|

दमक : कोरोना संक्रमित भेटिने क्रम बढेपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। गत चैत ११ गतेदेखि संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो।
 

नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो। नगरप्रमुख रोमनाथ ओलीका अनुसार आगामी भदौ ५ गते सम्मका लागि लकडाउन गर्ने निर्णय भएको हो। 

यस अवधिमा औषधि र दूध डेरीबाहेक कुनै पनि पसल, उद्योग तथा संघ संस्थाहरु सञ्चालन हुन पाउने छैनन्। डेरीसमेत बिहान ६ बजे देखि ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नगरप्रमुख ओलीले जानकारी दिए।

अनुमतिबिना आए क्वारेन्टाइनमा बस्नुपर्ने

पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने सवारीसाधन समेत दमकमा रोकिन पाउने छैनन्। दमकमा कोही भित्रिने भएमा अग्रिम अनुमति लिनुपर्ने नगरपालिकाको निर्णय छ। अनुमतिबिना दमकमा कोही आए अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुख ओलीको भनाइ छ। दमक नगरपालिकाले वडा नं.४ र वडा नं.१० मा क्वारेन्टाइनमा सञ्चालन गरेको छ। तीमध्ये वडा नं.१० को क्वारेन्टाइनमा महिला मात्र राखिएको छ। 

मोटरसाइकल र सफारीमा बिरामी बोक्न नपाइने

दमक नगरपालिकामा २१ जना कोरोना संक्रमित फेला परेपछि पुनः लकडाउने गर्ने निर्णय भएको हो। २१ संक्रमितमध्ये १४ जना उपचारपछि घर फर्किइसकेका छन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार नगरले घोषणा गरेको लकडाउनको अवधीमा एम्बुलेन्स, सुरक्षाकर्मी, पासभएका सवारी साधन र सञ्चार माध्यमका सवारी साधन मात्र चल्न पाउने छन्। मोटरसाइकल तथा सिटीसफारीमा बिरामी बोक्नुपरे वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। 

५० बेडको आइसोलेसन तयार हुँदै

संक्रमणको दर फैलिएपछि नगरपालिकाले ५० बेडको आइसोलेसन सञ्चालन तयारी गरेको छ। वडा नं.२ मा भुटानी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालयले उपयोग गरेका भवनमा आइसोलेन सञ्चालनका लागि विज्ञहरुले अध्ययन थालेको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिईन्। योबाहेक अन्य स्थानको पनि खोजी भइरहेको उनले जानकारी दिइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.