विज्ञ भन्छन् : अहिलेको संकट नटरे थेग्‍न सकिँदैन

|

काठमाडौं : गत साउन ७ गतेबाट लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या ह्वात्तै बढेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मध्याह्न ४ बजेसम्म दिएको तथ्यांकअनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८० पुगेको छ।

उपत्यकामा देखिएका संक्रमितहरुलाई कोभिडका बिरामीको उपचार गर्न छुट्याइएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार हुँदैछ।

उपत्यकाका कोभिडका बिरामीलाई लागि त्रिवि शिक्षण अस्पताल, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा पनि उपचार भइरहेको छ। हाल यी अस्पतालका बेड संक्रमितहरुले भरिभराउ छन्। कतिपय संक्रमित अहिले होम आइसोलेशनमा छन्।

लक्षणसहितका संक्रमित बढ्दै जान थालेपछि हाल सरकारले लक्षण नभएका संक्रमितलाई घरमै रहन भनेको छ। लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पताल ल्याउन थालिएको छ।

चैत ११ गतेदेखिको लकडाउन अवधि र त्यसअघि उपत्यका बाहिरबाट आएकाहरुमा मात्रै संक्रमण देखिएको थियो। हाल काठमाडौं उपत्यकामा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि समुदायमा संक्रमण फैलिएको  बताइएको छ। कोटेश्‍वरको सेतीओपी मार्गका २७ जना स्थानीयवासीलाई संक्रमण देखिएपछि समुदायमा गएको अनुमान गरिएको छ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरको असर्फी टोलमा ट्राभल हिस्ट्री नै नभएका एकजनाबाट कोरोना देखिएको थियो। सुरूमा ट्राभल हिस्ट्री नै नभएका एकजनालाई देखिएको कोरोना विस्तारै टोलका अन्यमा पनि फैलियो। टेलरिङ र किराना पसल हुँदै अहिलेसम्म २७ जनामा संक्रमण देखिइसकेको छ।

साउन १८ गते टेलरिङ सञ्चालक र किराना पसल सञ्चालकसहित चारजनामा कोरोना पुष्टि भएको थियो। त्यसपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको थियो। हाल कोटेश्वर एरियाको ३२ वडा शिल गरिएको छ।

यता केही दिनअघि धेरै मानिसको चहलपहल हुने न्युरोडको कपडा पसलमा नै धेरैमा संक्रमण देखिएपछि हाल त्यो एरिया पनि सिल गरिएको छ। स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल काठमाडौँ उपत्यकामा बाहिरबाट आएका मात्रै नभएर यही लामो समयदेखि बसोबास गरेकाहरूमा समेत संक्रमण देखिए को छ।

तर मन्त्रालयले भने हाल उपत्यकामा स्थानिय संक्रमण नभएको बताइरहेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले भने, ‘संक्रमण केही बढेको छ, यसले जोखिम पक्कै बढेको छ तर समुदायमा संक्रमण पुगिसकेको भने छैन।'

तर मन्त्रालयकै केही अधिकारीहरुले भने उपत्यकामा संक्रमण समुदायमा फैलिसकेकाले यही अवस्थामा नियन्त्रण नगरे उपत्यकामा ठूलै 'डिजास्टर' हुने बताएका छन्। उनले भने, ‘केही दिनयता उपत्यकामा जुन तरिकाले संक्रमण देखिएको छ। यसलाई समयमा नै नियन्त्रण गर्न सकिएन भने ठूलै संकट आउने लगभग निश्चित छ।'

मन्त्रालयले उपत्यकामा सरकारी तथा निजी अस्पतालहरुमा ६ हजार ३७१ जनरल बेड रहेको, ५४५ आइसोलेसन बेड, ४५४ आइसियु बेड र २१४ भेन्टिलेटर तयारी अवस्था राखिएको जनाएको छ

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको कोरोना अपडेटमा काठमाडौँ उपत्यकामा ४४ जना मात्रै संक्रमणमा परेको उल्लेख गरेका थिए । सोमबार राती र आज विहान आएको रिपोर्टमा संख्या ह्वात्तै बढेको छ ।

मन्त्रालय स्रोतका अनुसार यो समाचार तयार पार्दा सम्म हिजो चार बजेपछि हाल सम्म उपत्यकामा अहिलेसम्म झण्डै एक सय जना संक्रमित थपिएको विवरण आइसकेको छ ।

लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकामा देशका विभिन्‍न भागबाट भित्रिएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । यसले ठूलो जनघनत्व भएको काठमाडौँलाई झन् खतरा पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.