिनमा उहाँहरुले काम गर्दै जानुहुनेछ।’  

थापा समूहलाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य र २ जना आमन्त्रित केन्द्रीय सदस्य दिने देउवाको तयारी छ। अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थापालगायत उनको समूहलाई जिम्मेवारी तोक्नेछ। थापा समूहलाई पाँच हजार क्रियाशील सदस्यता दिने तयारी देउवाको छ।

देउवाले थापा समूहका ७ जनालाई केन्द्रीय समितिमा ल्याएर कांग्रेस केन्द्रीय समितिको संख्या १२५ बनाउँदै छन्। केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी महाधिवेशनमा स्वत मतदाता हुने कांग्रेसको विधान छ।

त्यसैले देउवाले आगामी महाधिवेशनमा आफू बलियो हुन धमाधम मनोनयन गरिरहेका छन्। १३ औँ महाधिवेशनदेखि अहिलेसम्म जिल्लादेखि केन्द्रमा प्रभाव राख्ने विभिन्न दलका ३० जना भन्दा धेरै नेताहरुलाई देउवाले केन्द्रीय समितिमा नै भित्र्याएका छन्। सभापति देउवाले पूर्व महामन्त्री तथा आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने तयारी गरेका कृष्णप्रसाद सिटौलालाई फकाउन कोशिश गरिरहेका छन्।

‘सिटौला दाइसँग सभापति ज्युले नियमित जसो कुरा गरिरहनु भएको छ,’ देउवाकै सचिवालय स्रोतले भन्यो, ‘सिटौला दाइले नमान्ने स्थिति आए पनि त्यस्तो ठूलो समस्या हुने देखिँदैन। सुनिल थापा र गच्छदारहरूको समूहले सिटौला दाइको भन्दा धेरै फाइदा हुने आँकलन पनि गरिएको छ।’

गच्छदार, थापालगायत कांग्रेसमा हालै प्रवेश गरेका नेताहरु १४ औँ महाधिवेशनसम्म देउवाकै समूहमा रहने र त्यहाँ बस्दा फाइदा नभए क्याम्प बदल्ने तयारीमा छ।  महाधिवेशन नजिकिएकाेले देउवा इतर समूहले पनि नवप्रवेशी नेताको विरुद्धमा खुलेर विराेध गर्न  सकेकाे छैन।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.