भौतिक दूरी र मास्कको महत्व नभुलौं

|

नेपाली महिलाहरूको महत्वपूर्ण चाड तीज नजिकिएको छ। पौराणिक भनाइअनुसार देवी पार्वतीले भगवान् शिवलाई पतिको रूपमा पाऊँ भनी व्रत पूरा भएको दिन हरितालिका परेको हुँदा उक्त दिन व्रत बस्ने गरिएको हो। 

यसरी व्रत बस्दा असल श्रीमान पाइने तथा विवाहित महिलाका श्रीमानको दीर्घायु हुने विश्वास गरिन्छ। आजसम्म पनि पढेलेखेका शिक्षित हुन् या अनपढ महिला, तीजको व्रत किन बस्ने? भनेर सोध्यो भने प्राय: जवाफ एउटै हुन्छ : श्रीमानको दीर्घायुको लागि।

विगतका वर्षहरूमा कोरोना जस्तो महामारीको असर थिएन। आफ्ना मान्यता, धारणा र तर्कअनुसार जुन नियम र परम्परालाई माने पनि फरक पर्दैनथ्यो। तर, यो वर्ष परिस्थिति फरक छ।

दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण तीजको व्रत बसेर घरमै पूजा-अर्चना गर्न त भयो। तर मन्दिर गएर पूजा-अर्चना गर्छु, पण्डितलाई दान गरेर मात्र पानी खान्छु भन्‍ने कुरा नगर्दा नै बेस हुनेछ। 

भौतिक दूरी र मास्कको महत्व बुझ्दै अनुशासनमा रहेर आफ्नो संस्कृतिको पालना कसरी गर्ने भन्ने कुरापनि यो कोरोनाले सिकाउँदैछ। धर्म गर्न मन्दिर जाँदा के होला र? भन्ने अवस्था अहिले छैन। अर्को महत्वपूर्ण कुरा भनेको प्राणायाम अभ्यासले सबैको दीर्घायु हुन्छ। कोरोनाका कारण लाग्ने कोभिड-१९ ले श्वासप्रश्वासमा बढी असहज हुने हुँदा पनि प्राणायाम अभ्यासमा जोड दिन सके बढी उपयुक्त हुनेछ।​

प्राणायाम र दीर्घायुको सम्बन्ध 

प्राण (श्वास) र आयाम (प्रयोग) मिलेर प्राणायाम बनेको छ। श्वासलाई जसरी प्रयोग गरिन्छ : हाम्रो स्वभाव त्यस्तै बन्छ। हामी लामो-गहिरो श्वास लिन्छौं भने हाम्रो भावदशा र विचार पनि शान्त र सकारात्मक हुन्छ। छोटो, छिटो-छिटो श्वास लिन्छौं भने हामीमा हतास, चञ्चल, आत्तिने स्वभाव कायम रहन्छ। हामी जन्मँदा श्वास लिएर आयौं र शरीर छोड्दा यो श्वास पनि छोडेर जान्छौं। 

जीवनभर हामी कतिपटक श्वास लिन्छौं या हाम्रो आयु कति भन्ने कुरा जन्मँदै तय भएर आएको छ भनिन्छ। यसो हुँदाहुँदै पनि योग विज्ञानले एउटा रहस्यपूर्ण कुरो बताएको छ कि प्राणायाम प्रयोगले हामी हाम्रो आयु लम्ब्याउन सक्छौं।

योग विज्ञानका अनुसार स्वस्थ व्यक्तिले २४ घण्टामा २१,६०० पटक श्वास लिन्छ। त्यो भनेको एक मिनेटमा करिव १२-१३ पटक हुनुपर्दछ। जो व्यक्तिले १ मिनेटमा १३ पटकभन्दा बढी श्वास लिन्छ, विस्तारै-विस्तारै उसमा अस्वस्थता देखिन थाल्छ। हामीले घडी हेरेर १ मिनेटमा आफूले कतिपटक श्वास लिइँदोरहेछ प्रयोग गरी हेर्न सक्छौँ। 

होस गरेर लामो-गहिरो श्वास लिने अभ्यास बढाउँदै गयौँ भने १२-१३ पटकमा ल्याउन सम्भव छ। लामो-गहिरो श्वासको प्रयोग नगरी छिटो-छिटो श्वास लियौं भने लिएर आएको आयुभन्दा अगाडि नै हाम्रो जीवन सकिने सम्भावना हुने भयो। भनिन्छ : योगीहरूले प्राणायामद्वारा दीर्घायु प्राप्त गर्दछन् भने संसारीहरूले लिएर आएको आयुभन्दा अगाडि नै आफ्नो इहलीला समाप्त गर्दछन्।

