झन्झटिला प्रक्रिया हटाऊँ, हाम्रा गन्तव्य महँगा छैनन्

|

काठमाडौं: नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्‍ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीले बताएका छन्। 

कोभिड-१९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ। त्यसैले लकडाउनपछि पर्यटन क्षेत्रलाई खोलिएको अवस्थामा नेपाल घुम्‍न सुरक्षित गन्तव्य हो भन्‍ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्‍याउनुपर्ने जोशीले बताए। 

न्यूज एजेन्सी नेपालका सम्वाददातासँग कुराकानी गर्दै बोर्डका पूर्व कार्यकारी अधिकृत (सिइओ) जोशीले नेपाल भित्रका पर्यटन क्षेत्र घुम्‍न सुरक्षित छन् भन्‍ने सन्देश सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले दिनुपर्ने बताएका हुन्। 

कोभिडको असरपछि पनि नेपालको पर्यटन महंगो छैन भन्‍ने सन्देश प्रवाह गर्नुपर्नेमा जोशीले जोड दिए। ‘कोरोनाको महामारीपछि आफु जाने गन्तव्य कति सुरक्षित छ भनेर पनि हेर्नुपर्छ। त्यसका लागि हाम्रो एयरपोर्ट देखि, गाडीदेखि, होटल देखि, रेस्टुरेन्ट देखि घुम्ने साइटहरुमा आधारभूत कुरा भए पुग्छ, धेरै हाइफाई पनि खोजेको छैन पर्यटकले', उनले भने, 'एउटा सुरक्षा छ भन्‍ने कुरा उसले खोज्छ। दोस्रो के छ भने विभिन्‍न झन्झट थपिएका छन्, अहिले विभिन्‍न मापदण्डले गर्दा म जाने गन्तव्य महँगो भएको छ की भन्‍ने सोचाई हुन्छ। त्यो महँगो छैन है भन्‍ने हिसाबले हामीले बुझाउनुपर्छ।’ 

आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्र चलायमान हुने र यसले नेपाल खुल्ला छ भन्‍ने सन्देश बाह्य बजारमा पुर्‍याउने उनले बताए। त्यसका लागि पर्यटन विभाग, पर्यटन बोर्ड तथा मन्त्रालयबाट अनुमति दिएर आन्तरिक पर्यटनलाई चलायमान बनाउनुपर्नेमा उनले जोड दिए। 

‘हामीकहाँ अहिले २ हजार मिटरभन्दा माथिको अल्टिच्युटमा यो केस अलमोस्ट मिल्छ। जस्तो अन्‍नपूर्ण क्षेत्रमा सेप्टेम्बर अक्टुबरबाट हाई ट्रेकिङ सिजन हो', उनले भने, 'बाहिरको हुँदैन भने नेपालीहरुलाई पनि ग्रिन जोन बनाएर जाने वातावरण बनाउनुपर्छ। त्यसो भयो भने केही न केही चलायमान हुन्छ, यसले आन्तरिक खुल्नेबित्तिकै नेपाल तयार छ है भन्‍ने सन्देश दिन्छ।’

नेपालमा अहिले पनि विदेशबाट आउने मान्छे कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने नीति छ। तर यस्तो प्रावधानले पर्यटकहरु आउन नचाहने भएकाले पर्यटनको विकल्पको रुपमा क्‍वारेन्टाइनलाई नभइए पिसिआरलाई बताउनुपर्ने जोशीले बताए। 

पर्यटकलाई आफ्नै देशमा पिसिआर टेस्ट गर्ने, नेपाल आएपछि पुनः पिसिआर टेस्ट गर्ने र सात दिन भन्दा बढी बस्‍ने पर्यटकलाई घुम्दाघुम्दैको अवस्थामा पनि पिसिआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने जोशीको भनाई छ। 

