भारतबाट आउनेको संख्या बढेसँगै भरिए क्वारेन्टाइन
भारतबाट आउनेको संख्या बढेसँगै भरिए क्वारेन्टाइन
दमक : कोरोना भाइरसका संक्रमित शून्य भइसकेको झापाको गौरीगञ्ज गाउँपालिकामा फेरि संक्रमित थपिएका छन्। अघिल्लो साता सम्ममा गौरीगञ्जका २३ जनाले कोरोना जितेर घर फर्किएपछि गाउँपालिका संक्रमित थिएनन्।
भारतसँग सीमा जोडिएको गाउँपालिकामा भारतबाट घर फर्किएका २३ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबै उपचारपछि घर फर्किएका थिए। तर पछिल्लो पटक २ जनामा पुनः संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले जानकारी दिए। उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।
पछिल्लो पटक संक्रमणमुक्त भई घर फर्किनेमा गौरीगञ्ज ५ का पुरुष छन्। उनी मोरङ गोठगाउँमा रहेको कोभिड १९ उपचार विशेष अस्पतालमा उपचाररत थिए।
भरिए क्वारेन्टाइन
भारतबाट आउने स्थानीयको चाप अधिक भएका कारण गाउँपालिकामा रहेका दुई वटा क्वारेन्टाइन भरिएका छन्। चार वटासम्म सञ्चालन भएको गौरीगञ्जमा संक्रमित संख्या न्यून हुँदै गएपछि दुई वटा क्वारेन्टाइन बन्द गरिएको थियो। स्वास्थ्य संयोजक मिश्रका अनुसार हाल प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी र खजुरगाछी माविमा रहेका क्वारेन्टाइनमा ७४ जना छन्।
१०३ को रिपोर्ट आउँन बाँकी
क्वारेन्टाइनमा रहेका, समुदायका केही र स्वास्थ्यकर्मीसमेत गरी गौरीगञ्जका १ सय २५ जनाको स्वाब परीक्षणको रिपोर्ट भने आउन बाँकी छ। उनीहरु मध्ये १ सय ३ जनाको विराटनगर र २२ जनाको मेची अस्पतालमा परीक्षणका लागि स्वाब पठाइएको हो।
कोराना संक्रमित पुष्टि हुने दर न्यून हुँदै गएपछि बजार तथा सवारी सञ्चालनमा केही खुकुलो पारिएको थियो। तर पुनः संक्रमित थपिने र भारतबाट आउनेको संख्यासमेत बढ्दै गएपछि पुनः सतर्कता बढाइएको गाउँपालिकाले जनाएको छ।
हाटबजार बन्द
गौरीगञ्ज झापाको पश्चिम दक्षिणी भारतसँग जोडिएको गाउँपालिका हो। यस गाउँपालिकाको दक्षिण भाग सवै भारतको बिहारसँग जोडिएका कारण कोरोना नियन्त्रणमा चुनौती देखिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।