|

बाँके : कर्मचारीमा कोरोना संक्रमण भएपछि दुई सातादेखि बन्द बाँकेका सरकारी कार्यालय आइतबारबाट खुल्ने भएका छन्। कोरोना संक्रमित कर्मचारी निको भएपछि कार्यालय खुल्ने भएका हुन्। 

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई साताअघि बन्द भएको यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयले आफ्नो नियमित सेवा आइतबारदेखि सुचारु गर्ने भएका छन्।

आइतबारबाट कार्यालय खुले पनि सबै सेवा भने सुरु नहुने यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत पूर्ण खत्रीले बताए। 

अर्को सूचना जारी नहुँदासम्म सवारी साधनको नामसारीको काम नहुने उनले बताए। उनले सवारी नवीकरण गर्न बार छुट्याइएको बताए। आइतबारदेखि बुधबारसम्म मोटरसाइकल, स्कुटर र बिहीबार तथा शुक्रबार बस, ट्रक, कार, जिप लगायतका ठूला सवारी साधन नवीकरण गर्ने गरी तयारी भएको उनले बताए। 

यातायात व्यवस्था कार्यालयका एक जना महिला कम्प्युटर अपरेटरमा कोरोना संक्रमण भएको थियो। उनी निको भइसकेकी छन्।

आन्तरिक राजस्व कार्यालयले पनि आइतबारबाट कार्यालय सुचारु गर्ने भएको छ। उक्त कार्यालयले आधा कर्मचारी परिचालन गरि सेवा सुचारु गर्ने तयारी गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले बताए। 

कोरोना निको भएका साथीहरु अझै सात दिन होम आइसोलेसनमै बस्ने बताउँदै उनले बाँकी रहेका कर्मचारीबाट कार्यालयको सेवा सुरु हुने बताए।

आन्तरिक राजस्वका अधिकृतसहितका ७ जना कर्मचारी र परिवारका सदस्य गरि १२ जनामा कोरोना संक्रमण भएको थियो। संक्रमित सबै बिहीबार डिस्चार्ज भएका छन्।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले पनि आइतबारबाट सेवा सुचारु गर्ने जनाएको छ। जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको कार्यालय आइतबारबाट खुल्ने र सेवा सुचारु हुने नगर प्रमुख डा. धवल शमशेर राणाले बताए।

स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी उपमहानगरबाट प्रदान गरिने नियमित कामकाज सुरु गर्न लागिएको उनले बताए। 

उपमहानगरका २३ वटै वडा कार्यालय पनि आइतबारबाट सुचारु हुने राणाले बताए। उपमहानगरका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय सिल गरिएको थियो।

कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको राणाले बताए। साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नाप्ने जस्ता कार्य गरेपछि मात्र सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न दिइने उनले बताए। उप–महानगरपालिकाले मास्क प्रयोग नगर्ने सेवाग्राहीलाई कार्यालय प्रवेश गर्न नदिइने समेत जनाएको छ। 
अन्य सरकारी कार्यालय पनि खुल्ने

पुनः लकडाउनसँगै नेपालगन्जको मुख्य क्षेत्र सिल गरिएपछि बन्द भएका बाँकेका अन्य सरकारी कार्यालय पनि आइतबारबाट खुल्ने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बन्द रहेका सरकारी कार्यालय आइतबारबाट खोल्ने र बन्द भएको सेवा सुचारु गर्ने निर्णय गरेको छ। 

बाँकेमा कोरोना संक्रमण क्रमशः न्यूनीकरणतर्फ गएकोले बन्द गरिएका सरकारी कार्यालय आइतबारबाट खोल्ने निर्णय भएको केन्द्रका संयोजकसमेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ बताए। 

चार सय जनाको स्वाब परीक्षण गर्दा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएपछि बाँके प्रशासन लकडाउन खोल्ने र बन्द रहेका सरकारी कार्यालय खोल्न हौसिएको छ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.