|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा प्राकृतिक विपत्तिले ठूलो धनजनको क्षति गरेको छ।  प्रदेशभरि २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।

६ जना घाइते भएका छन् भने ५ जना बेपत्ता रहेका छन्।  प्रदेशमा मंगलबार रातिदेखि बाढी र पहिरोमा परेर ठूलो क्षति भएको प्रहरीले जनाएको छ।  

सबैभन्दा बढी अछाममा क्षति भएको छ। अछाममा बाढीका कारण बगेर ६ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। गएराति करिब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ। 

रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयको शव निकै टाढा कम्तीमा दुई घण्टा लाग्ने ठाउँमा भेटिन थालेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।​

सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको र खोजीमा खटिएको टोलीले निकै टाढा ६ जनाको शव भेटाएको उनले बताए। बगाएकाहरुको खोजीका लागि सेनाको ए आई १७ हेलिकोप्टर परिचालन भएको श्री नम्बर ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले बताए। 

बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा ६ तथा मङ्गलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा ६ जना गरी जम्मा ६ जनाको शव भेटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए। 

दार्चुलामा २ जनाको ज्यान गएको छ। ढुंगा लागेर दार्चुलास्थित मकरीगाड हाइड्रो पावरमा काम गर्ने अपिहिमाल गाउँपालिका–५ मकरीगाडका २९ वर्षीय सुनिल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

मंगलबार दिउँसो १ बजेतिर हाइड्रो पावरको पोल बोक्ने क्रममा माथिबाट खसेको ढुंगा कम्मरमा लाग्दा गम्भीर घाइते भएका धामीको उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याउँदै गर्दा मार्मा गाउँपालिकाको सिमार भन्ने ठाउँमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

यसका साथै चौलानी नदीमा दाउरा संकलन गरिरहेका मार्मा गाउँपालिका २ बनगडाका १६ वर्षीय अशोक विष्टको मृत्यु भएको हो।  मंगलबार अपरान्ह नदीमा बेपत्ता भएका किशोर बैतडीको डिलाशैनी गाउँपालिका २ मटेस्थित चौलानी नदी किनारमा मृत फेला परेका स्थानीय दिनेश सिंह जानकारी दिए।  

यस्तै बझाङको बुङ्गल नगरपालिका ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ। गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा हराइरहेका उनका १२ वर्षीय छोरा सचिन र उनका दाइका छोरा ५ वर्षीय सुदिप ओखेडाको शव भेटिएको प्रहरीले जनाएको छ। 

बाजुरामा मंगलबार राति भीषण वर्षा भएसँगै आएको बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

बुढीनन्दा नगरपालिका ६ को दैया खोलामा आएको बाढीले राति घट्टमा पिठो पिँध्न गएकी ७५ वर्षीया धिनु लुहार र खप्तड छेडेदह गाउँपालिका( ५ डोगडीको बन काँडामा घर माथिबाट पहिरो आउँदा ३ वर्षीया बालिका समिका बुढाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। 

उनकी ६० वर्षीया आमा नन्दा देबी बुढा र ५ वर्षीया छोरी विनिता बुढा गम्भीर घाइते भएका प्रहरी निरीक्षक ठगुन्नाले बताए। 

यसका साथै बैतडीमा पनि घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन्। आज बिहान ६ बजे  जिल्लाको सुर्नया गाउँपालिका ५ मडका बीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन्। 

पहिरो खस्दा वीरबहादुर मडै, उनकी श्रीमती सुन्दरी मडै र उनका छोरीहरू सरस्वती मडै र पार्वती मडै घाइते भएका रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले जानकारी दिए। घरभित्र पुरिएका चार जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.