बेसारपानी र लसुन खाएँ, शारीरिक अभ्यास गरिरहेँ

|

काठमाडौं : साउन १६ गते  जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइस संक्रमण भयो। उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका थिए।

पर्सा क्षेत्र नम्बर १ का सांसद यादव ११ दिनमै कोरोनामुक्त भए। यी ११ दिनबीचमा कोरोनाविरुद्ध उनले कसरी संघर्ष गरे? कसरी कोरोनाबाट मुक्त भए? यिनै विषयमा थाहाखबरका लागि राजु पौडेलले बुझ्‍ने प्रयास गरेका छन्।

निदाउन सकिनँ

कोरोना भाइरस (कोभिड-१९) को जग्जगी देशभर नै थियो। कोरोनाको त्रासबीच पनि मैले आफ्नो दैनिकी ठीकठाक चलाइरहेको थिएँ। एक्कासि साउन १४ गते मलाई लगातार खोकी लाग्‍न सुरु भयो। राति हनहनती ज्वरो पनि आयो।

दुई दिनसम्म पारा सिटामोल र एन्टिबायोटिक खाएँ। त्यसपछि झाडापखाला सुरु भयो। अनि पो मलाई कोरोना लाग्यो कि भन्‍ने शंका भयो। साउन १६ गते स्वाब संकलन गर्दा मलाई कोरोना लागिसकेछ।

कोरोना लागेपछि छटपटी सुरु भयो। राति निदाउन सकिनँ। अनिदो रातसँगै उज्यालो भयो। तर, भोलिपल्टबाट साथीहरूले दिएको हिम्मत र हौसलाले कोरोनासँग लड्न ऊर्जा आयो। आत्मबल बढाउनुको विकल्प थिएन। मैले जित्‍नु थियो भने साहस र हिम्मत जुटाउनै पर्ने थियो। त्यसपछि मैले कोरोना जित्‍नैपर्छ भन्‍ने मिसन बनाएँ। 

अर्गानिक खानामा जोड

कोरोना लागेपछि यससँग लड्न केके गर्नुपर्छ भनेर गुगलमा खोजेँ। रोग लाग्दा कसरी बढ्न सकिन्छ? आफूलाई लागे पनि अरूलाई हुने जोखिमप्रति ध्यानमा राख्दै मास्क लगाइरहेँ। सामाजिक दूरी कायम गर्न सुरु भयो। दैनिकी चलायमान बनाउन बिहान ६ बजे उठेर घरको छतमा आधा घण्टा दौडिन सुरु गरेँ। त्यसपछि व्यायाम। खाली पेटमा बेसार पानी खाएँ। के खाने के नखाने एउटा रुटिन नै बनाएँ। हरेक एक एक घण्टामा मौसमी जुस पिउन थालेँ।

प्याज, लसुनको दुई पोटीलाई पिँधेर तातोपानीमा हालेर तीन दिनसम्म खाएँ। प्रत्येक तीन-तीन घण्टामा मौसमी जुस, नरिवल पानीका लागि बिहान ६ बजेदेखि बेलुका १० बजेसम्मको दैनिकी बनाएको थिएँ। यो बीचमा खाने बस्‍ने पढ्ने, पानी पिउने समय पनि मिलाएको थिएँ।  सबै कुरा गरेपछि अस्पताल नपुगी म घरमा बसेर नै कोरोनाबाट मुक्त भएँ। 

बाहिर कोरोनाबारे जेजति समाचार र हल्ला फैलिएका छन्। योभन्दा बिलकुल फरक छ। कोरोना लाग्ने बित्तिकै सबै सकिँदैन भन्‍ने कुरा राज्यले आम जनमानसमा पुर्‍याउन जरुरी छ।

कोरोनालाई हिम्मतले जितौँ

कोरोना लागेपछि डराएर, हिम्मत हारेर हुँदैन। आफ्नो दैनिकीलाई पहिलेभन्दा बढी चलायमान बनाउन जरुरी छ। कोरोनाविरुद्ध डराएर होइन डटेर लड्न जरुरी छ। 

