|

संखुवासभा : खाँदबारीस्थित हिमालय किरण क्याम्पसको आइसोलेसन तोडफोडमा सम्लग्न चारजना पक्राउ परेका छन् । 

कोरोना संक्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा खाँदबारी नगरपालिका वडा–७ का हरि बुढाथोकी, पासाङ शेर्पा, विकास थापामगर र लाख बहादुर राई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए । 

खाँदबारी अस्पतालले हिमालय क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेन्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुर बाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ । 

आइसोलेसन तोडफोडमा संलग्न चारै जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । आइसोलेसन सेन्टर तोडफोड गरेको आरोपमा यसअघि हिमालय किरण क्याम्पसका प्रमुख डाक्टर मातृका तिम्सिनालाई पक्राउ गरिसकेको छ । 
क्याम्पस प्रमुख तिम्सिनालाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरेको थियो । हिमालय किरण पब्लिक क्याम्पसका प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेन्टर तोडफोड हुँदा हराएका सामान अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनास्थलमा भएको सिसी क्यामरामा देखिएको दृष्यका आधारमा थप चार जना पक्राउ गरेको प्रहरीले जनाएको छ। बिहीबार राति भएको आइसोलेसनमा तोडफोडबाट करिब १५ लाख रुपैयाँ बराबरको सामग्री हराएको अस्पताल खाँदबारीले जनाएको छ । 

आइसोलेसन सेन्टरमा राखिएका ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको हराएको अस्पताल प्रशासनले जनाएको छ ।  

कोरोना संक्रमित धर्मदेवी नगरपालिका–४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका–११ का २४ वर्षीय पुरुष र २२ वर्षीय पुरुषलाई हिमालय क्याम्पस ल्याउने भएपछि क्याम्पस प्रशासन र स्थानीयले विरोध जनाएका थिए । यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले क्याम्पसमा रहेको आइसोलेसन हटाउने निर्णय भएर पनि हटाइएको थिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.