|

भद्रपुर : नेपाली सेनाका एक जनासहित झापामा ८ कोरोना भाइरसका संक्रमित थपिएका छन्। यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। जिल्लाको गौरादह नगरपालिकाका पाँच र भद्रपुर नगरपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

गौरादहमा पुष्टि भएका सङ्क्रमितमध्ये दुई जना सशस्त्र प्रहरी रहेका छन्। सशस्त्र प्रहरी बल इलाममा कार्यरत भई घर बिदामा आएका दुई र साउदी अरबबाट फर्किएका तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो।

गौरादहबाट एक सय १५ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा ५ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको गौरादहका स्वास्थ्य शाखाका संयोजक परशुराम भट्टराईले बताए।

त्यस्तै भद्रपुर नगरपालिकामा पुष्टि भएका तीन जनामध्ये एक जना नेपाली सेनाका ३३ वर्षीय प्युठ छन्। उनी श्री नयाँ श्रीनाथ गण चारआलीमा कार्यरत हुन्। घरबाट फर्किएपछि उनको कलबलगुरी क्वारेन्टाइनमा स्वाब सङ्कलन गरिएको भद्रपुर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए। अन्य दुई जना दुबईबाट फर्किएका २५ वर्षीया महिला र ४० वर्षीय पुरुष रहेका उनले बताए। 

भद्रपुरबाट साउन २० गते गरिएको ३४ जनाको स्वाब सङ्कलनम भएकाे थियाे। तीमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो। जिल्लामा सोमबार पुष्टि भएका ८ सङ्क्रमितलाई कहाँ राख्ने भनी अन्योल भएको छ। योसँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ६ पुगेको छ भने उपचारपछि निको भएर ३ सय ४३ जना घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.