|

हेटौंडा : पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल शनिबार सिन्धुपाल्चोक पुगेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य, राहत तथा अत्यावश्यक सामग्रीसहित उनी त्यसतर्फ गएका हुन्।

स्थलगत निरीक्षणपछि सो क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्री व्यवस्था गरिएको थियो। हाल सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयले उद्धारका काम जारी राखेका छन् भने थप सहयोगका लागि नेपाली सेनाको एउटा टुकडी हेलिकप्टरमार्फत सो क्षेत्रमा पुर्‍याइएको छ।

मुख्यमन्त्री पौडेलले तत्काल अस्थायी बासस्थान राहत र क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएका छन्। सो स्थान बस्तीका लागि उपयुक्त नभएको स्थानीयले मुख्यमन्त्रीलाई जानकारी गराएका छन्। मुख्यमन्त्री पौडेलले स्थानीयको मागअनुसार बस्ती स्थानान्तरण गरिने बताए।

सिन्धुपाल्चोकका बस्तीहरु नै मानिसको बसोबास गर्न नमिल्ने, असुरक्षित रहेको उनले बताए। बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो बढाइने उनको भनाइ छ। 

तर हालसम्म पनि स्थानीयहरु बेपत्ता रहेकाले उद्धार कार्य थप तीव्र बनाइएको पनि पौडेलले जानकारी दिए। केही समयभित्रै समग्र सिन्धुपाल्चोकका समस्या हल गर्न सदरमुकाम चौतारामा बृहत् छलफलको आयोजना गर्ने र त्यस क्षेत्रका सरोकारवालासँग गम्भीर छलफल गरी निकास निकाल्ने उनले बताए। 

सो क्षेत्रको अवस्थाबारे प्रदेश सभा सांसद एवं बागमती प्रदेशका अर्थ विकास समिति सभापति सरेस नेपाल, जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले सो क्षेत्रबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए।

टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेस नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर बिके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्त लामाको टोली त्यसतर्फ गएको हो।

सो क्षेत्रमा ७२ घर छन् भने ३६ घरमा पूर्ण रुपमा क्षति भएको छ। हालसम्म त्यहाँबाट १६ जनाको शव फेला परिसकेको छ भने २३ जना अझै बेपत्ता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.