कल्पनै नगरेको घटना, थिएन सतर्कता, करिब ८ अर्ब क्षति

|

काठमाडौं : ‘सामान्य तयारी मात्रै भयो, हामीलाई त्यस्तो घटना होला भन्‍ने लागेकै थिएन। यस्तो होला भन्‍ने नलागेपछि पूर्व सतर्कता पनि अपनाउने कुरामा सचेत भएनौँ। यो घटना अकल्पनीय भयो। पूर्वसूचना, र संकेत केही थिएन’, थाहाखबरसँग कुरा गर्दै रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउँदले सैनीमा आएको बाढीको फेहरिस्त यसरी सुनाए। 

अध्यक्ष साउँदका अनुसार एक, डेढ सय वर्षयता यो खोलामा यति ठूलो बाढीको प्रकोप आएकै थिएन। स्थानीयका अनुसार कैलाश खोलाको मुहान नजिकै रहेको सैनीलाई जोखिमका हिसाबले पनि हेरिएको थिएन।

त्यो भन्दा अगाडि बग्दै जाँदा अन्य खोलाहरू मिसिँदै जाने कैलाश खोलामा पानीको बहाव पनि बढ्दै जान्छ। सान्तडा खालबजारदेखिका बजार अझ जोखिममा छन्। ‘कैलाश खोलाभन्दा सैनीबजार उचाइमै छ। तर बाढीले त्याँहा नै ठूलो क्षति पुर्‍यायो’, उनले सुनाए। 

जेखिममा बजार, सतर्कता छैन

१२ बण्ड र १८ खण्ड भनेर चिनिने रामारोशन पर्यटकीय क्षेत्र हुँदै कैलाश खोलो बग्छ। गाउँपालिकाको अल्लेडी, सान्तडा खालबजार, मुजाबगर, गजड दर्ना यो खोलाको क्षेत्र हो। यसको छेउछाउमा बजारक्षेत्र बसेका छन्। माथि भनिएका स्थान बजार क्षेत्रकै हुन्।

 कैलाश खोला छेउछाउमै बजार छन्। बजार क्षेत्रको हातासम्मै अघिपछि पनि खोलाको पानी हुन्छ। यसअघिका वर्षाहरुमा आएको बाढीले खासै असर नगरेकाले यहाँका बासिन्दा निष्फिक्री थिए। स्थानीय सरकारले पनि चासो दिएन। यी बजार क्षेत्रहरुमा बाढीको जोखिम सधैँ उच्च छ। प्राकृतिक विपद्बाट जोगिने विकल्प तत्काल खोजिनु पर्ने स्थानीय बताउँछन्।

यत्रो बाढी कल्पना पनि गरिएको थिएन

विपद जोखि न्यूनीकरणको तयारी समान्यबाहेक नगरिएको गाउँपालिकाले जनाएको छ। एकातिर पूर्व सूचना तथा जानकारी अभाव अर्कातिर सय २ सय वर्षयता यस्तो घटनाको जोखिम देखिएको थिएन। त्यसैले खासै सतर्कता नअपनाइएको अध्यक्ष साँउदले बताए। 

‘अकल्पनीय यो घटना २ सय ३ सय वर्ष अगाडि बसेका बस्तीले सोचेका पनि थिएनन्।  बस्ती बसेपछि बनेका बाटा, खोलाका किनार अन्य बस्तीहरुमा यसअघि यस्तो जोखिम थिएन’, अध्यक्ष साउँदले भने, ‘एक्कासि यस्तो भयानक बाढी आउला भन्‍ने अनुमान गर्न सकिएन। विपदका सामान्य तयारी गर्यौँ, खोला किनारबाट टाढा रहनु होला भन्यौँ। तर त्यतिले केही भएन, सबै बगाएर लग्यो।’

रामारोशन ताल फुटेको हो त?

