पूजाका सामान पाइएन, मन्दिर जान सकिएन

|

काठमाडौं :  हिन्दू नारीहरूको महान चाड हरितालिका तीज आज घरमै बसेर नेपाली महिलाहरुले मनाएका छन्। विवाहित महिलाहरु माइती गएर छमछम नाच्ने तीजको दिन यस वर्ष भने कोरोना महामारीका कारण विगत वर्ष जस्तो हर्षोल्लाषमय हुन सकेन। 

कोरोना संक्रमणका कारण बिभिन्न ठाँउमा लगाइएको निषेधाज्ञाले महिलाहरु घर भित्रै बस्नु पर्यो। विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिलाहरुले यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेर मनाएका छन्। यो बेला विभिन्न कार्यक्रमका लागि देश तथा विदेशमा रमाउने महिला कलाकारहरूमा पनि यस वर्षको तीजमा खासै उमंग नदेखिएको उनीहरुले बताएका छन्।

सांसद तथा गायिका कोमल वली

राष्ट्रियसभा सांसद एवं चर्चित लोक गायिका कोमल वलीले यस वर्षको तीज कोरोना महामारीका कारण घरमै सामाजिक दुरी कायम राख्दै मनाएको बताइन्। 

७ वर्षकै उमेरमा आमाको सिको गरेर तीजको व्रत बस्ने वली यो वर्ष पनि तीजको ब्रत बसेकी छन्। उनी आज विभिन्न कार्यक्रममा पनि उपस्थित भइन्। 

केही कार्यक्रममा स्वयम् उपस्थित भइन् भने धेरै जसो भर्चुअल माध्यामबाट आयोजना गरिएका प्रतियोगिता तथा कार्यक्रममा सहभागी भइन्।

 यस वर्षको तीज वलीले घरमा पनि भौतिक दुरि कायम राखेर आमा र भाउजूसँग मनाएकी छन्। तर विगत झैँ यो वर्षको तीज कोरोनाका कारण रमाइलो नभएको उनले बताइन्। अविवाहित सांसद तथा कलाकार वली तीजको ब्रत बर पाउन मात्रै नभई मन शान्तिका लागि बस्ने गरेको बताउँछिन्। उनले आफूले अहिलेसम्म चिताएको पुग्दै आएको पनि बताइन्।

रेखा थापा, नायिका

नायिका रेखा थापालाई तीज असाध्यै मन पर्ने पर्व हो। उनी यसअघिका वर्ष घरमै बसेर पनि पशुपतिमा देखिएको तीजको रौनकलाई नियालेर आनन्दित हुने गरेको बताउँछिन्। 

त्यो परिवेशलाई उनले यसवर्ष पनि धेरै नै सम्झेको बताइन्। तर उनी तीजको ब्रत भने बस्दिनन्। उनी पहिलादेखि नै तीजको ब्रत बस्ने नगरेको बताउँछिन्। यसअघि काम काजमा व्यस्त हुँदा पनि व्रत बस्न नसकेको उनले सुनाइन्। 

रेखा हाँस्दै भन्छिन्, ‘अब विवाहपछि तीजको ब्रत बस्छु, मलाई रहर छ।’ उनको नजरमा तीज श्रीमान श्रीमतीबीचको सामिप्यता प्रगाढ बनाउने पर्व हो। 

‘अघिपछि हिंसा सहेर भएपनि बसेका महिलाहरु यो बेला नितान्त श्रीमानको पूजा गर्ने, ब्रत लिने गर्छन्। यो हाम्रो संस्कार र परम्परा पनि त हो,’ रेखा भन्छिन्, ‘तीज मनाउने र  नमनाउने सबैलाई छुट छ। कसैलाई जवरजस्ती तीज मनाउनै पर्ने कानुनी बन्धन छैन। तर यो पर्वले लोग्ने स्वास्नीको सामिप्यता बढ्छ जस्तो लाग्छ मलाई।’

वर्षा सिवाकोटी, नायिका

आजका दिन महिलाहरू बिहान चाँडै उठेर नुहाई धुवाई गरी दिनभर निराहार व्रत बस्ने गर्दछन्। बेलुकी पख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजा सामग्री लिएर मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन छ। 

तर, यो वर्षको तीजमा हिन्दू नारीहरूले यी सबै गतिविधि गर्न पाएनन्। नायिका वर्षा सिवाकोटीको तीज पनि खल्लो रह्यो। ‘तीजमा मैले खासै केही गरिनँ, यो वर्ष माहोल पनि त्यति राम्रो भएन, अघिल्ला २ वर्ष पनि सुटिङमै व्यस्त भएकाले मेरो तीज खासै भएन,’ उनले भनिन्। सिवाकोटीले पनि अहिलेसम्म तीजको ब्रत लिएकी छैनन्।

पूर्णकला बिसी, लोक गायिका

विगतमा विभिन्‍न कार्यक्रममा गएर मनाउने लोक गायिका पूर्णकला बिसीले यो वर्ष घरमै दिदी बहिनीसँग बसेर तीजको रमाइलो गरिन्। तर उनी स्वास्थ्य समस्याका कारण ब्रत बस्दिनन्।

‘आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर के ब्रत बस्नु? सबैको भलो चिताउने भए ब्रत बस्नै पर्छ भन्ने हुँदैन’, उनले सुनाइन्। गायिका बिसीलाई तीज महिलाहरुले आफ्ना दुःख सुख साटासाट गर्दै रमाइलो गरेर मनाउने पर्व जस्तो लाग्छ। 

रेखा जोशी, देउडा गायिका

चर्चित लोक देउडा गायिका रेखा जोशी पहिलो पटक तीजको ब्रत बसिन्। गायिका जोशीले निषेधाज्ञाका कारण पूजा सामाग्री पनि खरिद गर्न पाइनन्। तर पनि उनले आजको दिन तीजको ब्रत बसेर पुजा–आजा गरिन्। 

‘कोरोना महामारीले गर्दा न कुनै पूजाका सामाग्री किन्ने पसलहरु सञ्चालन छन् न त पूजा गर्न मठ मन्दिरमा जान पाइयो’,। उनले दुखेसो पोखिन्। उनले यस वर्षको तीजमा एक्लै बस्नु पर्ने भएका कारण खासै रमाइलो गर्न नपाएको पनि सुनाइन्। ‘गाउने र नाच्ने केही गर्न पाइएन’, उनले भनिन्। 

सांस्कृतिक विशेषता बोकेको महिलाहरुको मुख्य चाड तीजमा परिवारका सदस्य, साथीसँगको जमघट, घुमघाम, नाचगान तथा सुखदुःख साटासाट नै विशेषता हो। तर यसवर्ष कोरोना महामारीका कारण महिलाहरुले यस्ता गतिविधि गर्न पाएनन्। 

कोरोना कहरले बाहिर निस्कन नसके पनि सबै हिन्दू नारीले घरभित्रै सामान्य हिसाबले तीज मनाएका छन्। ‘यो वर्ष यस्तै भयो, अर्को वर्ष त पक्कै विगत वर्ष जस्तै तीजले रौनकता लिएर आउने नै छ। त्यो भन्दा अगाडि हामी सबैले कोरोनालाई जित्नु छ’, उनीहरु भन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.