तोडफोडमा संलग्‍न अन्यको खोजी हुँदै

|

संखुवासभा : संखुवासभाको हिमालय किरण क्याम्पसमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले हिमालय किरण क्याम्पसका प्रमुख डा. मात्रिका तिमल्सिनालाई पक्राउ गरेको हो।

जिल्ला अस्पतालले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको आधारमा क्याम्पस प्रमुख तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। 

क्याम्पस प्रमुख तिमल्सिनाको अगुवाईमा आइसोलेसन तोडफोड भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरे पनि शनिबार मात्रै सार्वजनिक गरेको हो। 

तिम्सिनालाई अपराधिक उपद्रव गर्न नहुने मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले बताए। प्रहरीले घटनाको दुई दिन बित्दासमेत तोडफोडमा संलग्न अन्यलाई पक्राउ गर्न सकेको छैन। 

घटनास्थलमा सिसी क्यामेरा समेत जडान भए पनि भिडियो फुटेजबारेम प्रहरीले कुनै जानकारी दिएको छैन। जिल्ला अस्पताल संखुवासभाका अनुसार आइसोलेसनमा प्रयोग गर्न राखिएका सामाग्री बिहीबार राति तोडफोडपछि हराएका थिए। 

तोडफोडका क्रममा करिब १५ लाख रुपैयाँ बराबरको सामाग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दर श्याम झाले बताए। 

आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ।  

आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिएकी छन्। तोडफोडपछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनको भनाइ छ। 

आइसोलेसन हटाउन पत्र 

अस्पतालले करिब पाँच महिना अगाडि क्याम्पसमा आइसोलेसन निर्माण गरेको थियो। तर, गत २५ साउनमा सरकारले नै विद्यालय र क्याम्पसमा भएको क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेपछि क्याम्पस प्रशासन र स्थानीयले विरोध जनाएका थिए। 

स्थानीय टोल विकास संस्थाहरुले स्थानीयस्तरमा कोरोना फैलन सक्ने भन्दै आइसोलेसन हटाउन माग गदै आएका थिए। अर्को व्यवस्था नहुन्जेल लागि आइसोलेसन निर्माण गरिएको भएपनि पाँच महिना बित्न लाग्दा समेत आइसोलेसन नहटाएको विरोध जनाएका थिए। 

स्थानीयले क्याम्पस प्रवेश गर्ने सडक समेत अवरुद्ध गरी विरोध जनाएका थिए। कोरोना संक्रमण समुदायमा फैलन सक्ने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए। क्याम्पस प्रशासनलाई समेत स्थानीयले आइसोलेसन हटाउन माग गरेका थिए। 

क्याम्पसले पनि क्याम्पस सञ्चालनका लागि आवश्यक तयारी गर्नु पर्ने भन्दै आइसोलेसन सार्न अनुरोध गर्दै आएको थियो। क्याम्पसमा विज्ञान र नयाँ शंकायको कक्षा सञ्चालनका लागि प्रयोगशाला निर्माण र व्यवस्थापनका कार्य गर्नका लागि हटाउनका लागि अस्पताललाई निवेदन समेत दिएको थियो। 

क्याम्पस प्रशासन र स्थानीयले जोखिम बढ्ने भन्दै आइसोलेसन प्रयोग गर्न नदिने भनेपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक गरिएको थियो। 

उक्त बैठकले तत्काललाई सोही क्याम्पसको आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरे पनि स्थानीय र क्याम्पस प्रशासनले असहमति जनाए थिए। आइसोलेसन प्रयोग गर्ने निर्णय हुनासाथ स्थानीयले विहिबार साँझ जिल्ला प्रशासन समेत घेराउ गरेका थिए।

यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले क्याम्पसमा रहेको आइसोलेसन हटाउने निर्णय गरेको थियो। केन्द्रले खाँदबारी–९, ढुंगेविसौनामा रहेको विद्यालयमा आइसोलेसन निर्माणको काम समेत सुरु गरेपनि स्थानीयको विरोध पछि स्थगित भएको थियो। 

आइसोलेसनमा धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुषलाई राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.