|

दाङ : दाङमा हाल सम्म समुदायमा कोरोना भेटिएको छैन। जिल्लामा बिहीबारसम्म ६९६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ४९ जना आइसोलेसनमा भर्ना भई उपचाररत छन्‌। 

कोरोना पुष्टि भएकाहरुमध्ये अधिकांश छिमेकी देश भारत तथा केहि तेस्रो मुलुकबाट आएका रहेका छन्‌। अहिले छिमेकी जिल्ला बाँके र कपिलबस्तुमा समुदायमै कोरोना देखिएपछि दाङ पनि उच्च जोखिममा रहेको भन्दै स्वास्थ्यकर्मीहरूले सावधान अपनाउन आग्रह गर्दै आएका छन्।

लकडाउन खुलेसँगै जिल्लाका बजारमा मानिसहरूको भीडभाड अत्यधिक हुने र यसले गर्दा भयावह स्थिति आउन सक्ने यहाँका अधिकारकर्मीहरू बताउँछन्। छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना भेटिदाँ दाङमा पनि जान सक्ने भन्दै जिल्लाको अवस्था गम्भिर भएको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए।


सरकारी कार्यालयमा सेवाग्राहीको भीडभाड ।

उनले महामारीका बेला जिल्लाका बजारहरू व्यवस्थित तरिकाले संचालन गर्नुपर्ने भएपनि धेरै मानिसहरू सुरक्षा सामाग्री नै प्रयोग नगरी हिँड्दा कोरोनाको माहामारी हुन सक्ने उनले बताए। ‘अहिले मठमन्दिरहरू समेत बन्द भएका छन्,’ उनले भने, ‘तर बजार तथा सरकारी कार्यालयमा मानिसहरू भिडभाड धेरै हुने, मास्क प्रयोग नगर्ने, सामाजिक दुरी कायम नगरी हिँडेका हुन्छन्। त्यसले गर्दा अब जिल्लामा भयावह स्थिती हुन सक्छ।’ छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना देखिएर भयावह स्थिती भएको अवस्थामा यहाँ स्थानीय सरकार र प्रशासन मुकदर्शक भएर बसेको उनी बताउँछन्‌।

‘यदि पिसीआर विधिबाट समुदायमा परीक्षण गर्ने हो भने थुप्रै मानिसहरूमा कोरोना भेटिन सक्छ,’ उनले भने,‘ त्यसैले अहिलेको भीडभाड नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ।’

जिल्लामा धेरै मानिसहरू बाहिरबाट आएका र तीमध्ये अधिकांश क्वारेन्टाइनमा बसेका छैनन्‌। कोही त अन्यत्रबाट आएर लुकिछिपी बसेको स्थानीयहरू बताउँछन्‌। त्यसैले, नागरिकस्तरमै सचेतता अपनाउने तथा स्थानीय, सरकार प्रशासनले ध्यान दिन आवश्यक देखिएको छ। अन्यथा दाङमा पनि कोरोनाको महामारी फैलनसक्ने पक्कापक्की छ।


टेम्पोभित्र खाँदिएर यात्रा गरिरहेका मानिसहरू ।

मानव अधिकार शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले अहिले छिमेकी जिल्लाहरूमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरकारी कार्यालयका कर्मचारीलगायत अन्यमा कोरोना देखिएकाले अब जिल्लामा सबैले सतर्कता अपनाउनुपर्ने बताए। उनले जिल्लामा कम मात्र नागरिकहरूले सतर्कता अपनाएपनि धेरैले मनलाग्दी गर्दा जिल्लामा भयावह अवस्था आउन सक्ने भएकाले सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु पर्ने बताए।

‘विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयले समेत मास्क प्रयोग गर्ने, सामाजिक दुरी पालन गर्ने र सरसफाईमा ध्यान दिन भनेको छ,’ उनले भने, ’तर जिल्लामा धेरै नागरिकहरूले सजगता अपनाएको पाइएको छैन। कोरोना समुदायस्तरमा छिरेमा यसले जिल्लामा भयावह स्थिती आउनसक्छ। त्यसतर्फ प्रदेश सरकार, स्थानीय सरकार, प्रशासनले ध्यान दिन जरुरी छ।’

अहिले दाङका विभिन्न स्थानीयतहहरूमा समुदायस्तरमा कोरोना भएन नभएको परीक्षण भइरहेको र तुलसीपुर उपमहानगरपालिकामा परीक्षण गर्दा कसैमा नदेखिएको भएपनि जोखिम उच्च भएकाले सबैले सावधानी अपनाउनुपर्ने उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए। ‘अहिलेसम्म समुदायमा कोरोना भेटिएको छैन,’ उनले भने,‘ तर बजारमा धेरै नागरिक वा व्यवसायीहरूले स्वास्थ्य सुरक्षा अपनाएको देखिँदैन। अहिले गरेको सानो गल्तीले पनि समुदायमा भयावह स्थिति आउनसक्ने भन्दै उनले सबैलाई स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेका छन्‌।​

यता व्यापारीहरूले भने आफूहरूले स्वास्थ्य सुरक्षा अपनाएर नै सेवाग्राहीलाई सेवा दिँदै आएको बताएका छन्। मास्क नलगाई आएकालाई पसलभित्र पस्न नदिने र पसलभित्र पस्दा सेनिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाइएको उनीहरू बताउँछन्‌। अहिले जिल्लामा भारत तथा तेस्रो मुलकबाट आउनेहरू क्रम जारी रहेकाले सम्बन्धित पालिकाहरूले क्वारेन्टाइनमा राख्न व्यवस्था गरिहेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिका संयोजक एवम्‌ प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए।


बजारमा मास्क नै नलगाई हिँडिरहेका मानिसहरू ।

पछिल्लो समय जिल्लामा रहेका क्वारेन्टाइनहरू खालि हुँदै गएको र अब अन्य ठाउँमा विकल्प भए विद्यालयमा नबनाउने योजना रहेको भएपनि कोरोना संक्रमणको दर बढ्दै गए, विदेशबाट आउनेको संख्या बढी भए विद्यालयमै क्वारेन्टाइन बनाउन सकिने समेत उनले बताए।​

स्थानीयतहरूले भने सकभर विद्यालयमा क्वारेन्टाइन बनाउने बताएका छन्। कोरोना महामारीका कारण बालबालिकाहरू पढाइबाट वञ्चित भएको अवस्थामा लामो समयसम्म विद्यालयमा क्वारेन्टाइन राख्न नमिल्ने, बरू सामुदायिक वनका वा अन्य खाली भवनहरूमा क्वारेन्टाइन बनाउने योजना तयार गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.