कारबाही गर्ने कानुन छैन : समन्वय सभापति

|

सिमरा : कानुनी रुपमा देशभर नै नदीजन्य उत्खनन बन्द भएको २ महिना भयो। तर अहिले दिनभर खोलामा हुने चहलपहलको समय रातमा सरेको छ। सयौंको संख्यामा मजदुर, बालुवा कारोबारी, ट्याक्टर चालक, मालिक र सुराकीहरुको उपस्थितिमा रातभरि खोला तस्करी हुने गरेको स्थानीयहरुले जनाएका छन् । 

‘खोला खन्ने काम १ दिन पनि बन्द भएको छैन, रातभर ५० भन्दा बढी ट्ंयाक्टरले बालुवा गिटी ढुंगा ओसारेका छन्’, बाराको बालगंगा खोलाछेउमै घर भएका स्थानीय बलराम श्रेष्ठले भने, ‘रातभरमा एउटा ट्याकटरले ४० पटकसम्म वालुवा, ढुंगा ओसारेका हामीले भेटाएका छौं।’ 

बन्द भएको खोलामा उत्खनन् गरेको भन्दै रोक्न गएका जितपुरसिमरा उपमहानगर-१५ शुक्लयाका युवाहरु र बालुवा कारोबारीबीच मंगलबार राति दोहोरो झडपसमेत भएको छ । झडपमा शुक्लयाका केही स्थानीय युवा सामान्य घाइते भएका छन्।

‘हामी १५ जनाको समूहमा थियौं, उनीहरुले खोलाको चारैतिर सुराकी राखेर भटाभट ट्याक्टर लोड गर्दै थिए, हामी खोलामा पुगेपछि चालकले ट्याक्टर लिएर भागे, केही बेल्चा लिएर हामीमाथि जाइलागे’ श्रेष्ठले भने, ‘राज्यको सम्पत्ति लुटेर खाने यिनीहरुलाई कडा कारबाही हुनुपर्यो’, जितपुरसिमरा उपमहानगरले आफू मातहतमा रहेका दुधौरा, बालगंगा र पसाहा खोलामा जेठ मसान्तदेखि कानुनी रुपमा उत्खनन कार्य बन्द गरेको छ तर, १ दिनपनि खोला खन्ने काम बन्द नभएको स्थानीयले जनाएका छन्। 

कारबाहीकाे माग गर्दै स्थानीयले दिए उजुरी 

कानुनविपरीत भएको उत्खनन रोक्न र बालुवा तस्करीलाई कारबाही माग गर्दै स्थानीयले वडा कार्यालय र इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएका छन्। कानुनी रुपमा खोला बन्द भएको अवस्थामा अवैध रुपले जथाभावी खन्दा नदी छेउमा रहेका खेतीयोग्य जमिन र बस्ती नै जोखिममा परेको भन्दै ४८ जना स्थानीयले वडा कार्यालयमा लिखित उजुरी दिएका छन्।

त्यस्तैगरी झडपमा घाइते भएका युवाले कुटपिट गर्नेमाथि पनि कारबाही गर्न इप्रका सिमरामा छुट्टै निवेदन दिएका छन्। मंगलबार वडा नं १५ कार्यालयमा  दिएको उजुरी हिजाे बुधबार मात्रै दर्ता भएको वडा कार्यालयले जनाएको छ।

वडा नं १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने खोलाजन्य पदार्थ चोरीमा वडा नं १६ कर्तावाका स्थानीय र सोही गाउँका ट्याक्टर प्रयोग भएका बताए । वडाध्यक्ष लामिछानेले भने ‘बालुवा प्रशोधन उद्योग बन्द गर्ने  कि सञ्चालन गर्न दिने भन्ने विषय स्थानीयसँग सल्लाह गरेर मात्रै निर्णय लिन्छौ।’

बाराको नदीजन्य उत्खनन हुने दुधौरा,बालंगगा पसाहा, लालबकैया,धन्सार खोला छेउमा मापदण्डविपरीत सञ्चालनमा रहेका दर्जनौं कस्रर र बालुवा प्रशोधन उद्योगले वर्षभरि खोलाबाट अवैध रुपमा बालुवा निकाल्ने र सर्वसाधारणलाई चर्को मूल्यमा बेच्ने गरेका स्थानीयले बताउँदै आएका छन्। 

अवैध रुपमा खोलामा हुने उत्खनन्को रोक्न नगरपालिका, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालयलाई पटक पटक जानकारी गराउँदा केही  कारबाही नभएको वडाध्यक्ष लामिछाने बताउँछन्।  

चोरीमा स्थानीय तह र प्रशासनकै मिलेमतो ! 

