कोरोना संक्रमण ह्वात्तै बढ्नुमा तीनै तहका सरकार जिम्मेवार भएको निष्कर्ष

|

पर्सा : वीरगन्ज क्षेत्रमा कोरोना संक्रमित ह्वात्तै बढ्ने र मृत्यु हुने क्रम उच्च भएपछि त्यसको रोकथाम र न्यूनीकरणका लागि वीरगन्जका चिकित्सकहरुले गाइडलाइन दिएका छन्। 

नेपाल चिकित्सक संघ नारायणीको वीरगन्ज शाखामा आबद्ध चिकित्सकहरुले यस्तो गाइडलाइन बनाएका हुन्। वीरगन्ज क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढ्नुमा तीनै तहका सरकारको समन्वय नपुगेको यहाँका चिकित्सकहरुको निष्कर्ष छ। 

साथै स्थानीयमा पनि आपसी दोषारोपण, हुलदंगा, तोडफोड, अनावश्यक नाराबाजीजस्ता कुरा विश्व महामारीका रुपमा रहेको कोरोनाको नजिकको निदान नभएको चिकित्सकहरुको लिखित तर्क छ। वीरगन्ज क्षेत्रमा कोरोना फस्टाउनुमा सबै जिम्मेवार व्यक्ति, निकाय र तीन तहकै सरकारको समन्वय नपुगेको नेपाल चिकित्सक संघ नारायणीको वीरगन्ज शाखाले लिखित रुपमा नै जनाएको हो। 

तीन तहका सरकारको समन्वय पहिलो गाइडलाइन भएको र यसको अतिरिक्त सम्पूण स्वास्थ्य सेवा प्रदायक संस्था, मेडिकल कलेज, निजी क्लिनिक, नर्सिङ होम, नागरिक समाज, राजनीतिक दल र सम्बन्धित निकायको आ–आफ्नो दायित्व हुनु पर्छ भनिएको छ। 

त्यसमा कुनै एक पक्ष पछि हटे महामारी न्यूनीकरणमा समस्या हुने संघका सचिव डा उदय नारायण सिंहले बताए। उनले बताएको कुरा नै संघको गाइडलाइनमा उल्लेख छ।

निजीको आक्रोश नारायणीमा पोखिएपछि संघ मुख खोल्न बाध्य  

यस क्षेत्रका निजी अस्पतालहरुले कोरोना डरका कारण सामान्य बिरामीको समेत उपचार गरेका छैनन्। 

प्रदेश २ का ६ जिल्लासम्मका कोरोना संक्रमितको उपचार गरेको नारायणी अस्पतालमै आइतबार तोडफोड भयो। त्यसपछि चिकित्सक संघको बैठक बसी तोडफोडमा संलग्नलाई कडा कारबाही मागसहित यहाँका चिकित्सकहरुले विभिन्न निचोड निकालेका छन्। बैठकको निचोडलाई नेपाल चिकित्सक संघ नारायणी वीरगन्ज शाखाका सचिव डा उदय नारायणी सिंहले सोमबार लिखित रुपमा सार्वजनिक गरेका हुन्। 

ताेडफाेड घटना निन्दनीय : संघ 

नारायणी अस्पतालका चिकित्सकसहित ४५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। र पनि खटिरहेका स्वास्थ्यकर्मीमाथि यस्तो हुनु दुखद् भएको संघको भनाइ छ। यस्तो समयमा केही अस्पतालको कमजोरीले बिरामीको मृत्यु हुँदा त्यस विधिको बाटो नअपनाई आइतबार तोडफोड गर्नु निन्दनीय भएको पनि संघले बताएको छ। 

तोडफोडमा कोरोना संक्रमितहरुलाई हेर्ने फ्रन्टलाइनमा रहेका संयोजक डा. सिंहको गाडीमा पनि क्षति पु¥याएको थियो। कोरोना कहरबाट स्वास्थ्यकर्मी चिकित्सक आफैं असुरक्षित हुँदा स्थानीयबाट पनि असुरक्षित महसुस भएको चिकित्सक तथा स्वास्थ्यकर्मीको भनाइ छ। अब सुरक्षा प्रत्याभूति नगरे सेवा प्रवाह गर्न कठिनाइ हुने चिकित्सकहरुले चेतावनीसमेत दिएका छन्। 

समन्वय नपुगे अवस्था अझै भयावह 

शव व्यवस्थापन गर्न लाँदा मेरो घरको बाटो नहिँडाउनुस्। मेरो एरियामा शव व्यवस्थापन नगर्नुस् भनी स्थानीयको विरोध हुँदा गोली चलाएर शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन्।  

‘स्वास्थ्यकर्मीको भनाइ नमान्ने र उनीहरुमाथि नै जाइलाग्ने भएपछि कसरी काम गर्नु ?’ कोभिड अस्पताल गण्डकका इन्चार्ज डा निरज सिंहले पनि तर्क गरे, ‘सुरुदेखि चिकित्सकलाई सबैको समन्वय चाहिन्छ। पूर्वाधारहरु व्यापक बनाउनुपर्छ। बाहिरबाट भित्रिने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था र आइसोलेट गर्ने ठाउँ, विभिन्न किसिमका रिएजेन्ट सामग्री पर्याप्तता हुनुपर्छभन्दा भन्दै थाकिसक्यौं।’ 

यतातर्फ सबैले ध्यान दिन र अब पनि गम्भीर नभए समस्याले विकराल रुप लिने उनले चेतावनी दिए। उनले भने, ‘हामी चिकित्सकले तीनै तहका सरकार र जिम्मेवार व्यक्ति तथा संस्थालाई फेरि पनि यही कुरा गर्छौं।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.