|

भद्रपुर, (झापा) : सीमा शील भएको मौका छोपी तस्करहरूले भारतबाट प्रतिबन्धित निलो बट्टाको रेडबुल ​धमाधम भित्र्याइरहेका छन्‌।

नेपाली बजारका होटेल तथा पसलमा छ्याप्छ्याप्ती बेचबिखन हुँदै आइरहेको छ। सशस्त्र प्रहरीले बुधबार नेपालतर्फ तस्करी हुँदै गरेको यही गुणस्तरको रेडबुल ठूलो परिमाणमा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा खटिएका सादा पोसाकको सशस्त्र प्रहरी टोलीले बिर्तामोड बसपार्कबाट दुई वटा मारुती भ्यानसहित ११३ कार्टुन रेडबुल बरामद गरेको हो। तस्करी नियन्त्रण तथा रोकथाममा जिल्लाका प्रहरीले खासै चासो नदेखाएपछि तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी जुटेको हो।

इलामको पशुपतिनगर र छब्बीसे नाकाबाट तस्करीको माध्यमबाट मे १ ज ३१४७ र मे १ ज २४१५ नम्बरको मारुती भ्यानमा लोड गरी ल्याइएका रेडबुलका कार्टुन बरामद गरेको हो। इलाम गेटबाट सशस्त्र प्रहरीले दुई वटा भ्यानलाई पछ्याएर बिर्तामोड बर्सपार्क नजिकै बुधवार बिहान साढे ३ बजे भ्यानसहित रेडबुल नियन्त्रणमा लिएको हो। 

दुईवटा मारुती भ्यानसहित बरामद गरिएको रेडबुलको कार्टुनहरू सादा पोसाकको सशस्त्रले सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पलाई जिम्मा लगाएर फर्किएको छ। नियन्त्रणमा लिइएको भ्यानमा ११३ कार्टुन रेडबुल रहेको र एउटा कार्टुनभित्र २४ पीस रहेको पाइएको सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पका डिएसपी वीरेन्द्र खनालले जानकारी दिए।

‘पशुपतिनगर नाकाबाट रेडबुल ल्याएको हो, यो नेपालमा प्रतिबन्धित छ,’ उनले भने।’ नियन्त्रणमा लिएका दुई वटा भ्यानका चालक पशुपतिनगरका २८ वर्षीय सञ्जय गुरुङ र सोही स्थानका २२ वर्षीय अनुपम थानी सम्पर्क आइसकेको उनले बताए।

भ्यानसहित रेडबुलको कार्टुनलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ। ४ लाख ७७ हजार रुपैयाँमा रेडबुल र दुई वटा भ्यानको ५/५ लाख गरी १० लाखसहित जम्मा १४ लाख ७७ हजार भन्सार बुझाएको डिएसपी खनालले बताए। 

यता, बरामद गरिएको निलो बट्टाको रेडबुल नेपाली खुद्रा बजार मूल्य २ सय ५० देखि ३ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ। पसलले खरिद गर्दा एक कार्टुनको ४ हजार ६ सय ६० रुपैयाँ लाग्ने गरेको व्यापारी बताउँछन्।

बजार मूल्य अनुसार ११३ कार्टुनलाई भन्सार बुझाउँदा रेडबुलको मूल्य ५ लाख रुपैयाँभन्दा बढी हुन्छ। पछिल्लो समयमा भारतमा बन्ने डेनमार्क कम्पनी लेखिएको रेडबुल पनि झापामा स्थानीय प्रहरीकै सेटिङमा तस्करी हुँदा बजारमा खुलेआम पाइने गरेको छ।

निलो रेडबुलको माग बढेपछि तस्करी पनि बढेको हो। यसलाई नियन्त्रण गर्न सम्बन्धित निकायले समेत चासो देखाएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.