|

डडेल्धुरा : सुदूरपश्चिममा शुक्रबार १० जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, स्टार अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा यहाँका १० जनामा संक्रमण पुष्टि भएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कैलालीका तीन र बाजुराका एक गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार स्टार अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका थप एक जनामा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरी एक हजार ३० जनाको कोरोना परीक्षण गरिएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८ सय ८९ र डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ४१ जनाको परीक्षण गर्दा पाँच जनामा मात्रै संक्रमण पुष्टि भएको छ।

धनगढीको प्रयोगशालामा एक महिला र  तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार उनीहरु सबैजना अछामका हुन्।

अछामको साँफेबगर नगरपालिका ७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साँफेबगर नगरपालिका ५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा बझाङको बित्थडचिर गाउँपालिका ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ९७९ पुगेको छ। 

सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुराका तीन सय १२, बैतडीका तीन सय एक, बझाङका दुई सय ९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार १५१ जना डिस्चार्ज भएका छन्। यहाँ संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.