|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेवि संघ)ले त्रिभुवन विश्व विद्यालयमा तोडफोडमा उत्रिएको आरोपमा पक्राउ परेका विद्यार्थीहरुलाई तत्कालै छोड्न माग गरेको छ।

आज नेवि संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई तत्कालै छोड्न माग गरेका हुन्। उनले विद्यार्थीहरुलाई तत्कालै रिहा गर्न र मुद्दा फिर्ता गर्न पनि भनेका छन्। 

‘गत साउन २७ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगले तोडफोड गराई उक्त घटना नेविसंघले गराएको भनि दुष्प्रचार गरी विद्यार्थी नेताहरु सम्झना खत्री, श्याम राज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत ८ जनालाई गिरफ्तार गरिएकोमा उहाँहरुलाई रिहा गर्नुको सट्टा सत्ताको आडमा झुठा मुद्दा लगाई फसाउन गरिएको षडयन्त्रको हामी घोर भत्र्सना गर्दछौँ’ विज्ञप्तीमा भनिएको छ।’ 

नेविसंघले अहिलेका उपकुलपति आएपछि त्रिभुवन विश्वविद्यालय प्राज्ञिक थलो नभई नेकपाको भर्ती केन्द्र भएको आरोप पनि लगाएको छ।  नेविसंघले उपकुलपतिलाई पतन गर्न इँटाको जवाफ पत्थरले दिन राम्रोसँग आउने पनि भनेको छ।  

त्यस्तै साउन २६ गते पर्साको वीरगन्जमा गिरफ्तारीमा परेको विद्यार्थी नेतालाई सोही दिन राती छोडेको र २८ गते पुन मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेविसंघले विरोध जनाएको छ।

‘गत श्रावण २६ गते पर्सा जिल्लाको वीरगन्जमा सबै स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदान गरियोस, कोरोना संक्रमितको उपचारमा लापरबाही नगरियोस् र कोरोनाका कारण मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति दिइयोस् भनी शान्तिपूर्ण प्रदर्शन गर्दा गिरफ्तार गरी सोही दिन राती साँढे ११ बजे मात्र रिहा गरिएका विद्यार्थी नेता विकास तिवारीलाई पुन अस्ति २८ गते पक्राउ गरी झुठा मुद्दा लगाई फसाउन खोजिएको घटनाको घोर भत्र्सना गर्दछौँ’ नेविसंघले विज्ञप्तीमा भनेको छ। नेविसंघले दुवै ठाउँमा पक्राउ परेका विद्यार्थीहरुलाई तुरुन्तै रिहा गर्न सरकारसँग माग गरेको छ।  

नेवि संघका महामन्त्री दिपक भट्टराइले नेकपाको कार्यकर्ता बनाउँदा विश्वविद्यालयमा अराजकता निम्तिएको आरोप लगाए। ‘नेकपाको कार्यकर्तालाई उपकुलपति बनाउँदा अराजकता निम्तिने निश्चित नै थियो,’ उनले भने, ‘तर, यो विश्व संकटको समयमा आफ्ना जायज माग राखी शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीहरुलाई गिरफ्तार गरी झुठा मुद्दा लगाउने उपकुलपतिलाई हामी छोड्ने वाला छैनौँ।’ त्यस्तै उनले भइपरी आउने क्षतिको परिणाम उपकुलपतिले बेहोर्नुपर्ने पनि बताए। विद्यार्थीहरुलाई केही प्रहरी अधिकारीहरुले नियतवश दुख दिइरहेको र त्यसको हिसाब नेविसंघले राखेको उनको भनाई छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.