|

सोलुखुम्बु : मलेसियाको एक कम्पनीमा कार्यरत ११ जना नेपाली पाँच महिनादेखि अलपत्र परेका छन्। अल्फा कम्पनीमा कार्यरत सबैको ५ महिना अघि नै भिसा अवधि सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यँहा कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिएका छन्‌।

नेपालमा गरिएको लकडाउन तथा अन्तराष्ट्रिय उडान बन्द हुँदा उनीहरू स्वदेश फर्कन पनि सकेका छैनन्‌। पाँच महिनादेखि काम बिना नै कोठामा बसिरहँदा खर्च अभाव भएको उनीहरूले बताएका छन्‌।

​'पाँच महिनादेखि काम गर्न पनि पाएको छैन,' श्रेष्ठले भने, 'नेपाल फर्कनका लागि मलेसियास्थित नेपाली दूतावासमा पटक-पटक अनलाइन फर्म पनि भर्‍यौं, तर नियमित उडान नहुँदा महङ्गो पर्ने भन्दै कम्पनीले पठाउन नै मान्दैन।'

नियमित उडानको लागि भनेर कम्पनीले टिकट समेत खरिद गरिसकेको उनको भनाई छ। तर चार्टड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै अलपत्र परेका नेपालीहरूले सहयोगका लागि अनुरोध गरेका छन्‌। 

मलेसियाबाट नेपाल आउन लागि नियमित उडानमा ६०० देखी ७०० रिङ्गेट लाग्ने, तर चार्टड उडानमा भने १५९० रिङ्गेट तोकिएको छ। कम्पनीबाट आफूहरु विमानस्थलसम्म पुग्नकै लागि ६ घण्टा हिँड्नुपर्ने र यसका लागि ७० रिङ्गेट लाग्ने तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको निरकुमार तामाङले बताए। कम्पनीले खर्च नब्यहोर्दा नेपाल आउनको लागि उनीहरुले ५६ हजार ७९ रुपैयाँ तिर्नुपर्ने हुन्छ।   

खाना र बस्नको लागि व्यवस्था गरेपनि कम्पनीले दिएको खाद्यान्नले पेटभर खानसमेत नपुग्ने गरेको विकास विश्वकर्माले बताए। ९ जनालाई एक साताका लागि २० केजी चामल दिने गरेपनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाई छ। त्यो समेत नेपाली दूतावासलाई भनेपछि एक महिना यतामात्रै व्यवस्था गरेको अलपत्र परेका नेपालीहरुले बताएका छन्‌।

​खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने गरेको घनश्याम श्रेष्ठले बताए। अहिले त्यस क्षेत्रमा पनि कोरोना फैलन थालेकाले जोखिम बढेको भन्दै उद्दारका लागि अनुरोध गर्नुको विकल्प नभएको उनीहरूले बताएका छन्‌। उनीहरूलाई अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था निम्तिएको छ।

अलपत्र परेका नेपालीहरुमा झापाका निरकुमार तामाङ, धरानका विकास बि.क र राजु वि.क, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अमर आचार्य र अमृत गुरुङ, गोर्खाका भीम बहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम श्रेष्ठ रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.