|

कपिलवस्तु : तत्कालीन नेकपा (माओवादी)का नेता शिवपुजन कुर्मी, उनका भाइ चौधरी कुर्मी र बहादुर कुर्मीको हत्या अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट धरौटीमा छुटेका अपराधिक पृष्ठभूमिका कांग्रेस नेता प्रितम पाण्डेलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ।

१२ वर्षसम्म फरार रहेका पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतमा हाजिर भएको दुई दिन मै १० लाख धरौटी लिई छाडिएको थियो। उनी शुक्रबार बेलुकी ५ बजे आदेश भई सोही दिननै धरौटीमा छुटेका थिए।
 
कपिलवस्तु जिल्ला अदालतका २ नम्बर न्यायाधीश लालकाजी श्रेष्ठले प्रितम भन्ने सुखिनाथ पाण्डेलाई १० लाख धरौटी लिएर छाडेपछि पीडितहरू उच्च अदालत पुगेका थिए। उच्च अदालत बुटवल इजलासले पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७८ बमोजिम १० लाख रुपैयाँ धरौटी माग गर्ने गरी कपिलवस्तु जिल्ला अदालतबाट २०७६ पुस १८ मा भएको आदेश मिलेको नदेखिएको भन्दै बदर गरिदिएको छ।

बुटवल इजलासका मुख्य न्यायाधीश बाबुराम रेग्मी र न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजलाशले प्रतिवादी प्रितम पाण्डेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालतका नाममा परमादेश जारी गरेको छ।

पीडितका पक्षबाट बहस गरेका अधिवक्ता वृजेन्द्र चौधरीले जिल्ला अदालतले सुरुमै दफा ६७ बमोजिम थुनामा राख्ने मुद्दालाई ६८ मा लैजाँदा समस्या आएको बताए। दफा ६८ अनुसार अभियुक्तलाई धरौटी राख्न सकिने व्यवस्था रहेको छ। न्यायाधीशले स्वविवेक प्रयोग गर्न सक्ने अधिकार रहेको छ। परमादेशअनुसार आरोपित थुनामा रही जिल्ला अदालतमा मुद्दा चल्ने छ। मृतक शिवपुजनका छोरा होमप्रकाश चौधरीले जिल्लाबाट न्याय नपाएपछि पुनरावेदन गरेको बताए। 

यस्तो थियो पाण्डेमाथि लगाइएको आरोप

२०६४ चैत ९ मा होलीको दिन माओवादी कार्यकर्ता रहेका हथिहवाका शिवपुजन कुर्मीमाथि चारजनाले गोली प्रहार गरेका थिए। घटना वारदातका क्रममा उपस्थित दर्जनौँ प्रत्यक्षदर्शीले प्रहरी बयान तथा अनुसन्धानमा स्थानीय प्रितम पाण्डे, जर्नादन पाण्डे, धर्मेन्द्रसिंह क्षेत्री र नसिम खानले गोली हानेको बताए।

सोही अनुसन्धानका क्रममा सबैजना फरार भए। प्रहरीले विभिन्न चरणमा नसिम खान र धर्मेन्द्रसिंह क्षेत्रीलाई एक वर्षपछि पक्राउ गर्‍यो र शिवपुजन हत्याबारे पुर्पक्षका लागि थुनामा पठायो। १२ वर्षसम्म फरार रहेका पाण्डे पुस १७ गते अदालत आफैं हाजिर भए र १८ गते श्रेष्ठको एकल इजलासले धरौटीमा छाड्ने आदेश दियो।

पाण्डेविरुद्ध शिवपुजनबाहेक अरू तीनजनाको हत्या अभियोग समेत छ। २०६३ असार १३ गते तत्कालीन हथिहवा गाविसमा स्थानीय केशव भरको हत्याको नेतृत्व प्रितम पाण्डेले गरेको मुद्दामा किटानी जाहेरी छ। उनका बाबु दारु भरले छोराको हत्या प्रितम, धर्मेन्द्र सिंह र द्वारिका यादवले गरेको जाहेरीमा उल्लेख छ। यसैगरी २०६१ वैशाख १८ गते चौधरी कुर्मी र चेतन कुर्मीलाई विठुवामा हत्या गरिएको अभियोगमा समेत प्रितम पाण्डेविरुद्ध किटानी जाहेरी छ। तर प्रहरीले हाल सम्म उक्त घटनाको मुद्दा अनुसन्धान भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.