सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनाको अवधिमा ६ करोड रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ २० देखि साउनसम्म ६ करोड रुपैयाँको ताजा तरकारी निकासी भएको हो।
बन्दाबन्दीका कारण सुरुमा तरकारी बिक्री नहुँदा किसानमा समस्यामा परेपनि अहिले भने तरकारीले उचित मुल्य पाइरहेको कृषि उपज बजार केन्द्र सञ्चालक समितिका सचिव तिलक शर्माले बताए।
विगतका वर्षहरुमा भन्दा यो वर्ष किसानले तरकारीको राम्रो मुल्य पाएका छन्। तर उत्पादन भने कम रहेको उनको भनाई छ। उनले भने, 'लामो समयसम्मको बन्दाबन्दीका कारण किसानले समयमै तरकारी उत्पादन गर्न नसक्दा र लगातारको वर्षातका कारण तरकारीमा रोग लाग्दा उत्पादनमा भने केही कमी आएको छ।'
गत वर्ष कपुरकोटबाट मात्रै २६ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएकोमा यो वर्ष भने १० करोड रुपैयाँ बराबरको मात्र ताजा तरकारी निकासी हुने अनुमान गरिएको शर्माको भनाई छ। कपुरकोटका अन्य २८ सहायक बजारबाट पनि तरकारी निकासी भइरहेको उनले बताए।
बन्दाबन्दीले भारतको तरकारी नआउँदा र तराईमा बाढी पहिरोका कारण यो वर्ष तरकारीले राम्रो बजार पाएको किसान उज्जर सिहं पुनले बताए। कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित रहेको र यो वर्ष कोरोना भाइरसको त्रासका विक्री हुँदैन भनेर धेरै किसानले थोरै तरकारी उत्पादन गरेको उनको भनाई छ।
उनले भने, 'कोरोना भाइरसको डरले तरकारी बिक्री गर्न पाइँदैन भनेर थोरै थोरै लगाए, उत्पादन कम भएपनि बजार मुल्य भने यो वर्ष सन्तोषजनक नै छ।'
कपुरकोटबाट बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र दाङको तुलसीपुर लगायतका बजारमा तरकारी बेच्न लैजाने गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।