कैलाश खोलाको मुहानमा १२ वटा ठूला तालछन्। तिनै ताललाई रामारोशन ताल भनिन्छ। यो अछामको प्रमुख पर्यटकीय क्षेत्र पनि हो। उक्त क्षेत्रलाई १२ बण्ड १८ खण्ड भनिन्छ। यही क्षेत्रको नामबाट गाउँपालिका नामाकरण गरिएको छ। 

यहाँ साविकमा रामारोश गाविस रहेको थियो। यति ठूलो बाढीको कारण ताल फुटेको भन्‍ने गाउँलेको आशंका थियो। यस आशंकाबारे अध्यक्ष साउँदसँग जिज्ञासा राख्दा उनले त्यस्तो नभएको जानकारी दिए। 

बाढी आउनुपहिले २ घण्टा मात्रै बर्षा भएको थियो। यही आशंकामा तालक्षेत्रमा गएर अनुगमन गर्‍यौँ’, अधयक्ष साउँदले भने, ‘हामी स्थानीय जनप्रतिनिधि लगायतको टोलीले ताल क्षेत्रमा पनि हेर्दा केही भएको छैन। एउटा तालबाट सामान्य पानी बाहिर आएको रहेछ। त्यसको असर खासै परेको देखिएन।’

साउन १२ को बाढीले जमिन फाटेको थियो

यसअघि साउन १२ गते आएको बाढीले जमिन निककै कम्जोर भएको थियो। साविकको बाटुलासैन गाविस मुनिबाट बग्ने बल्दे खोलाको बाढी कैलाश खोलामा मिसिएर जमिनलाई कमजोर पारेको अध्यक्ष साउँदले स्वीकारे। 

तर उनले त्यो बाढीपछि थप असर गर्न सक्ने भन्दै सचेत रहन भनिएको पनि जानकारी दिए। त्यही बाढीले कमजोर बनेको भूभागमा ढुंगा, रुख बगाएर आएको बाढी बस्तीमा प्रवेश गर्दा यस्तो भएको स्थानीय बताउँछन्। 

विभागले दिएको थियो चेतावनी

अछाममा बाढी आउन सक्ने चेतावनी मंगलबार बिहानै जल तथा मौसम विज्ञान विभागले दिएको थियो। तर विभागको चेतावनीबारे स्थानीयस्तरमा जानकारी पुग्‍न नसक्दा यो स्तरको बिपत्ति निम्तियो।

विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान ७ बजे नै अछाम हुँदै बग्‍ने खोला नदीहरुमा एक्कासी बाढी आउन सक्ने पूर्वसूचना दिएको थियो।

महाशाखाले स्थानीयलाई सतर्कता अपाउन आग्रह गर्दै अछाम भई बग्‍ने खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भनेर निकालेको सूचनाको बेवास्ता गरिएको देखिएको छ। 

'बूढीगंगा नदी जलाधार अछामको साँफेबगर र आसपास पछिल्लो ३ घण्टा अतिभारी बर्षामापन भएको छ', विभागले मंगलबार बिहानै भनेको थियो, 'अछाम भई बहने साना खोलामा एक्कासी बाढी आउन सक्ने, बूढीगंगामा सतर्कता तहको बाढी हुनाका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्छ, दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।'

मंगलबार बिहान विभागले यसो भने लगत्तै राति अछामको कैलाश खोलामा भीषण बाढी आएर ठूलो धनजनको क्षति हुन पुग्यो। 

५ शवको सनाखत, ११ को पत्तो छैन

बाढीले बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ। जसमा ५ जनाको सनाखत भएको छ। निरन्तरको बर्षापछि मंगलबार राति आएको बाढीमा बगेका ६ जनाको शव भेटिएको हो। अहिलेसम्म ५ जनाको सनाखत भएको अध्यक्ष साउँदले जानकारी दिए। 

उनीहरु पाँचै जनाको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ। उनीहरु ४८ वर्षीय नवीन शाह, ३८ वर्षीय नन्दबहादुर साउँद, ३५ वर्षीया गंगादेबी साउँद, ४८ वर्षीया बासुदेवी साउँद र २५ वर्षीया तृप्ती शाह छन्। तीमध्ये सनाखत हुन नसकेका एक जना १२ वर्षका बालकको दाहासंस्कार गरिसकिएको अध्यक्ष साउँदले बताए। अन्य ११ जना बेपत्ताको अझै खोजी भइरहेको छ। 

