|
स्वेत्लाना तिखानोभ्स्सकाया ।

बेलारुसको राष्ट्रपति एलेक्सजेन्डर लुकाशेन्को युरोपका अन्तिम तानाशाहका रुपमा परिचित छन्‌। सन् १९९४ देखि राजधानी मिन्स्कमा सत्तासीन रहेका लुकाशेन्को राजनीतिक लाभका लागि जे पनि गर्न सक्ने शासक भनी चिनिन्छन्‌। यसपटक पनि त्यस्तै भयो। 

अगष्ट १० तारिखका दिन घोषणा गरिएको निर्वाचन परिणामअनुसार लुकाशेन्कोले ८० प्रतिशतभन्दा बढी मत पाए र छैठौं कार्यकालका लागि राष्ट्रपतिमा चुनिए। चुनाव जित्‍न उनले जे-जे गरे : त्यो कुनै तानाशाहले गरेभन्दा कम थिएन। 

यसपटकको चुनावमा लुकाशेन्कोकी प्रतिद्वन्द्वी थिइन्‌ स्वेत्लाना तिखानोभ्स्सकाया। आफ्ना पति सर्गेइ तिखानोभ्स्कायालाई राजनीतिमा प्रतिबन्ध लगाएर लुकाशेन्कोले जेल हालेपछि ३७ वर्षीया स्वेत्लानाले नै राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिइन्‌। चुनावमा उनले ९.९ प्रतिशत मत प्राप्त गरिन्‌। तर, जसरी उनले लोकतन्त्रको आवरणमा तानाशाह बनेका भनिएका लुकाशेन्कोलाई चुनौती दिइन्‌, त्यो नै बेलारुसका नागरिकका लागि आशाको फिलिङ्गो हो। ​

पूर्व अंग्रेजी शिक्षक र गृहिणी स्वेत्लानासँग निर्वाचनअघि कुनै राजनीतिक अनुभव नै थिएन। स्वेत्लानाका पति सर्गेइ एकजना प्रभावशाली ब्लगर थिए। सामूहिक आन्दोलनको योजना बनाइरहेको आरोपमा उनलाई राष्ट्रपतिको दौडमा रोक लगाइयो र जेल हालियो। अनि स्वेत्लानाले लुकाशेन्कोलाई चुनौती दिएकी हुन्‌। 

स्वेत्लाना आफु पराजित भएको स्वीकार्दिनन्। ‘म आफूलाई यस चुनावको विजेता ठान्छु,’ स्वेत्लानाले भनेकी छिन्‌, ‘निष्पक्ष चुनाव भयो या भएन भन्नेबारे छानबिन अभाव भयो, चुनावमा पर्यवेक्षकहरू उपस्थित थिएनन्। यसले मतदानमा भोट–धम्कीको व्यापक डर निम्त्यायो।’

त्यसो त, सदा झैं यसपटक पनि छानबिन अभावबारे चुनाव अघिदेखि नै चिन्ता सुरु गरिएको थियो। किनकी पर्यवेक्षकलाई निर्वाचन अनुगमन गर्न आमन्त्रित गरिएको थिएन र चुनाव अघि ४० प्रतिशतभन्दा बढी मत खसालिएको बीबीसीले प्रकाशित गरेको समाचार उल्लेख छ। 

विपक्षी दलका कार्यकर्ता र पत्रकारलाई चुनावभन्दा एक महिनाअघि नियन्त्रणमा लिएर लुकाशेन्कोले तानाशाही व्यवहार देखाएको आरोप लागेको थियो। बीबीसीले प्रकाशन गरेको एक सामग्रीमा उनलाई ‘युरोपको अन्तिम तानाशाह’को रुपमा चित्रित गरिएको छ। 

राष्ट्रपति लुकाशेन्कोले महिलाहरूलाई उपेक्षा गरेको कारण राष्ट्रपतीय उम्मेदवार रहेका भेरोनिका सेप्कालो र मारिया कोलेनिस्कोवाले स्वेत्लानालाई सर्मथन गरेपनि भारी अन्तरको हारको सामना गर्नुपर्‍यो। राष्ट्रपतीय चुनावमा प्रतिबन्ध लगाइएका भ्यालेरीकी श्रीमती सेप्कालो र जेल हालिएका उम्मेदवार भिक्टोर बाबारिकोको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेकी कोलेनिस्कोवाले स्वेत्लानालाई सघाएका थिए। ता कि, लुकाशेन्कोको २६ बर्ष लामो एकछत्र राज समाप्त गर्न सकियोस्।

