|

धादिङ : अविरल वर्षा पछि उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाका अधिकांश गाउँ पहिरोको जोखिममा परेको छ। वडा नम्बर २ का सिम्पले, दक्दुङ, सेर्तुङ, चालिसे, वडा नम्बर ५ का कपुरगाउँ, हेम्दुङ, नेवेर र वडा नम्बर ६ को तिरमा रहेका बस्तीहरु पहिरोको जोखिम परेको हो।

२०७२ सालको भूकम्पपछि सरकारले ती बस्तीहरुलाई रेड जोनमा राखेको थियो। सबैभन्दा जोखिममा रहेको हिन्दुङ गाउँका स्थानीयहरुलाई स्थानान्तरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई लाख र घर बनाउन तीन लाख गरी पाँच लाख रुपैयाँ दिएको थियो। गाउँपालिकाले बोराङमा सामूहिक घर बनाउन जग्गा उपलब्ध गराए पनि स्थानीयले आफ्नो पुरानो बस्ती छाड्न नमान्दा पहिरोको जोखिम बढेको हो। 

गत सोमबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राजधानी फर्किएका वागमती प्रदेशका सांसद जगत सिम्खडाका अनुसार रुबी भ्याली गाउँपालिकाको अधिकांश गाउँ जोखिममा रहेका छन्। तीमध्ये ९४ घर परिवार तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने छ। गाउँपालिकासँग समन्वय गरेर तत्काल उनीहरुलाई सुरक्षित स्थानमा लैजान अनुरोध गरेको सांसद सिम्खडाले बताए। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले तत्कालका लागि हिन्दुङमा ५५ र कपुर गाउँमा ४५ थान त्रिपाल उपलब्ध गराएको छ।

रुबी भ्यालीकै सबैभन्दा घनाबस्ती रहेको ६०० घरधुरीको वसोबास रहेको सेर्तुङ, लापाको कपुरगाउँ पनि उच्च पहिरोको जोखिममा रहेको सांसद सिम्खडाले बताए। 

भूकम्पका कारण उत्तरी धादिङको ३४ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको भूगर्भविदहरुले बताएका थिए। भूकम्पपछि त्यस क्षेत्रको अध्ययनका लागि गएका भूगर्भविदहरुले ती स्थानमा बस्नु उपयुक्त नभएको, बस्ती तत्काल स्थानान्तरण गर्नुपर्र्ने भनेर सिफारिस गरेको भए पनि अधिकांश स्थानीय जोखिम मोलेर पुरानै स्थानमा बसिरहेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सदस्य मिम्बा तामाङ बताउँछन्।

जोखिम भनी ठहर भएका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा बसोबासको व्यवस्था नमिलाउने हो भने ठूलो दुर्घटना निम्तन सक्ने तामाङको भनाइ छ। आफ्नै जग्गामा घर बनाउन नमिल्नेहरूका लागि अन्यत्र जग्गा खरिद गर्न ९६ जनालाई दुई लाखका दरले अनुदान उपलब्ध गराए पनि केही व्यक्तिले मात्रै अन्यत्र गएर घर बनाएका छन्। 

भूकम्पपछि तत्कालीन सभासद्हरू सम्मिलित जोखिम बस्ती पुनर्स्थापना सिफारिस समितिले धादिङका ४७ वटा गाउँलाई अन्यत्र सार्न जिल्ला दैवीप्रकोप उद्धार समितिलाई सिफारिस गरेको थियो। त्यसमध्ये ४१ वटा उत्तरी धादिङको गाउँहरु रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.