अन्य दीर्घरोगीको हकमा फरक होला। तर, जो निरोगी छ। जसलाई कोरोना लागेको मात्र हो। उसले साहसले नै जित्‍न सकिन्छ। बिहान नास्तामा अलिकति स्याउ, टमाटर र पहेँलो फालेको अण्डा खान थालेँ।

एक एक घण्टामा मौसमी फलफूलको जुस खान थालेँ। बीचबीचमा अमिलो पानी, मह लगायतलाई प्राथमिकतामा राखेँ। दुई वटा प्याज, २२ पोटी दाना सानो आकारको लसुन, डेढ चम्चा नुन, खुर्सानी, थोरै  कालो नुनलाई पिसेर तीन भाग बनाएर बिहान बेलुका र दिउसो खाने गरेँ। तुलसीको पात, मरिच, अदुवा पनि थपेर झोललाई कडा बनाउँथेँ। 

कोरोनालाई सजिलै जितिन्छ

कोरोना लागेपछि म एक्लै बस्‍न थालेँ। दिन सामाजिक सञ्‍जाल र टेलिभिजन हेरेर कटाएँ। कोरोना लागे पनि त्यसको असर खासै देखिएको थिएन। कोरोनालाई लिएर सामाजिक संजालमा देखिएको अफवाहले म थप चिन्तित बन्थेँ।

वीरगन्ज क्षेत्रमा त समुदायमै कोरोना फैलिसकेको भन्‍ने पनि छ। कोरोना रुघाखोकी जस्तै सम्झेर कोरोनासँग लड्न जरुरी छ। कोरोना लागेपछि तहसनहस हुन्छ भन्‍ने बाहिर हल्ला, हल्ला मात्रै छ। कति जनालाई लागेर पनि निको भइसकेको होला। कोरोनाको औषधि छैन भनेर विश्‍व नै अहिले त्रासमा छ। कोरोनाको मात्र होइन, विश्वमा धेरै रोगको औषधि छैन। ती रोग लागे पनि रोगलाई कमजोर बनाउने भनेको आत्मबलले नै हो।    

अफवाहले झन् तनाव

सामाजिक सञ्‍जालमा देखिएको अफवाहले बिरामीको हौसला टुट्छ। सामाजिक सञ्‍जाल नहेर्नु नै अहिलेका लागि बेस हुन सक्छ। अनावश्यक चिन्ताले गरिएका फोनले पनि कोरोनाको रुप नै उच्च  नै हो कि भन्‍ने पनि हुन्छ। त्यसतर्फ भने  बिरामी स्वयम् सचेत हुन जरुरी छ। कोरोनालाई रुघाखोकी जस्तै हो भनेर अगाडि बढे मात्रै जित्‍न सकिन्छ। सोचमा परिवर्तन आएमा जित सुनिश्चित छ। 

सरकारले जनताको विश्‍वास जितेन

कोरोना लागेपछि म आफ्नै घरमा बसेँ। सबै आवश्यक तत्वहरु सहज उपलब्ध थिए। छुट्टै कोठा, शौचालय, हल थियो। सबै नेपालीको त्यो अवस्था छैन। राज्यले २२ हजार बिरामीलाई व्यवस्थापन गर्न सकेन। यो चुनौतीबाट सरकार चुक्नु हुँदैन थियो। 

मेरै सहरमा पनि कोरोनाको 'हटस्पट' बनेको छ। कोरोना संक्रमितहरू घर घरमा रहेका छन्।  शौचालयदेखि खानासम्मको समस्या छ। यो कठिनाइ र चुनौतीमा राज्यले जनतामाथि र जनताले राज्यमाथि भरोसा दिनुपर्छ। राज्यले जनतालाई राज्य छ भन्‍ने महसुस गराएको छैन। यो राज्यको कमजोरी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.