औषधि खरिदको छानविन गर्दैछु, दोषीलाई कारवाही हुन्छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो केही महिनादेखि नेकपामा बढिरहेको कलंक अबको पाँच दिनमै समाधान हुने बताएका छन्। एपिवान टेलिभिजनको ब्राभो डेल्टा शो कार्यक्रममा भुषण दाहालसँग संवाद गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

'भोलिबाटै एक, दुई भन्दै काउन्टडाउन सुरु गर्नुस्, ५ दिनभित्र के हुन्छ नेकपाभित्रको सिनारियो', उनले भने, 'पाँच दिनमा फेरि मसँग बस्‍न आउनुस्, त्यसपछि अहिले भनिएका कुराको फेरि उत्तर दिउँला।'

ओलीले आफु पार्टी फुटको पक्षमा कहिल्यै नरहेको पनि तर्क गरेका छन्। 'म पार्टी फुट्न दिने पक्षमा छैन, मिलाउने लाइनमै छु। केही नेताहरुले पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौ भनेछन्। तर म भन्छु पार्टी फुट्दैन र पार्टी कसैले फुटाउन सक्दैन', ओलीले अगाडि भने, 'हिजो नेकपा एमाले हुँदा बहुमतले निर्वाचित अध्यक्ष हो। माओवादी र एमाले मिलेपछि महाधिवेशनसम्मलाई दुई अध्यक्षको प्रबन्ध गरिएको हो। हिजो प्रचण्डजीसँग आधा आधा कार्यकालको सहमति थियो। तर पछि थप सहमति भए सरकार पाँच वर्ष मैले नै चलाइरहेको छु। मेरो तर्फबाट कुनै प्रस्ताव भएको थिएन, प्रचण्डजीले नै नयाँ प्रस्ताव गर्नु भएको हो। पाँच वर्ष नै यो सरकार रहन जरूरी छ।'

ओलीले देश नै संकटमा परेका बेला नेकपाभित्र अनावश्यक, अनुचित, असामयिक र असान्दर्भिक विवाद झिकिएको बताए। 'यस्ता कुराले जनता निरुत्साहित छन्। जनता खुसी छैनन। यस्ता कुराप्रति जनताको विरोध छ। जनताको असन्तुष्टिलाई व्यवहारबाट नै हटाउन सकिन्छ। जनताको सेवाबाट नै यसलाई हटाउन सकिन्छ।', उनले भने, 'अहिले वास्तविक समस्या केही छैन, बनाइएको छ, बनाइँदैछ। समस्या छन् भने समाधान गरिन्छ नि त!'

ओलीले पटक पटक आफू पार्टी फुटाउने पक्षमा नरहेको बताए। अरुको पनि पार्टी फुटाउने आफ्नो पनि पार्टी फुटाउने कामको नेतृत्व गरे भन्‍ने आरोप छ नि भन्‍ने प्रश्‍नमा उनले भने, 'म पार्टी अध्यक्ष र संसदीय दलको नेता भएपछि पार्टी कति र कहाँनिर असफल भयो? यसको जवाफ दिनुपर्दैन?', ओलीले भने, 'सरकार विचौलियाले चलाए भन्‍नेहरुलाई समस्या भएको छ। यो राजनीतिमा आफू चलेको छु नभनी अरुले चलाएको छ भन्‍ने को को छन्? अरूद्वारा सञ्‍चालित हुने गर्दिनँ म। यस्ता निराधार र आफ्नै निम्ति अशोभनीय कुरा म गर्दिनँ।'

उनले आफूले पार्टीमा कुनै गुट नचलाएको बताए। 'पार्टीको अध्यक्षले कसरी गुट चलाउँछ? कसरी गुटमा रमाउँछ? माओवादीलाई पनि एकता गरेर ल्याउने, दुवै पार्टीलाई मिलाउने मान्छेले सानो गुट चलाएर बस्छ?', ओलीले भने, 'चुनावी अभियानमा पार्टी नै एउटा गुट लिएर हिँडेको हुँ। मेची-महाकाली अभियानमा सिंगै पार्टीलाई लामवद्ध गरेको थिएँ। मलाई गुट चलाउने कुनै शोख छैन।'

उनले आफूले पार्टी सरकार दुवै चलाउन सक्ने बताए। 'गाली त मैले अघिल्लो पटक पनि सुनेको हो। यो गाली नौ महिने अल्पमतको सरकारका बेला पनि सुनेको हो। जो पछि असाधारण ढंगले प्रशंसित भयो', उनले भने, 'मेरो नेतृत्वको अघिल्लो सरकार पनि ढाल्नै पर्छ भनेर ढालियो। राम्रो कामलाई पनि प्रशंसा गर्न नसक्ने हाम्रो स्वभाव छ। एक दुई दर्जन मान्छेको विरोध हो यो अहिलेको। दुईतिहाइ बहुमतको सरकारलाई ड्यामेज नगराए आफ्नो पालो नै आउँदैन भन्‍ने भएको छ।'

छानविन हुन्छ

उनले कोरोना नियन्त्रणका लागि भएका औषधि उपकरण खरिदमा भ्रष्टचार भएको भए कारवाही हुने पनि बताए। 'औषधि उपकरण खरिदमा भएको भ्रष्टाचारबारे हामी छानविन गरिरहेका छौं। एक रुपैयाँ पनि अनियमितता भएको भए क्षम्य हुँदैन, कारवाही हुँदैन', उनले भने, 'अहिले भने जस्तो पाइयो भने कारवाही हुन्छ। अखबारमा आएका कुरालाई राम्ररी पढेको छु। यदि सत्यता पाइयो भने कोही नेताका परिवारका सदस्य संलग्‍न पाइयो भने कारवाही हुन्छ।'

उनले नेताकै परिवारका सदस्य प्रतिस्पर्धाबाट आएका समस्या नहुने बताए। 'प्रतिस्पर्धा गरेर आएका छन् भने फरक कुरा हो। तर गलत गरेको छ भने कारवाही हुन्छ। म आफैँ आन्तरिक छानविन गर्छु। यहाँ त जसलाई पनि डामिएको हुन्छ पोलिएको हुन्छ तर छानविन हुन्छ', उनले भने, 'कोही दोषी हुन्छ भने छानविन हुन्छ। मेरै परिवारको सदस्यले गरे भने मेरै छोराले छोरीले भ्रष्टाचार गर्‍यो भनेर लेख्न बेर छैन। तर सबैले होइन केही पत्रिकाले लेखेका छन्, आज लेखेर पर्सि खण्डन गर्छन्। किन भने मेरा कुनै छोरा छोरी छैनन्।'

उनले यो पटक चाडपर्व नमनाउन आग्रह गरे। उनले चाडपर्व र जात्राको नाममा मान्छे सखाप भए राम्रो नहुने बताए। 'आन्तरिक समस्याहरु म डोकाले छोप्‍न चाहन्‍नँ, समस्याहरु छन्। आन्तरिक केही कुरा छन् भने तिनलाई संकटसँग जुधेपछि समाधान गरौंला, देशका समस्या छाडेर अन्त लाग्‍नु हुँदैन', उनले भने, 'स्वय‌ंसेवीकारुपमा पनि जनतामा सचेतना जगाउन आह्‍वान गरेको छु। सबै मिलेर कोरोनाविरुद्ध लडौँ अहिले, हाम्रा आन्तरिक तथा पार्टीका समस्या यो संकट टरेपछि मिलाउँला।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.