|

काठमाडौं :  नेपाली नारीहरूको तीजलाई अहिले कोरोनाले घर भित्रै थुनिदिएको छ। यसअघिका तीजमा महिलाहरू शिवालयमा गएर नाचगान गर्ने गर्थे।

महिलाहरू माइत जाने माहोल हुन्थे। साथीसँग रमाइलो गरेपनि यसपाली भने त्यो रौनकता घटेको छ। कोरोनाको महामारीले देश नै अहिले अस्तव्यस्त बनेको छ।

कोरोना महामारीबीच लुम्बिनी प्रादेशिक अस्पतालका महिला कर्मचारीहरूले सामूहिकरुपमा सन्देशमूलक गीत गाएर यसपालिको तीज मनाएका छन्। कोरोना कहरमा सबैभन्दा जोखिम मोलेर फ्रन्टलाइनमा काम गरिरहेका छन् स्वास्थ्यकर्मी। यो महामारीमा बिरामीको उपचारमा तल्लीन स्वास्थ्यकर्मीका लागि अस्पताल नै घर बनेको छ। अनि बिरामीहरू आफन्त र परिवारका सदस्य।

लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ इन्चार्ज ज्योति पौडेलले कोरोनाका कारण घर जान नपाएपछि कार्यालयमै गीत गाएर रमाइलो गरेको बताएकी छन्। 

'यसअघि तीजमा घरमा रमाइलो गरिन्थ्यो। सम्पूर्ण नर्सहरु पालो गरेर घर जानुहुन्थ्यो। यसपाली कोरोना कहरबीच आफूहरू घर जान नपाएपछि पीडालाई भुलेर एकछिन साथीहरुसँग रमाइलो गरेका हौं', थाहाखबरसँग कुरा गर्दै उनले भनिन्, 'दिनभर कामको थकान बिर्सिँदै दुई घण्टामा गीतको रचना गर्‍यौँ र नाचगान गर्‍यौं।'

गीतमा बिनाकामले 'लखरलखर बाहिर-बाहिर नडुलौँ, हिंँड्न परे मास्क लाउन कहिले नभुलौँ' भन्‍ने सन्देश छ। 'यति कुरा ख्याल राखौं बाहिर गई आएर, राम्रोसँग हात धुनु साबुन लाएर', उक्त गीतको सन्देशमा भनिएको छ, 'भिटामिन सी र डी पौष्टिक आहार लिनुहोस्, खानपिन सरसफाइमा ध्यान दिनुहोस्।'

शरीरमा गाउन, पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) र मास्क लगाएर उनीहरूले तीज गीत गाएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ।

यसअघि पनि अस्पताल प्रशासनले तीजमा विभिन्न कार्यक्रम आयोजना गरेर महिला कर्मचारीहरूलाई रमाइलो माहोल सिर्जना गरिदिने भएपनि अहिले माहोल त्यस्तो नभएकाले बन्द कोठा भित्र ८\१० जना महिला नर्सहरुले गीत गाएको उनले बताइन्। कोरोनाको डर बढ्दै गएकोले यो घडीमा संयमता अपनाउन पनि पौडेल आग्रह गरेकी छिन्।

गीतमा भनिएको छ, 'तीज आयो भनेर मनपरी नगरौं, आफ्नो आनीबानीलाई आफैं सुधारौँ।  जबसम्म जनताको भित्री भाव जाग्दैन, सरकारको प्रयासले छेउ लाग्दैन। हामी एकजुट हुनुपर्छ यो कोरोना भगाउन, सरकारलाई मात्र हुन्न दोष लगाउन।' 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.