|

धादिङ : धादिङस्थित थोपल खोलामा आएको बाढीले बस र एम्बुलेन्स नै बगाएको छ। बाढीले नीलकण्ठ नगरपालिका-१२ ढलेबरस्थित एक मोटर ग्यारेजमा मर्मतका लागि लागि राखिएको एउटा बस र एउटा एम्बुलेन्स नै बगाएको हो। राती आएको बाढीले बगाएको एम्बुलेन्स हराइरहेको छ भने बस आँसीखोला र थोपलखोलाको दोभानमा भेटिएको छ।


थोपलखोलाको बाढीले बगाएको बस।

अविरल वर्षाका कारण थोपल खोलामा ठूलो बाढी आएपछि धादिङ सदरमुकामस्थित खोला किनारका बस्ती नै संकटमा परेका छन्‌। ​थोपल खोला छेउमा अस्थायी तथा स्थायी बसोबासका साथै अन्य पेशा व्यवसाय गर्दै आइरहेका सर्वसाधारणलाई खोलाले त्रसित बनाएको हो।

 

खोला किनारमा खेती योग्य जमिन मास्दै बस्ती बिस्तार हुनेक्रम बढ्दै गएपछि बाढीले बस्तीलाई नै संकटमा पार्न थालेको हो। यो वर्ष खोलामा पानीको सतह निकै बढेको छ। छेउछाउको बस्तीमा भेल-बाढी पस्न थालेपछि स्थानीयको बसोबास नै संकटमा परेको छ।

नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र १२ को सिमानामा खोलाको त्रास बढ्दै गएको हो। खोला छेउमा बस्ती रहेको र पानीको बहाव बढ्न थालेपछि जुनकुनै बेला संकट आउन सक्ने भएकाले स्थानीयबासीहरु सुरक्षित स्थान खोज्दै भौंतारिन थालेका छन्‌। 

धादिङबेसी पहरेचौतारादेखी बसपार्क र पुछारबजारसम्मकै थोपल किनारका क्षेत्र जोखिममा पर्दै गएको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का जनक ढकालले बताए। यो क्षेत्र हुँदै बहने थोपलखोला अहिले किनारमा रहेका दर्जनौं बस्ती र खेतीयोग्य जमिनभित्र पसेको छ। नदी नियन्त्रण र रोकथामका लागि पहल गरिदिन नीलकण्ठ नगरपालिकालाई अनुरोध गर्दा यस्तो काम प्रदेशको भन्दै जनप्रतिनिधि र कर्मचारीहरु पन्छिएको ढकालले गुनासो गरे। 

अविरल वर्षापछि सदरमुकाम धादिङबेसीबाट साङकोष पण्डितचौर हुँदै पचघरे निस्कने सडकखण्डका ठाउँ-ठाउँमा पहिरो खसेको छ। सडकमा पहिरो खसेपछि आवतजावतमा समस्या भएको छ। 


भेलले कटान गरेको सडक ।

पहरेचौतारा नजिकै पहिरोले सडक बगाएपछि सवारीसाधन गुड्न सकेका छैनन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनीले सोमबार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानकर्षण गराउने प्रतिवद्धता जनाएका छन्‌।

बाढीका कारण कजवेमा पानीको वहाब बढ्दा सोमबार बिहान धादिङबेसी-साङकोश-तिप्लिङ सडकखण्डमा आवागमन ठप्प भएको थियो।

बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक कामै नलाग्ने गरी बगाएको छ। करोडौं खर्च गरेर नयाँ ट्रयाक तथा मर्मत सम्भार गरिएका जिल्लाका अधिकांश सडक काम नलाग्ने अवस्थामा पुगेका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.