'हामीकहाँ एउटा नीति के छ भने क्‍वारेन्टाइन बस्नुपर्छ भन्‍ने छ। अब क्‍वारेन्टाइन बस्नुपर्‍यो भने कोही पनि आउँदैन। धेरै देशहरुले श्रीलंका, माल्दिभ्स लगायतका देशहरुले के गरिराखेको छ भने सोर्स कन्ट्रीमा एउटा पिसिआर टेस्ट गर्छ, आइसकेपछि एउटा पिसिआर गर्छ र सात दिन भन्दा बढी बसेको छ भने गन्तव्यको बीचैमा घुम्दाघुम्दै एउटा पिसिआर टेस्ट गरिन्छ', उनले भने, 'त्यसपछि ढुक्क भएर उ घुम्छ। क्‍वारेन्टाइन टुरिजमको विकल्प होइन, परीक्षण मात्रै विकल्प हो भन्‍ने चाहिं सरकारले एउटा मेकानिजम बनाइ दिनुपर्छ।’

बाह्य पर्यटन प्रवद्र्धनका लागि भिषा निःशुल्क बनाउनुपर्नेमा उनले जोड दिए। भिषा शुल्क नलिने र पिसिआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटनको वातावरण बन्‍ने जोशीले बताए। 

‘अर्को कुरा के छ भने अहिले हामीले भिसाको शुल्क लिइराखेका छौं, अथवा कतिपय ठाउँका अरु शुल्कहरू लिइराखेका छौं। ती शुल्क छोडिदिएर बरु टेस्टिङको पैसा चार्ज गरिदिने जस्तै ३० देखि ५० डलरमा टेस्टिङ भइहाल्छ', उनले भने, 'भिषा निःशुल्क गरेका छौं, टेस्टिङ चाहिँ त्यसको सट्टा गर्‍यौं भने हुन्छ। अर्को रिभाइभलका लागि स्पेसलाइज टास्क फोर्स बनाएर काम गरियो भने सरकारको तर्फबाट यति भए पुग्छ।’ 

विश्‍वमा गरिएका धेरैजसो सर्भेले लकडाउन खुल्नेबित्तिकै ३२ प्रतिशत मान्छेहरु घुम्‍न निस्किन्छन् भन्‍ने डाटाहरु देखिएकाले नेपालले त्यही संख्यालाई लक्षित गरी तयारी सुरु गर्नुपर्ने बताए। ‘धेरैजसो सर्भेले लकडाउन कन्ट्रोल हुनेबित्तिकै ३२ प्रतिशत मान्छे घुम्‍न निस्किन्छन् भन्‍ने छ। त्यो ३२ प्रतिशत भनेको करिब करिब डेढ अर्ब मान्छे २०१९ मा घुमेको हो। डेढ अर्ब हुनु भनेको अहिले पनि ४०/५० करोड मान्छेहरु घुम्छन् भनेको हो। त्यही घुम्ने ४०/५० करोडलाई हामी कसरी ल्याउन सक्छौं। भनेर हाम्रो रणनीतिहरु बन्‍नु पर्‍यो,’ उनले भने। 

आन्तरिक पर्यटनका लागि पनि प्रभावकारी रणनीति आवस्यक रहेको उनले बताए। आफूपनि डराउने र अरुलाई पनि तर्साउने काम गर्दा पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएकाले निजी क्षेत्रले सिमित स्रोतबाट अधिकतम काम गर्न सक्नुपर्ने जोशीको भनाई छ। 

‘आन्तरिकलाई पनि हामीले कसरी हिँडाउन सक्छौं भन्‍ने खालका हाम्रा रणनीतिहरु बन्यो भने त्यसले राम्रो काम गर्छ। नभए आफूपनि डराउने अर्कालाई पनि तर्साउने काम गर्‍यो भने हामीले त्यो राम्रो काम गरेको होइन', उनले भने, 'त्यो हिसाबले निजी क्षेत्रका साथीहरुलाई एकदमै आशावादी भएर विकल्पहरु खोजेर सिमित स्रोतलाई प्रभावकारी रुपमा परिचालन गरेर काम गर्न अनुरोध गर्न चाहन्छु।’

