पुरिएकाहरुको खोजी गर्नै समस्या

|

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीस्थित लामा गाउँमा पहिरोले पुरिँदा ३६ जना बेपत्ता छन्।  त्यही पहिरोले बगाएर पनि बाँच्‍न सफल भएका एकजना भाग्यमानी हुन् पासाङ दोङ।

बिहान गाउँमाथिबाट झर्दै गरेको पहिरो देख्‍नेबित्तिकै उनी भाग्‍न तयार थिए। तर आमालाईसमेत पहिरोबाट जोगाउन खोज्दा खोज्दै छोप्यो। उनी आमालाई भागौँ भागौँ भनिरहेका थिए तर उनलाई पहिरोले छोपिहाल्यो।

तर ३६ जना हराइरहेको पहिरोमा परेका उनी भाग्यले बाँचे। अहिले उनको उपचार सिन्धुपाल्चोक जिल्ला अस्पतालमा भइरहेको छ। बिहान ६ बजे झरेको पहिरोबाट उद्धार गरेर चौतारा पुर्‍याइएका घाइते पासाङ दोङले पहिरोले आफ्ना परिवारकासहित धेरैजना हताहत भएको जानकारी दिए।

'बिहानको समय पहिरो आउँदै गर्दा आमालाई भागौँ भागौँ भनिरहेको थिए। ढोकामा आइपुग्दा मलाई पहिरोले बगायो', उनले भने, 'मेरै परिवारका धेरै व्यक्ति पहिरोले पुरिएका छन्। म भने भाग्यले बाँचे।' 

उनले पहिरोले गर्दा सिंगो गाउँको निशान मेटिएको उल्लेख गरेका छन्। चौताराबाट थाहाखबरलाई भने, 'म हेलिकोप्टरबाट यहाँ आइपुगेको छु। माथि ५० घरहरु पहिरोमा परेका छन्। हेर्दाहेर्दै माथिबाट पहिरोले गाउँ नै बगायो।'

पहिरो आएको देख्दा देख्दा पनि भाग्‍ने ठाउँ नभएको उनले बताए। उनी र आमा त भाग्यले बाँच्‍न सफल भए तर उनीहरुको घरसहित गाउँ नै पहिरोमा हरायो। उनले हेर्दा हेर्दै एक घर दुई घर हुँदै सिंगो गाउँ पुरियो। एउटै परिवारका ५ जनासम्म पहरोमा पुरिएका हुन सक्ने दोङले बताए।

सभामुख पुगे

बिहान ६ बजे पहिरो झरेको थाहा पाएपछि​ सभामुख अग्‍निप्रसाद सापकोटा हेलिकोप्टरबाट घटनास्थल पुगेका छन्। उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा ३६ जना बेपत्ता छन्। अहिलेसम्म कसैलाई पनि निकाल्न सकिएको छैन। दुर्गम ठाउँ भएकाले उद्धारकर्मी पनि ढिलो गरी पुगेका थिए। 

पहिरोमा परेका घाइते पाँच जनाको उद्धार गरेर थप उपचारका लागि सदरमुकाम चौतारा पठाइएको छ। त्यहाँ अझै पनि पहिरो जाने क्रम रोकिएको छैन। ठूलो पहिरो झरेको केही घण्टापछि अर्को ठूलो सुख्खा पहिरो झरेको थियो।

पहिरो झरिरहेकाले उद्धारमा समास्या भएको प्रहरीले जनाएको छ। अझै पनि कति घर पुरिए, कति क्षति भयो भन्‍ने एकिन गर्न कठिनाइ भएको न्यौपानेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.