|

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीस्थित लामा गाउँका ९ वर्षीय रुपबहादुर दोङ शुक्रबार बिहान ओछयानबाट उठेर बाहिर निस्किएका थिए। गाउँको बसाई, घर बाहिर निस्केर उनी यताउता गरिरहेका थिए।

नौ वर्षीय बालक रुपबहादुरको कानमा एकैचोटी ठूलो आवाज ठोकियो। ठूलो आवाजले कान चनाखा भएपछि उनले यताउता मुन्टो घुमाउन नपाउँदै माथिबाट खसेको पहिरोले छोपिहाल्यो।

हेर्दाहेर्दै उनलाई पनि पहिरोले बगाइगयो। पहिरोमा परेका उनले न त गुहार लगाउन भ्याए न त अरुलाई बचाउन दौडिनै पाए। उनलाई स्थानीयबासीले पहिरोबाट निकालेपछि ज्यान जोगाउन सफल भए। 

उनी अहिले जिल्ला अस्पताल सिन्धुपाल्चोकको बेडमा छन्। उनी त बाँचे तर उनकी आमा र दिदीलाई पहिरोले पुरेको छ। उनीहरुको अहिलेसम्म अत्तोपत्तो छैन। उनका आमा र दिदीसहित पहिरोले पुरिँदा ३८ जना बेपत्ता छन्। 

त्यही पहिरोले बगाएर पनि बाँच्‍न सफल भएका भाग्यमानी हुन् रुपबहादुर। उनीसहित बिहान गाउँमाथिबाट झर्दै गरेको पहिरो देख्‍नेबित्तिकै उनी भाग्‍न तयार थिए। तर पहिरोले आमा र दिदीलाई पुर्यो, उनी पनि पुरिए। अहिले ३८ जना हराइरहेका छन्। 

बिहान ६ बजे झरेको पहिरोबाट उद्धार गरेर चौतारा पुर्‍याइएका अर्का घाइते पासाङ दोङले पहिरोले आफ्ना परिवारकासहित धेरैजना हताहत भएको जानकारी दिए। 

पहिरो आएको देख्दा देख्दा पनि भाग्‍ने ठाउँ नभएको उनले बताए। उनले हेर्दा हेर्दै एउटै परिवारका ५ जनासम्म पहरोमा पुरिएका बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.