छिटो-छिटो श्वास लिनुको परिणाम चञ्चलता, चिन्ता, तनाव, क्रोध लगायतका रिपुहरू एकसाथ विकास हुन्छन् भने लामो-गहिरो श्वास लिने व्यक्ति सधैँ होसियार, समझदार, विवेकी, प्रसन्न, धैर्य र प्रफुल्लित रहन्छ। यस्तै, व्यक्तिले स्वास्थ्य र दीर्घायु प्राप्त गर्छ।

त्यसैले महिलाहरूले तीजमा आफू व्रत बसेर श्रीमानको दीर्घायु हुन्छ भन्ने मान्यता राख्नु भन्दा पनि स्वस्थ रहने माध्यम र दीर्घायु कसरी मिल्ने रहेछ जान्न र व्यवहारमा ल्याउन सके उत्तम हुनेछ।

श्वास-प्रश्वासको समस्यामा प्राणायाम

कोरोनाको लक्षणमा होस् या सामान्य रुघाखोकी र निमोनियाँ हुँदासमेत श्वास-प्रश्वासमा समस्या देखिने, श्वास लिन असहज र कठिन हुने भएकाले प्राणायामकाे नियमित अभ्यासले शरीरमा अक्सिजनको मात्रा यथावत राख्न मद्दत गर्दछ। चिकित्सा विज्ञानअनुसार पनि जब फोक्सोमा अक्सिजनको मात्रा कम हुन्छ, तब श्वासप्रश्वासमा बाधा पर्दछ। अनि यो नै प्रमुख समस्या बनेर आउँछ।

जब लामो-गहिरो श्वास लिने छोड्ने प्रयास गरिन्छ, तब श्वासप्रश्वासमा सहजता मिल्छ। लामो-गहिरो श्वासद्वारा फोक्सोसम्म सहज रूपमा अक्सिजन पुग्नु, नाक खुल्नु, मन चङ्गा हुनु नै स्वास्थ्यको लक्षण हो। त्यसैले हाम्रो स्वास्थ्य हाम्रो श्वासमा अर्थात् प्राणायाममा अडेको छ भने यो सहज माध्यम किन नअपनाउने?

हाम्रो श्वास त सधैँ चलिरहन्छ केवल त्यसलाई लामो-गहिरो र शान्त बनाउने हो। यसले गर्दा स्वयंप्रति जागरूक पनि भइन्छ। जागरूक व्यक्तिले नै स्वस्थ, सम्पन्न, चेतनशील र शीलवान् जस्ता गुणको विकास गर्न सक्दछ।

यही स्वभावको व्यक्तिलाई नै समृद्ध, सफल, शान्त र आत्मअनुशासित व्यक्ति भनेर पहिचान गरिन्छ। हरेक महिलालाई आफ्नो श्रीमान यस्तै बनून् भन्ने चाहना हुन्छ भने हरेक श्रीमानलाई आफ्नी श्रीमती यस्तै गुणवत्ता भनी चिनाउन मन लाग्छ।

व्रत र श्रीमानको स्वास्थ्य 

व्रतलाई अर्को अर्थमा उपवास पनि भनिन्छ। उप (नजिक) र वास (बस्नु) बाट उपवास शब्द बनेको छ। जसको आध्यात्मिक अर्थ हुन्छ : अस्तित्वको नजिक बस्नु। खाना छोड्नु, शुद्ध खानु, फलाहार खाएर बस्नु या निराहार बस्नुसँग भन्दा पनि अस्तित्वगत चेतनाको नजिक कसरी हुने, शान्त र आनन्दित कसरी हुने? यो नै व्रतको परिणाम हो। आजकल के महिला, के पुरुष : सबैले फास्टिङको रूपमा व्रत लिने प्रचलन बढेको छ र यो ज्यादै उपयुक्त विधि हो।

अचेल खान नपाएर भन्दा धेरै खाएर अस्वस्थ हुनेको संख्या बढ्दैछ। तीजमा मात्र होइन, अरु समयमा पनि सकिन्छ भने हप्तामा १ दिन, सकिन्न भने २ हप्तामा १ दिन पानी र फलफूल मात्र खाएर उपवास अर्थात् व्रत राख्नाले शरीरमा जम्मा भएर बसेका अम्लीय, विषालु पदार्थहरू बाहिर निस्कन पाउँछन् र पेट हल्का एवं शरीर फुर्तिलो हुन्छ।

फास्टिङबाट स्वास्थ्य राम्रो भएको र यसले दीर्घायुमा मद्दत पुर्‍याउने तथ्य अनुसन्धान र प्रयोगात्मक अभ्यासबाटै पुष्टि भइसकेको छ। यस विषयमा अध्ययन गरेका जापानी सेल जीव वैज्ञानिक योशिनोरी ओहसुमीले नोबेल पुरस्कार नै प्राप्त गरेका छन्। उनले कति किसिमले या कति अवधि फास्टिङमा बस्दा शरीर र स्वास्थ्यलाई कस्तो फाइदा पुग्छ भन्नेबारेमा अध्ययन गरेर शोधपत्र प्रकाशित गरेका छन्। यसबाट पनि थाहा हुन्छ : श्रीमतीले व्रत बस्नाले श्रीमतीको नै स्वास्थ्य राम्रो र दीर्घायु प्राप्त हुन्छ।

