|

मनाङ : हिमाली जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ। पर्यटन र पशुपालन मात्र नभइ अहिले तरकारी खेतीतर्फ समेत स्थानीय बासिन्दा आकर्षित हुन थालेका छन्। विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको मेहनत र परिश्रमका कारण अहिले तरकारी समेत मनग्य फल्ने गरेको छ। 

मनाङ ङिस्याङ गाउँपालिका वडा नम्बर ५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ। सोही वडाका वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्म छिरिङ गुरुङको बारीमा लगाएको बन्दा काउली एउटै करिब ५ देखि ७ किलोग्रामसम्म र गाजर पनि एउटै करिब १ केजी बराबरको फलेका छन्। 

अध्यक्ष गुरुङ भन्छन्, ‘मैले आफूलाई पुग्ने मात्र होइन, केही बेच्ने गरी तरकारी लगाएको थिएँ, तर सडकले गर्दा बजार प¥याउन सकिएन, तरकारी भने राम्रो उत्पादन भएको छ।’ आफ्नो बारीमा पूर्ण रुपमा अर्गानिक तरकारी उत्पादन भएको उनले दाबी गरे। अघिल्लो पुस्ताले तरकारीको नाममा आलु मात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको उनको भनाइ छ। 

समुद्री सतहबाट तीन हजार चार सय ८० मिटरमा रहेको भ्राकामा फलफूलको रुपमा स्याउ फल्ने गर्छ। माथिल्लो मनाङबाट लमजुङ बेसींसहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नु पर्दछ। त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनी बताउँछन्। 

त्यस्तै मनाङ गाउँका पर्यटन व्यवसायी विनोद गुरुङ पनि देशैभरि केरोना महामारीका कारण आफ्नो व्यवसाय धरापमा परेपछि खेतीपातीमा लागेको बताउँछन्। अहिले उनको बारीमा फलेका तरकारी जिल्लाकै नमुना बनेका छन्। काउली, बन्द, गाँजार, प्याज उत्तिकै राम्रा फल लागेका छन्। झन्डै  १० किलोका काउली बन्दा रहर लाग्दा देखिन्छन्।

हुन त यहाँका सबै होटल व्यवसायसँगै खेतीपातीमा तल्लीन छन्। तर आफ्नो होटलमा र आफूलाई खान आफ्नै उत्पादनबाट नै पुर¥याउने गरेका व्यवसायी गुरुङले बताए। माछा, मासु, चामल बाहिरबाट ल्याए पनि तरकारी आफ्नै उत्पादनबाट पुग्ने गरेको उनको भनाइ छ। 

पहिले आलु मात्र खेती गरेको र अहिले आलुसँगै काउली, बन्द, गाँजर लगायतका तरकारी उत्पादन गर्दा होटल व्यवसायमा सहयोग पुगेको उनको अनुभव छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.