|

दैलेख : लगातारको बर्सातसँगै आएको बाढी पहिरोमा परी दैलेखमा एकै दिन तीन जनाले ज्यान गुमाएका छन्। एक जना बेपत्ता भएका छन्। 

दैलेखका ठाँटीकाँध गाउँपालिका-४ गैरागाउँमा मंगलबार राति आएको पहिरोले घर पुरिँदा ११ वर्षीय बालक जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय बालक लोकेश कठायत बेपत्ता भएका हुन्। पहिरोले घर बगाउँदा एकै घरका अन्य ५ जना घाइते भएका छन्। 

घाइतेको उपचारका लागि सदरमुकाम ल्याउने तयारी भैरहेको छ। बेपत्ता बालक लोकेश कठायतको खोजी कार्य जारी रहेको प्रहरीले जनाएका छ। पहिरोले गाउँ नै जोखिममा परेपछि गैरागाउँका १५ घर परिवारलाई अन्यत्र सार्ने तयारी भैरहेको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिएका छन्। 

निशाना नै नदेखिने गरी पहिरोमा घर पुरिएको र निरन्तर पानी परेकाले उद्धारमा समस्या भएको शाहीले जानकारी दिए। 

यस्तै, जिल्लाकोे भगवतीमाई गाउँपालिका-५ कट्टीमा घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ। परिवारका अन्य सदस्य अलग घरमा सुतेको र बलबहादुर सुतेको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरी बहादुर ओलीले जानकारी दिए। 

यता, नौमूले गाउँपालिका-५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एकजना पुरुषको शव फेला परेको छ। उनको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.