श्रीमानको सु-स्वास्थ्यका लागि श्रीमानले आफैं व्रत राख्ने, प्राणायामको अभ्यास गर्ने र आफ्नो खानपान अनि आचरणमा विचार पुर्‍याउनु पर्दछ। व्रत, पूजा अर्चना गर्दा श्रीमतीमा जुन किसिमको ऊर्जा प्रवाह हुन्छ, अवश्य नै त्यसबाट मन शान्त हुन्छ। सकारात्मक विचार र शृङ्गारले सजिएको सुन्दर अनुहार देख्दा जुन आनन्द र खुसी मिल्छ : त्यो एउटा सकारात्मक र मनोवैज्ञानिक पक्ष त हुँदै हो। 

अर्को पक्ष, श्रीमान-श्रीमतीको एक आपसको सहयोग र चिन्तन, परिवार सुख र शीलको लागि जुन सहकार्य जरूरी हुन्छ : त्यो नै सबैभन्दा खुसी दिने पक्ष हो। धर्म र मान्यतालाई खुसी, आनन्द र शान्ति प्राप्तिमा कसरी रूपान्तरण गर्ने त्यो चिन्तन र अभ्यासको जरूरी पनि छ।

केही प्राणायाम विधिहरू

प्राणायाम अर्थात् श्वास-प्रश्वासका केही सहज र सरल विधिलाई दैनिक प्रयोगमा ल्याउन सकियो भने स्वस्थ र मस्त जीवनको सूत्र प्राप्त हुनेछ। प्राणायामका धेरै विधिमध्ये :
१. भस्त्रिका : सहज आसनमा बस्ने, आँखा र मुख बन्द गरी नाकबाट जोड-जोडले श्वास बाहिर फ्याँक्ने विधि भस्त्रिका हो। यो प्रयोगमा श्वास भित्र लिनमा ध्यान दिइन्न, केवल श्वास बाहिर फाल्नमा ध्यान दिइन्छ। यसले गर्दा शरीरभित्र रहेको विषाक्त पदार्थ श्वासको रूपमा बाहिर निस्कन्छ र स्वच्छ अक्सिजन फोक्सोसम्म पुग्छ। शरीर हल्का र स्फुर्त हुन्छ।

२. अंतर्कुम्भक : सुखपूर्वक ज्ञान मुद्रा लगाएर बस्ने। आँखा बन्द भएको राम्रो। लामो-गहिरो श्वास भित्र लिने, एकैछिन रोक्ने र श्वास रोकिएको अन्तरालमा आफ्नो निर्विचार अवस्थाको ख्याल गर्ने, अनि बिस्तारै श्वास बाहिर छोड्ने। यो प्रक्रियालाई कम्तिमा ५ मिनेट जारी राख्ने।

३. बहिर्कुम्भक : सुखपूर्वक ज्ञान मुद्रा लगाएर बस्ने। आँखा बन्द भएको राम्रो। लामो-गहिरो श्वास भित्र लिने, बाहिर छोड्ने र एकैछिन रोक्ने, श्वास बाहिर रोकिएको अन्तरालमा आफ्नो निर्विचार अवस्थाको ख्याल गर्ने, अनि बिस्तारै श्वास भित्र लिने। यो प्रक्रियालाई पनि कम्तिमा ५ मिनेट जारी राख्ने।

४. अनापानसती : भित्र आउँदै  र बाहिर जाँदै गरेको श्वासलाई हेर्नु अनापानसती हो। लामो-गहिरो श्वास लिने र छोड्ने अर्थात् श्वास नाकको माध्यमबाट भित्र आउँदैछ, बाहिर जाँदै छ, यसलाई सजगतापूर्वक अवलोकन गर्नु अनापानसती हो। यो प्रक्रियालाई कम्तिमा १० मिनेटसम्म प्रयोगमा ल्याउन सकियो भने मन शान्त, शरीर शिथिल, विचार शान्त भएको अनुभूति हुन्छ।

शरीरको अवस्था, मन र विचारको सन्तुलन हुनु नै स्वास्थ्यको लक्षण हो, सफलताको लक्षण हो। असन्तुलन नै अशान्तिको कारण हो। एउटा प्राणायामको सरल विधिको प्रयोगले हाम्रो जीवनका सबै आयाममा सन्तुलन र शान्ति प्राप्त हुन्छ भने त्यो आयामलाई किन प्रयोग नगर्ने?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.