नेपालको पर्यटनको इमेज बाहिर अत्यन्तै राम्रो भएको र कोरोनाको असरबाट पुनरउत्थान हुने मुलुकमा नेपाल पनि पर्ने भएकाले अहिले देखि नै तयारी गर्नुपर्ने बताए। नेपाल पर्यटनका लागि तयार छ भन्‍ने सन्देश विश्वभर पुर्‍याउन सक्नुपर्ने जोशीले बताए।

‘नेपालको पर्यटन इमेज, पर्यटन ब्राण्ड एकदमै राम्रो छ। कोरोनाको असर पछि रिभाइभ हुने धेरै कम मुलुकमा नेपाल पर्नेवाला छ। किन भने अघि पनि हामीले भन्यौं आइसोलेसनमा हुने क्रियाकलाप, प्रकृतिमा आधारित क्रियाकलाप, हिलिङ टाइपको गन्तव्य मान्छेहरुले हेरिराखेको भएर स्पीच्युअल गन्तव्य हेरिराखेको भएर यो सबै स्ट्रेन्थ भएको देश नेपाल हो। तर हामीले के गर्नुपर्‍यो भने हाम्रा तयारीलाई अगाडि बढाइ राख्नुपर्‍यो र हामी तयार छौं भन्‍ने सन्देश दिनुपर्यो,’ उनले भने। 

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले छुट्याएको ५० अर्बको पुनरउत्थान कोषको परिचालन तत्काल गर्नुपर्नेमा जोशीले जोड दिए। आवस्यक परेको बेलामा कोषलाई परिचालन गर्न नसके पछि परिचालन गरेर कुनै अर्थ नहुने उनको भनाई छ। त्यसैले कोषलाई तत्काल परिचालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। 

उनले भने ‘५० अर्ब जुन बजेट छुट्याएको छ पुनरुत्थानका लागि भनेर त्यो छिटो भन्दा छिटो कार्यविधि बनाएर परिचालन गर्नुपर्‍यो। यो ६ महिना ८ महिना पछि परिचालन भएर यसले कुनै असर सृजना गर्ने वाला छैन। किनभने व्यवसायलाई, व्यवसायीलाई र कामदारलाई मर्का अहिले परिराखेको छ। त्यसकारण सकिन्छ भने १५/२० दिन भित्रै यो परिचालन हुने स्थिति बनाउनुपर्छ।’

पछिल्लो समय नेपालमा समाजिक, राजनीतिक एजेण्डा भन्दा पनि विकासका एजेन्डाले प्राथमिकता पाएको र लगानीकर्ताले पर्यटनमा लगानी गरेकाले त्यसको संरक्षणका लागि पनि काम गर्नुपर्ने उनले बताए। देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी काम गर्नुपर्नेमा जोशीले जोड दिए। 

‘नेपालमा नेपालीहरुको बुझाई सामाजिक, राजनीतिक एजेन्डाले भन्दापनि विकासका एजेन्डाले प्राथमिकता पाउनुपर्छ त्यतैतिर लाग्नुपर्छ भन्‍ने खालको आम देशकै बुझाई पनि बनिराखेको थियो', उनले भने, 'पछिल्लो अवस्थामा हामीले पर्यटन नेपाललाई समृद्ध बनाउन सक्ने एउटा प्रमुख क्षेत्र हो भनेर पर्यटनमा नभएको मान्छेहरुले पनि टुरिजममा लगानी बढाउँदै गइ राख्नुभएको थियो। त्यो हिसाबले ठूलो लगानी पनि आइराखेको थियो। रोजगारी पनि सृजना गरिराखेको थियो। आर्थिक गतिविधि पनि चलायमान गराइराखेको एउटा महत्वपूर्ण क्षेत्रलाई कोरोनाले निकै ठूलो प्रभाव पारिराखेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.