|

दैलेख : कर्णाली प्रदेशका १० जिल्ला मध्य कोरोनाको केन्द्र बनेको दैलेखमा मंगलबारसम्म १ हजार ३७ जना कोरोनाका बिरामी फेला परेका छन् भने ३ जनाले ज्यान गुमाइसकेका छन्। कर्णालीमा पहिलो पटक दैलेखमा देखिएको कोरोना हाल प्रदेशका सबै जिल्लामा फैलिएको छ। 

पहिले भारतलगायत अन्य मुलुकबाट जिल्ला भित्रिनेमा कोरोना देखिए पनि पछिल्लो समय संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा पनि कोरोना भेटिन थालेको छ। 

यसै सन्दर्भमा कोरोना संक्रमण भई डिस्चार्ज भइसकेका स्वास्थ्य सेवा कार्यालय दैलेखमा जनस्वास्थ्य निरीक्षक नमराज सुवेदीसँग थाहाखबरकर्मी उदयराज अधिकारीले गरेकाे कुराकानीको अंश  

तपाईंमा कसरी कोरोना संक्रमण भयो ? 

स्वास्थ्य सेवा कार्यालय दैलेखको इमरर्जेन्सी सहइन्चार्ज भएकाले कोरोना महामारीका बेला उपचारमा आएकालाई हेनुपर्छ।त्यसैबेला म पनि संक्रमित भएँ। मेरो घरमा एक जना जनप्रतिनिधि बस्नुहुन्थ्यो म पोजेटिभ हुनुअघि उहाँमा ज्वरो रुघाखोकी देखिएको थियो। जाँच गर्दा उहाँ कोरोना देखियो। एक हप्तापछि पिसिआर चेक गर्दा मलाई पनि कोरोना पोजेटिभ देखिएको होे। 

संक्रमण पुष्टि भएपछि कस्तो महसुस गर्नुभो ?

सुरुमा त होइन कि झैं लाग्यो। घरमै संक्रमित भेटिएपछि म होम आइसोलेसनमा बस्दै आएको थिएँ। म र परिवार दुवै जना स्वाथ्यकर्मी भएका नाताले धेरै त डराएनौं। 

सञ्चारमाध्यम हेर्दा कहिलेकाहीँ नरमाइलो भने लाग्थ्यो।  तर कोरोना जित्छु भन्ने दृढ संकल्पसहित उपचारमा लागें। 

कोरोना भन्नेबित्तिकै डराउने गर्छन् मान्छे। तपाईलाई चाहिँ लाग्छ ? 

विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ। यो देखेर सबै डराइरहेका हुन्। म एक कोरोना पोजेटिभ सन्चो भएको व्यक्तिको हिसाबले के भन्छु भने कोरोनाबाट डराउँने हैन कोरोनासँग लड्ने हो। 

कोरोनाबाट मर्ने दर एकदमै कम छ। मर्नेहरु पनि औषधि सेवन गरिरहेका र दीर्घ रोगी छन्। आम नागरिकले कोरोना लाग्न नै नदिन ख्याल गर्नुपर्छ। 

परिवारको सहयोग कस्तो रह्यो ? 

परिवारको सहयोग नपाको भए मलाई आइसियुमा राखेर उपचार गरिनुपथ्र्यो होला। मलाई लक्षण सहितको कोरोना पुष्टि भएको थियो। मलाई श्वासप्रश्वासमा समस्या थियो। साँझ–बिहान अक्सिनज दिइरहनुपथ्र्यो। खोकी लगातार थियो, सबै कुराको व्यावस्थापन गरेर होम आसोलेसनमा बसी कोरोनामुक्त हुन सफल भए। 

आम नागरिकले कोरोना संक्रमणबाट बच्न के के गर्नुपर्ने रहेछ त ?

बिनाकाम कसैकोमा पनि नजाने, मास्क अनिवार्य लगाउने, भौतिक दूरी बनाउने गर्नुपर्छ। अब चाडबाड आउने भएकाले रमाइलो तथा जमघट गर्ने काम बन्द गर्नुपर्छ। 

कोरोना संक्रमणपछि सामाजिक सहयोग कस्तो पाउनुभयो ?

बन्द कोठामा १४÷१५ दिनसम्म थुनिएर बस्नुपर्दा राम्रो कुराको महसुस हुने कुरा त भएन। कोरोना पोजेटिभ बाक्लो बस्तीको होम आइसोलेसनमा रहँदा हेर्ने मानिसले अच्चम तरिकाले हेरेको महसुस गर्थें। 

कहिलेकाहीँ फ्रेस हुन छततिर गएको समयमा कोही कोहीले परैबाट ओ...कोरोना दाई भनेर जिस्काउनुहुन्थ्यो। रमाइलो तरिकाले जिस्काएको भए पनि नराम्रो महसुस हुन्थ्याे। एक कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण फरक पाएँ। किनकि यो मेरो समाजका लागि नयाँ थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.