बीबीसीले एक साताअघि तयार पारेको एक समाचार सामग्रीका अनुसार सन् १९९४ को जुलाईमा पहिलो पटक निर्वाचित भएर छैठौं कार्यकालको निम्ति प्रयास गरिरहेका लुकाशेन्काले हालै बेलारुसका महिलाहरू भोट दिन तयार नरहेको र संविधान महिलाको निम्ति नभएको बताएका थिए। पछि उनले आफ्नो भनाइको अर्थ महिलाको अपमान गर्नु वा चोट पुर्‍याउने नरहेको जिकिर गरेका थिए।  उनको स्पष्टीकरण थियो, ‘हाम्रो संविधानको लेखन यसरी गरिएको छ कि पुरुषको निम्ति आफ्नो जिम्मेवारी निर्वाह गर्न निकै गाह्रो छ। त्यो जिम्मेवारी महिलालाई दिँदा उनीहरू त्यो नराम्रो हुने र काम नलाग्ने हुन्छ।’

बेलारुसको राजधानी मिन्स्कमा जुलाई ३० का दिन करिब ६३ हजार मानिसहरू स्वेत्लानाको अभियानमा भाग लिएका थिए। हजारौंले प्रान्तीय सहरहरूमा स्वेत्लानाका पक्षमा जुलुसमा भाग लिएका थिए। जसले लुकाशेन्कोको एकतन्त्रीय शासन समाप्त गर्ने अपेक्षा राखिएको थियो। तर ८०.२३ प्रतिशत जनताको भोट लुकाशेन्कोको पक्षमा पर्‍यो।

चुनाव सम्पन्न भएलगत्तै लुकाशेन्को भारी मतका साथ विजयी हुने सार्वजनिक मत सर्वेक्षण सार्वजनिक भयो। लगत्तै, राजधानी मिन्स्क र अरु शहरमा लुकाशेन्को विरुद्ध विरोध प्रदर्शन भएका थिए। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन बल प्रयोग गर्नु परेको थियो। यसैबीच प्रहरी कारबाहीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको मानव अधिकारीवादीहरूले बताएका छन्‌। दर्जनौं व्यक्ति घाइते भएका छन्।

प्रहरीले प्रदर्शनकारीमाथि ग्रिनेड, रबरका गोली र अश्रुग्यास प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्‌।  प्रहरीले जुलुसमा दमन गरेपछि  बेलारुसकी पत्रकार हना लिउबाकोवाले ट्विटरमा फोटो पोष्ट गर्दै भनेकी छन् ‘यो कल्पना गर्न गाह्रो छ कि अधिकारीहरूले यी तस्बीरहरू कसरी व्याख्या गर्छन्, र म अत्यन्त संवेदनशील पोष्ट गर्दैछु। यी शान्तिमय प्रदर्शनकारीहरू थिए, धेरै जसो युवाहरू, वास्तवमै युवाहरू थिए। कम्तिमा एक जना व्यक्तिको मृत्यु भयो जब पुलिसले जानाजानी उनलाई हिर्कायो। तर, अधिकारीहरू इन्कार गर्दैछन्।’ 


राष्ट्रपति लुकाशेन्कोले स्वेत्लानालाई 'गरीब सानी केटी’ को संज्ञा दिएका छन्। जसलाई विदेशी कठपुतली मालिकहरूले चलाएको उनको आरोप छ। कोरोना भाइरसलाई लिएर लुकाशेन्कोले दिएको अभिव्यक्तिले सरकारप्रति आक्रोश बढेकै थियो।

बेलारुसका राष्ट्रपतिको अनौठो सल्लाह : कोरोनाविरुद्ध भिड्न भोड्का पिउनुस

राष्ट्रपतिले यसलाई प्रकोप मानेका छैनन् र नागरिकहरूलाई यो रोगसँग लड्न भोड्का पिउन सल्लाह दिएका थिए। ९५ लाख जनसंख्या रहेको बेलारुसमा ७० हजारको हाराहारीमा कोरोनाको संक्रमण देखिएको छ भने ६ सयले ज्यान गुमाइसकेका छन्। 

रुसको समर्थन, पोल्याण्ड र जर्मनको आपत्ति

लुकाशेन्काको जितपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसी समकक्षीलाई जितका बधाई दिएका छन्।  चीन, कजाकिस्तान, उज्ज्वेकिस्तान, मोल्डोभा र अजरवैजानका नेताहरूले समर्थनका सन्देशहरू पठाएका छन्।

तर जर्मन सरकारले चुनावको बारेमा ‘कडा शंका’ रहेको र न्यूनतम मापदण्ड पूरा नभएको बताएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनले चुनाव नतिजा प्रकाशित गर्न आग्रह गरिन्। ‘शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई उत्पीडन र हिंस्रक दमनको युरोपमा कुनै ठाउँ छैन,’ उनले भनेकी छिन्‌।

​त्यसैगरी पोल्याण्डले बेलारुसको पछिल्लो अवस्था एवं विवादास्पद राष्ट्रपतीय निर्वाचनका बारेमा छलफल गर्न युरोपेली युनियनको आपतकालीन बैठक डाक्न आग्रह गरेको छ।

(विभिन्न अन्तराष्ट्रिय संचारमाध्यममा प्रकाशित सामग्रीका आधारमा नमीन ढकालले तयार पारेको सामग्री)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.