रिपोर्ट नआउँदै घर गए, भेलादेखि सामाजिक कार्यमा सहभागी
रिपोर्ट नआउँदै घर गए, भेलादेखि सामाजिक कार्यमा सहभागी
डडेल्धुरा : कोरोना ‘हटस्पट’ बनिरहेको पर्साबाट डडेल्धुराको अजयमेरु गाउँपालिका-२ मा आएका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको छ।
पर्साको एक स्थानीय तहको शिक्षा शाखामा प्राविधिक सहायक पदमा कार्यरत अजयमेरु गाउँपालिका-२ का पुरुष घर आएको केही दिनमा उनी संक्रमित रहेको पुष्टि भएको हो। संक्रमित व्यक्ति घरमा आएर गाउँभरी डुलेपछि स्थानीयवासी त्रसित बनेका हुन्।
पर्सामा कोरोना परीक्षणको लागि स्वाब दिएर घर आएका ती व्यक्तिमा कोरोना भएको खबर जिल्ला प्रहरी कार्यालयमार्फत जानकारीमा आएको थियो।
यस्तो छ ट्राभल हिस्ट्री
अजयमेरु स्वास्थ्य शाखा प्रमुख हिक्मतबहादुर कठायतले वीरगञ्जमा साउन २६ गते कोरोना परीक्षणका ती व्यक्तिको लागि थ्रोट स्वाब दिइएको जानकारी गराएका छन्।
स्वाब दिएर उनी वीरगञ्जबाट २९ गते डडेल्धुराका लागि हिँडेका थिए। भदौ ३ गते उनको कोरोनो परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।
‘ती व्यक्ति स्वाब दिएर सीधै घर हिँडेछन्। उनी त्यहाँ शिक्षा शाखामा कार्यरत कर्मचारी रहेको बुझिएको छ,’ कठायतले भने,‘भदौ ३ गते कोरोना रिपोर्ट आएपछि पनि कसैलाई आफू संक्रमित रहेको जानकारी नगराएको पाइएको छ, यसकारण झन् जोखिम बढेको छ।’
स्वास्थ्य शाखा प्रमुख कठायतका अनुसार ती कोरोना संक्रमित व्यक्तिले ४ र ५ गते चमडा बजारमा किनमेल गरेको ट्राभल हिस्ट्री छ।
रिपोर्ट नआउँदै घर आएका उनले विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाएको बताइएको छ। उनी उपभोक्ता समिति निर्माणको भेलादेखि अन्य सामाजिक कार्यमा समेत सक्रिय रहेकोले गाउँ नै कोरोना संक्रमणको उच्च जोखिममा परेको आशंका गरिएको छ।
पूरै गाउँ र चमडा बजार शील
अहिले अजयमेरु गाउँपालिका वडा नं. २ मा रहेको उनको पूरै गाउँलाई नै शील गरिएको छ। साथै उनले किनमेल गरेको चमडा बजार पनि पूरै शील गरेको स्वास्थ्य शाखा प्रमुख कठायतले जानकारी दिए।
स्वास्थ्य शाखाले उनी संक्रमित भएको शनिबार (हिजो) मात्रै थाहा पाएको कठायतले बताए। ‘हामीले उनी संक्रमित हुन् भनेर हिजो मात्रै पर्सा प्रहरीमार्फत थाहा पायौं।’ उनले भने, ‘थाहा पाइसकेपछि हामीले उनको गाउँमा रहेका ६–७ घर र बजार पनि शील गरेका छौं।’
संक्रमित ती पुरुष अहिले घरमै होम आइसोलेसनमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य शाखा प्रमुख कठायतका अनुसार उनको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।
पहिलो चरणमा उनीसँग सम्पर्कमा आएका ३० जनाको आइतबार स्वाब संकलन गरिँदैछ। उनीहरुको रिपोर्ट आएपछि अन्य व्यक्तिहरूको पनि स्वाब परीक्षण गरिने उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।