संक्रमित भेटिएका घरलाई सिल गर्दै जान्छौं : महानगर

|

काठमाडौं : राजधानीको सबैभन्दा चर्को ट्राफिक जाम हुने कोटेश्‍वर चोकबाट करिब डेढ सय मिटर पश्‍चिम लागेपछि सेतीओपी मार्गको एउटा मोडमा पुगिन्छ। काठमाडौं महानगरपालिका-३२ को असर्फी टोलमा ट्राभल हिस्ट्री नै नभएका एकजनाबाट कोरोना फैलिएको छ। 

सेतीओपी मार्गको उक्त मोडस्थित असर्फी गल्लीस्थित एक घरका 'ट्राभल हिस्ट्री' नै नभएका व्यक्तिबाट फैलिएको कोरोनाका कारण अहिले त्यो क्षेत्र सिल नै गरिएको छ। कोटेश्‍वर चोकस्थित प्रहरी प्रभागबाट पश्‍चिम सेतीओपी मार्गको उक्त टोल अहिले प्रहरीको कडा निगरानीमा छन्। मुख्य सडककै केही पसलहरु बन्द गरिएका छन् भने कोरोना देखिएका घरलाई सिल गरिएको छ।

एक घरका सदस्यमा सुरुमा त्यहाँ कोरोना देखिएको  थियो। त्यसपछि नेपालगञ्जबाट आएका त्यही घरमा बस्‍ने अर्का व्यक्तिमा पनि कोरोना पुष्टि भयो। यी दुईजनासहित सुरुमा चारजनामा त्यहाँ कोरोना देखिएको थियो।

त्यसपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा एउटा टेलरका सञ्चालक र त्यहाँस्थित रोजी स्टोरकी सञ्चालिकामा पनि कोरोना पुष्टि भएको छ। 'सुरूमा 'ट्राभल हिस्ट्री' नै नभएका एकजनालाई देखिएको कोरोना विस्तारै टोलका अन्यमा पनि फैलियो। टेलरिङ र किराना पसल हुँदै अहिलेसम्म २७ जनामा संक्रमण देखिइसकेको छ', काठमाडौं महानगरपालिकाका कोरोना फोकल पर्सन ज्ञानु वलीले भने। 

साउन १८ गते टेलरिङ सञ्चालक र किराना पसल सञ्चालकसहित चारजनामा कोरोना पुष्टि भएको थियो। त्यसपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको थियो। 

आइतबार १३ जनामा कोरोना भेटिएको वडा सदस्य हिरादेवी पोखरेल जानकारी दिइन।  उनका अनुसार संक्रमित मध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। अन्य तीन जनालाई घरमै आइसोलसनमा राखिएको छ।  कोरोना देखिएका अधिकांश कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरुमध्ये किराना पसलमा समान किन्‍न जाने ग्राहक पनि छन्। 

वलीले अहिले अन्यमा पनि कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिएका छन्। 'अहिले हामीले त्यो क्षेत्रलाई सिल गरेका छौं। त्यस क्षेत्रका १४१ जनामा कोरोना ट्रेसिङ हुँदा २७ जनामा संक्रमण पुष्टि भयो', उनले भने, 'पहिलो संक्रमितको ट्राभल हिस्ट्री नभएकाले हामी गम्भीर हुनुपरेको छ। अब पूरै टोल नै सिल गर्न सकिने अवस्था छैन। त्यसैले जहाँ जहाँ कोरोना पोजेटिभ देखिन्छ, ती घरलाई सिल गर्दै जाने नीति बनाएका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.