गठन र कार्यादेशमै शीर्ष नेताको प्रश्‍न

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठक शनिबार केहीबेर बसेर सकिएको छ। उक्त बैठक औपचारिकतामै सीमित बनेको छ। 

ललितपुरको भैँसेपाटीमा बसेको पहिलो बैठक औपचारिकताका लागि भएको स्रोतले बताएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि भन्दै शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। 

कार्यदललाई नेकपाभित्रको विवाद समाधानका लागि आवश्यक खाका कोर्ने कार्यादेश दिइएको छ। तर शनिबार दिउँसो केहीबेर बसेको बैठकमा कार्यदलको गठनबारे संक्षिप्त जानकारीबाहेक अन्य कुनै बिषयमा कुरा नभएको एक सदस्यले थाहाखबरलाई जानकारी दिए। ​

कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल सदस्य छन्। 

कार्यदलको कार्यादेशमा प्रश्‍न

पार्टीका शीर्ष नेताहरुले नै कार्यदलको गठन र कार्यादेशमाथि प्रश्‍न उठाएका छन्। शनिबार बिहान खुमलटारमा भएको प्रचण्डसँगको भेटमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले गठन गरेको कार्यदल आफुहरुलाई मान्य नभएको बताएका स्रोतले जनाएको छ। 

अध्यक्षद्वयबीच मोटामोटी सहमति भइसकेपछि औपचारिकता दिन कार्यदल बनाइएको हुन सक्ने आशंका गर्दै शीर्ष नेताले सचिवालय वा स्थायी कमिटी बैठक बोलाएर मात्र कार्यदललाई आधिकारिकता दिनुपर्ने बताएका छन्। 

पार्टीको बैठकले आधिकारिकरुपमा कार्यादेश दिएमात्र कार्यदलले काम गर्न सक्ने उनीहरुको भनाई छ। 

‘सचिवालय वा स्थायी कमिटी बैठक बोलाएर कार्यदललाई औपचारिक रुप दिइनुपर्छ', स्रोतले भन्यो, ‘दुई जनाले गठन गरेर हुदैन, स्पष्ट कार्यादेश दिइनुपर्छ, त्यसो गरिए मात्र त्यो कार्यदलले काम गर्छ।’

यसअघि बुधबार भएको एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्रीसमेत रहेका ओलीले ५ दिनभित्र विवाद समाधान हुने दाबी गरेपछि सुरु भएको अध्यक्षद्वयको भेटवार्ता सकरात्मक दिशामा अघि बढेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.