बेपत्ताको खोजीकार्यमा कठिनाई भएको छ। खराब मौसम र खोलामा लेदोसहितको धमिलो माटोका कारण सुरक्षाकर्मीलाई पनि पसेर हेर्नै समस्या भएको छ।

८ अर्ब बराबरको क्षति

अध्यक्ष साउँदका अनुसार यो बाढीले करिव ८ अर्ब बराबरको क्षति भएको छ। उनका अनुसार बाढीले सैनीबजारका २२ घर, गाउँपालिकाका ७ झोलुंगे पुल, दर्नाको शेरीस्थित एउटा पक्की पुल बगाएको छ। 

बाढीले ४ वटा लघु जलविद्युतका पावर हाउस, गाउँपालिकाको एउटा एम्बुलेन्स, ४ वटा मोटरसाइकल, २ वटा गाडी, एउटा नेपाल टेलिकमको बेलेरो जिप बगाएको छ। 
त्यसैगरी गाई भैसी, बाख्रा गरेर ४ सय जति चौपाया बाढीमा परेका छन्। अध्यक्ष साउँदका अनुसार खोला आसपासका खेतीयोग्य जमिन सबै बाढीले बगाएको छ । गाउँपालिका पूरै चिराचिरा भएको छ। 

‘अझै क्षतिको सबै विवरण सबै आइसकेको छैन,’ उनले भने, अढाई हजार हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ। गाउँपालिका जोड्ने सडकदेखि अन्य भौतिक संरचनामा ठूलो क्षति भएको छ।

विवरण संकलन, राहत कोष स्थापना

कैलाश खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकल राहत र पुनर्स्थापनाबारे छलफल गर्न कार्यपालिकाको बैठक बस्दैछ। गाउँपालिकाका विभिन्‍न शाखाहरूले क्षतिको विवरण संकलन गर्न छलफल भएको छ। 

‘कृषि, पशु, पूर्वाधारमा पुगेको क्षतिबारे छुट्टाछुट्टै संकलन गरिने छ’, उनले भने, ‘अहिले गाउँपालिकाले राहत कोष निमार्ण गरेको छ। यो कोषमार्फत राहत र पुनःस्थापना कार्यक्रम चलाउँदैछौँ।’

मृतक परिवारलाई प्रदेश सरकारको एक लाख

सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। बाढी, पहिरो तथा डुबानमा मृत्यु भएका 
परिवारलाई उक्त रकम राहतस्वरुप दिने प्रदेश सरकारले निर्णय गरेको हो। 

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नौवटै जिल्लामा प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत दिने निर्णय गरेको हो। 

उक्त रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदान गरिनेछ। यस्तै, प्राकृतिक प्रकोपमा परी घाइते भएका व्यक्तिको प्रदेश सरकारले नै उपचार गर्ने भएको छ। 

बैठकले प्रदेश विपद् कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। कोषबाट दोहोरो नपर्ने गरी उक्त रकम विपदका कारण जनधनको क्षति व्यहोरेको परिवारलाई राहत सामग्री र बसोबास व्यवस्थापनमा खर्च गरिने जनाइएको छ। 

मन्त्रालयहरुले विषयगत कार्यालयमार्फत विपदका घटनाबाट भएको भौतिक क्षतिको विवरण फरक नपर्ने गरी तत्काल उपलब्ध गराउने,  भौतिक पूर्वाधार मन्त्रालयले बाढी प्रभावित जिल्लामा अवरुद्ध सडक, खानेपानी, सिँचाइ, कुलो लगायतका संरचना सूचारु गर्न शीघ्र काम थाल्नुपर्ने र सामाजिक विकास मन्त्रालयले तत्काल औषधी र चिकित्सक व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.