स्थानीय प्रशासन भन्छ : केन्द्रको निर्देशन अनुसार गरेका हौँ

|

दार्चुला : भारतसँगका दश नाका बाहेक अन्य नाका नखोल्ने नेपाल सरकारको निर्णय विपरीत सशस्त्र प्रहरी बल दार्चुलाले नेपाल–भारत जोड्ने पुल खोलेर शुभकामना आदानप्रदान गरेको छ।

भारतमा रहेका किरियापुत्री र लाशलाई नेपाल ल्याउन समेत शुक्रवार (हिजो) स्थानीय प्रशासनले नखोलेको पुल एसएसबीको आग्रहमा खोलिएको सशस्त्र प्रहरी ४४ नम्बर गणका डिएसपी धिरेन्द्र शाहले बताएका छन्।

दार्चुला सदरमुकाम खलंगा र भारतको धारचुला जोड्ने पुल खोलेर सशस्त्र प्रहरी बलका एसपी नरेन्द्र बमले एसएसबीका इन्स्पेक्टर कश्मीर सिंहलाई खादा ओढाएर स्वतन्त्रता दिवसको शुभ कामना दिएका थिए। खादा ओढाएपछि दुवै देशका सुरक्षाकर्मीहरुले केही बेर छलफल गरेका थिए।

केन्द्रीय नीति अनुसार नै सशस्त्रले पुल खोलेर शुभ कामना दिने काम गरेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिएका छन्। शव र किरियापुत्री ल्याउन पुल खोल्न नदिने तर शुभ कामना दिन पुल खोल्ने विषयमा भने आफू नबोल्ने प्रजिअ पोखरेल बताउँछन्।

गत सोमवार मात्रै नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले नेपाल भारतका अन्य सीमा नाका पूर्ण रुपमा बन्द गरेर १० नाका मात्रै खोल्ने निर्णय गरेको थियो। 

सरकारको यही निर्णयका कारण हिजो (शुक्रवार) महाकाली नगरपालिका वडा नम्बर २ का जगत सिंह बडालको शव र उनका छोराहरु (किरियापुत्री) लाई नेपाल ल्याउन पुल नखोलिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताएका थिए।

पुलमा प्रशासनको मनोमानी

दुई देश जोड्ने पुल खोल्ने विषयमा जिल्ला प्रशासन कार्यालयले मनोमानी गर्दै आएको स्थानीयले आरोप लगाउन थालेका छन्।

कसैका मृतकका आफन्त नेपाल ल्याउन र भारतमा दाहसंस्कारमा जान समेत पुल खोल्ने गरेको स्थानीय प्रशासनले आफ्ना दाजुको लाश र किरियापुत्रीलाई नेपाल ल्याउन नदिएको महाकाली नगरपालिका वडा नम्बर २ का स्थानीय जमनसिंह बडाल बताउँछन्।

सीमित मान्छे ल्याउने लैजाने भन्दै पुल खोल्ने तर व्यापारिक प्रयोजनका लागि समेत पुलबाट सरसामान आउँदा स्थानीय प्रशासन चुप बस्ने गरेको खलंगाका एक व्यापारी नरेन्द्रसिंह ऐरी बताउँछन्।

ओहदा पनि भुलियो

स्वतन्त्रता दिवसको अवसरमा शुभ कामना दिनु स्वभाविक भएपछि दुई देश जोड्ने पुल खोलेर ओहदा नै नमिल्ने अधिकारीलाई शुभ कामना दिने काम अस्वभाविक रहेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामी बताउँछन्।

कोभिडका कारण बन्द गरिएका पुलहरू यो वा त्यो बहानामा खोलिनु हुँदैनथ्यो भन्दै अध्यक्ष धामी शनिवार सशस्त्र प्रहरीका एसपीले एसएसबीका इन्स्पेक्टरलाई शुभ कामना दिँदा ओहदाको समेत ख्याल नगरिएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.