|

काठमाडौं : कोभिड १९ संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमी आएको नेपाल विज्ञापन संघ (आन) ले बताएको छ। 

आनका अध्यक्ष रवीन्द्रकुमार रिजालका अनुसार पछिल्लो समय लकडाउन खोलिएपछि भने विज्ञापन बजारमा ५० प्रतिशत सुधार आएको छ।  लकडाउन सुरुभएपछि पनि डेढ महिनासम्म व्यवसायीहरु पर्ख र हेरको अवस्था रहँदा विज्ञापन बजारमा कुनै असर नपरेको तर त्यसपछि भने एकैपटक ८० प्रतिशतले कारोबार घटेको उनले बताए। 

रेडियो र टेलिभिजनमा खासै असर नपरे पनि पत्रपत्रिकामा सबैभन्दा बढी असर परेको उनले बताए। 

उद्योगी व्यवसायीहरुले नेपालको मिडियाका लागि काम गर्नुपर्छ भन्ने वातावरण नबन्दासम्म विज्ञापन बजारमा सुधार हुन नसक्ने उनको भनाइ छ। ०७५/७६ मा करिब १२ अर्ब बराबरको व्यापार विज्ञापन बजारले गरेको थियो।। त्यसमध्ये ५ अर्बको कारोबार होडिङ बोर्ड र भित्ते लेखनमा भएको थियो भने बाँकी ७ अर्ब बराबरको कारोबार सञ्चार माध्यममार्फत भएको थियो। 

तर गत आर्थिक वर्षमा सञ्चार माध्यममा ५ अर्ब बढीले व्यापार घटेर २ अर्बमा सीमित भएको रिजालले बताए। त्यस्तै होडिङ बोर्डमा १ अर्ब बराबरको विज्ञापन भएकाले समग्रमा ७० प्रतिशत भन्दा बढी कारोबार घटेको उनले बताए। 

चालु आर्थिक वर्षमा ८ अर्बको विज्ञापन बजार निर्माण हुने अपेक्षा गरिएको तर यही अवस्था रहे औसतमा ५० प्रतिशत कारोबार हुनसक्ने उनले बताए। जसमध्ये सञ्चारमाध्यमले ४० प्रतिशतभन्दा बढी रकम कन्टेन्टका लागि खर्च गर्ने भएकाले बाँच्न गाह्रो हुने उनको भनाइ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.