रातभर नदीजन्य सामग्री चोरी हुँदाँ स्थानीय तह र प्रहरी प्रशासन मौन बस्नुले मिलेमतो रहेको आरोप स्थानीले लगाएका छन् । ‘हामीले घटना हुनासाथ राति ४ बजे प्रहरीलाई फोन गरेको २ घन्टापछि मात्रै प्रहरी आयो, पटक पटक जानकारी गराउँदा वडाध्यक्ष बिहान ९ बजेसम्म पनि आएनन्’, स्थानीय हरि खतिवडाले भने, ‘नगरपालिका र स्थानीय प्रशासनको मिलेमतोबिना बन्द खोलामा रातभर चोरी कसरी हुन्छ ? हामी अचम्म परेमा छौं।’

तर, वडाध्यक्ष लामिछानेले भने बन्द खोलामा माल चोरी भएको विषय आफूले प्रहरीलाई पटक पटक जानकारी गराए पनि कारबाही नभएको दाबी गरेका छन्। ‘रातमा हामी खोलामा जान सक्दैनौं, मैले पुलिसलाई पटक पटक भनेको पनि छु, उहाँहरु पनि जानुहुन्न भने हामीले के गर्न सक्छौं’, उनले लाचार हुँदै भने।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी दीपक श्रेष्ठले प्रहरीले रातभर खोला रुँगेर बस्न नसक्ने टिप्पणी गरे। भने, ‘कोरोनाका कारण काम धेरै छ कतैबाट सूचना आयो भने जाने हो, तैपनि हामी पुग्दासम्म संग्लन सबै भागिसक्ने रहेछन्’, डिएसपी श्रेष्ठले भने। ​

क्रसर र बालुवा प्रशोधन उद्योगमा चोरीको बालुवाको थुप्राे 

जितपुरसिमराले राजस्व रकम नबुझाएको भन्दै उत्खनन ठेक्का पाएको व्यवसायीको माल किनबेच रोकेको छ। तर खोला छेउमा सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योगमा बालुवाको थुप्रो दैनिक बढ्दै गएको भेटिन्छ।

खोला बन्द छ,ठेकेदारको माल प्रहरीले सिल गरेको छ, बेचबिखन रोकिएको छ। तर बालुवा उद्योगमा माल दैनिक घट्नुपर्नेमा बढ्दै जानु अनुसन्धानको विषय बनेको छ। सामान्य नागरिकले पनि अनुमान लगाउन सक्ने विषय हो खोलाको बालुवा उठाएर खोलामै सञ्चालनमा रहेको बालुवा उद्योगमा थुपारिएको छ।

वडा नं १५ का ७७ वर्षीय स्थानीय टंकप्रसाद पराजुलीले रातभर खोलाबाट उठाएको माल बालुवा प्रशोधन केन्द्रमा थुपारिने र दिनभर टिपरले ओसार्ने गरेको बताए। ‘खोलामा सयौंको संख्यामा मजदुर लगाएर चोरीको माल उठाएर रातभर वासप्लाटमा थुपार्ने र दिनभर बेचबिखन हुने गरेको छ’, स्थानीय वृद्ध पराजुलीले भने। ​

निजगढ बकैया खोलामा पनि उस्तै चोरी 

निजगढ नगरपालिका अन्तर्गतकाे बकैया खोलामा पनि रातभर नदीजन्य पदार्थ चोरी भएको भन्दै डिभिजन वन कार्यालयका कर्मचारीले २ ओटा ट्कयाक्टर नियन्त्रणमा लिएका छन्।

वन कर्मचारीले ना६त ३४४ र ना ३ त ५४७५ नम्बरकाे ट्याकटर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला समन्वय समितिलाई लेखी पठाएको छ। ‘बकैया खोलाबाट रातभर ओसारेर थुपारेर राख्ने र भोलिपल्ट कस्ररको माल भनेर बिल काट्ने गर्दछन्’, वन कर्मचारी मंगल साहले भने, ‘ढुंगा गिटी बालुवा प्रत्येक दिन रातभर चोरी हुन्छ, हामी पुग्दा ट्याक्टरहरु भागिसक्छन्’, बकैया खोला क्षेत्रबाट नियन्त्रणमा लिएको दुई वटा ट्याक्टरलाई डिभिजन वन कार्यालय बाराले सोमबार (साउन २६ गते)  कारबाहीका लागि लेखिपठाएको छ। ‘मैले कारबाहीका लागि जिल्ला समन्वय समितिलाई लेखेर पठाइसकें’,अधिकृत मञ्जुर अहमदले भने। 

कारवाही गर्ने कानुन छैन :  समन्वय समिति सभापति

जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिहंले कानुनी रुपमा बन्द भएको खोलामा नदीजन्य पदार्थ चोरी गर्नेलाई कारबाही गर्ने स्पष्ट कानुन नहुँदा समस्या भएको बताए। ‘समातिएका सवारी साधनलाई  के कारबाही गर्ने, जरिवाना कति गर्ने हामीसँग नयाँ कानुन छैन। केन्द्र, प्रदेश र स्थानीय तहले स्पष्ट कानुन बनाएका छैनन्,’ सभापति सिहंले भने, ‘अब हामीले समन्वय समितिको बैठकबाट के कारबाही गर्ने निर्णय गछौं।’

सभापति सिंहले तत्कालका लागि  पुरानो कानुनलाई आधार मानेर कारबाही गर्न सकिने बताए। पुरानो कानुनलाई आधार मान्दा प्रतिट्याकटर १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.