प्रदेशभर ४४ हजारको पीसीआर परीक्षण

|
कोरोनाबाट मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिकाको शव व्यवस्थापन गर्दै सेना।

डडेल्धुराः सुदूरपश्चिममा हालसम्म १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो साढे दुई महिनाको अवधिमा यहाँका १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

कैलाली र अछामका ४-४ तथा बाजुरा र बझाङका २-२ जना संक्रमितले ज्यान गुमाएका छन्‌। तीन जना संक्रमितले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्। 

प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु जेठ १८ गते भएको थियो। बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। आमाबुबासँग भारतको नयाँ दिल्लीबाट आएकी २ वर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या बढेको थियो। उनकी आमामा समेत संक्रमण देखिएको थियो। 

सुदूरपश्चिममा जेठ २४ गते कोरोना भाइरसले दोस्रो मृत्यु भयो। धनगढी उप-महानगरपालिका ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालस्थित डायलासिस वार्डमा मृत्यु भएको थियो। अन्तिम संस्कार गरेपछि मात्रै उनलाई कोरोना संक्रमण भएको थाहा लागेको थियो।

असार ३ मा कोरोना भाइरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो। कैलालीको लम्कीचुवा नगरपालिका-२ की ४३ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। उनलाई न्यूरोसम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि उनको स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। 

सोही दिन कैलालीका थप एक जनाको कोरोनाका कारण मृत्यु भयो। जिल्लाको गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो। उनमा भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो। 

धनगढीको नवजीवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो। उनी यातायात व्यवसायी थिए। 

असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भयो। क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको थियो। फोक्सोका क्यान्सरको उपचार गराइरहेका उनमा पनि मृत्युअघि नै कोरोना पुष्टि भएको थियो।

असार १६ गते कोरोना भाइरसको संक्रमणबाट अछाममा पहिलो मानवीय हताहती भयो। चार दिन क्वारेन्टाइनमा बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो। बयलपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो। उनी भारतबाट आएका थिए। 

साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो। बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। 

साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो। मृत्यु हुनुभन्दा पहिले नै स्वाब संकलन गरेपनि मृत्युको दुई दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। 

साउन २९ गते अछामका थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भयो। रामारोशन गाउँपालिका ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटुरोगबाट ग्रसित थिए। 

सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या पनि गरेका छन्। बझाङको खप्तड छान्ना गाउँपालिका ७ मा रहेको लामागाडा प्राविमा बनाइएको क्वारेन्टाइनमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका थिए।

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन। जेठ १९ गते भारत वाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यहाँ रहेका २५ जनामध्ये कोरोना चेकजाँच गर्दा पाँच जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पीसीआर गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन्।

सुदूरपश्चिममा क्वारेन्टाइनमै आत्महत्या गरेका थप एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो। बाजुराको बडिमालिका नगरपालिका-२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो।

मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो। बडिमालिका नगरपालिका-२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार क्वारेन्टाइनमा आत्महत्या गरेका थिए। उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए। 

क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका थप एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो। अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ पुगेका थिए।

आफन्तले क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए। उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो। त्यसपछि उनले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो।

प्रदेशभर ४४ हजारको पीसीआर परीक्षण

सुदूरपश्चिममा झन्डै ४४ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ४३ हजार ८ सय २६ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

धनगढी प्रयोगशालामा २२ हजार १५९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामा १६ हजार २३६ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ हजार २४७ जनाको कोरोना परीक्षण भएको हो। 

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ४५ हजार ६७८ जनाको स्वाब संकलन गरिएकोमा एक हजार ८५२ जनाको रिर्पोट आउन बाँकी छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झन्डै साढे ११ प्रतिशत अर्थात् चार हजार ९७९ जनामा कोरोना पुष्टि भएको छ।

सबैभन्दा बढी कैलालीमा एक हजार२८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। डोटीमा ७९५, अछाममा ७३७, बाजुरामा ६२३ र कञ्चनपुरमा ५८० जनामा संक्रमण पुष्टि भएको छ।

डडेल्धुराका ३१२, बैतडीका ३०१, बझाङका २९७ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार १५७ जना डिस्चार्ज भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.