|

पर्वत : अन्य जिल्लाहरूमा कोरोना संक्रमित बढ्दै गएका मृत्यु हुने दर पनि बढ्न थालेपछि पर्वतमा प्रहरी नै परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। 

सर्वसाधारणले मास्क प्रयोग नगर्ने तथा सामाजिक दूरी कायम कमै मात्रामा गरिरहेको बेलामा शुक्रबारदेखि बजारका हरेक पसल पसलमा प्रहरी पुगेर कोरोनाको सतर्कताका विषयमा निगरानी गर्दै आइरहेको छ। 

५० जनाभन्दा बढीको संख्यामा बजारमा निस्किएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीमा पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीले नै नेतृत्व गरेका छन्। ‘एसएमएस अर्थात् सोसल डिस्टेन्स, मास्क र सेनिटाइजरको प्रयोगलाई पूर्ण रूपमा कार्यान्वयन गराउन शुक्रबारदेखि प्रहरीले बजारमा उपस्थिति बाक्लो पारेको छ,’ उनले भने, ‘तत्कालै पसल बन्द भने गराएका छैनौँ, तर सतर्कता नअपनाएको भएमा तोकिएको नियमअनुसार जरिवाना र कारबाही गर्ने छौँ।’ 

सतर्कताका लागि घुमेको टोलीमा सहभागी उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले हरेक पसलमा पुगेर पहिलो दिन शुक्रबार सतर्कताका विषयमा अवगत गराइएको र पालना नगरेको पाइएमा पसल तथा आम सर्वसाधारणलाई पनि कारबाही गर्नुको विकल्प नहुने बताए। 

सडकमा घुमिरहेको प्रहरी टोलीले मास्क नलाएका व्यक्तिलाई नियन्त्रणमा लिएर अनिवार्य रूपमा मास्क लगाउन र पसलहरूमा सामाजिक दूरी कायम गराउन डोरी टाँग्ने लगायत काम गर्न भनेको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले संक्रमण जोखिम बढेपछि परिस्थितिलाई गम्भीर रूपमा लिँदै सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेअनुसार नै यो काम भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए। 

छिमेकी भारतमा संक्रमण दर विश्वकै तुलनामा उच्च देखिएको र भारतबाट पर्वतमा आउनेको संख्या हालका दिनमा बढिरहेको अवस्थामा ‘निर्मम ढंगले’ कदम उठाउन आवश्यकता देखिएको उनको भनाइ छ। 

डिसिसिएमीको निर्णय अनुसार जिल्ला प्रवेशमा कडाइ गरिएको छ भने गृह मन्त्रालयको निर्देशन अनुसार पास वितरणसमेत रोकिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.