यामकला भन्छिन्, ‘मैले जे सहनु र भोग्नु पर्‍यो, त्यो भावी पुस्ताले भोग्नु नपरोस्’

|

इलाम : आफ्नै बुवाको निधनपछि अनुहार हेर्न र सँगै बसेर सामूहिक काजक्रिया समेत गर्न नदिनेविरुद्ध माई नगरपालिका–२ की यामकला आचार्य विश्वकर्माले मुद्दा दायर गरेकी छन्।

११ वर्षअघि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू रीतिअनुसार बुवाको काजकिरिया सकेर आइतबार आफ्नै भाइ टीकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका–३ का पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभावसम्बन्धी कसुरको मुद्दा दर्ता गरेकी हुन्।

विवाहपछि माइती पक्षबाट पटक–पटक विभेद र अपमान सहनु परेको स्मरण गर्दै यामकला गहभरि आँशु पारेर भनिन्, ‘माइती घरमा सँगै बसेर काजकिरिया गर्ने त कुरै छाडौं, मरेर मुडोजस्तो लडाएर राखिएको बुवाको अनुहार समेत हेर्न दिएनन्।’

२१औं शताब्दीमा पनि दलितसँग विवाह गरेकै कारण आफूले जे सहनु र भोग्नु परे पनि भावी पुस्ताले त्यस्तो विभेद भोग्नु नपरोस् भनी न्यायको खोजीमा मुद्दा दायर गरेकी उनले बताइन्। आफूलाई न्याय दिन र पीडितलाई हदैसम्मको कानुनी कारबाहीको मागसहित यामकलाले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय इलामले आइतबार नै दर्ता गरेको प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। घटनाको सत्यतथ्य अनुसन्धान गरेर जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने राईले बताए। 

जिल्ला प्रहरी कार्यालय इलामको दर्ता नम्बर २२ मा यामकलाको जाहेरी दर्ता गरिएको प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानकारी दिए।

अधिकारकर्मी नवराज शंकरले माई नगरपालिका–२ मा दलित समुदायको युवासँग विवाह गरेकै कारणले भएको घटना दुःखद् एवं निन्दनीय भएको बताए। ‘यो घटना सामाजिक दृष्टिकोणले अमानवीय र कानुनी दृष्टिकोणले दण्डनीय अपराध हो,’ उनले भने, ‘घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्याय दिलाउनु पर्दछ र दोषीलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्नु पर्दछ।’

दलितसँग विवाह गरेकै कारण विभेद भोग्न बाध्य पारिएकी यामकलाका तीनजना सन्तान रहेका छन्। यामकला माई नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक समेत रहेकी विष्णुमायाँ आचार्यकी सहोदर भतिजी हुन्।

घटना के थियो ?

गत साउन २० मा माई नगरपालिका–२ का चन्द्रप्रसाद आर्चायको निधन भयो। बुवाको निधनपछि ११ वर्षअघि स्थानीय रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकला घरबाट करिब ३०० मिटरको दूरीमा रहेको माइतीघरमा पुगिन्। विवाहपछि पहिलोपटक माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए । स्थानीय लक्ष्मी दंगालले ‘तँलाई बाँचुञ्जेल चाहिएन, अहिले के हेर्न आइस्? आँगन नटेक् भन्दै झपारिन्।’ ठूलो बुबाको छोरी पारुले कुटुला झैं पाखुरा सुर्केर आएको यामकलाले बताइन्।

माइती घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग विवाह गरेकै कारण यामकलाले विभेदको सिकार बन्नुपर्यो। घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो।

‘छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थि । म पर अलग्गै बसेँ,’ उनले भनिन्, ‘बुबालाई दागबत्ती दिइञ्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारेँ।’ मृत्युको अन्तिम संस्कारका बेला श्रद्धाञ्जली सभा परिवारका सबै सदस्यको नाम भनियो तर छोरी र ज्वाइँको नाम नलिइएको उनको गुनासो छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.