|

धनकुटा : यो वर्ष गोलभेडाको मुल्य अत्यधिक बढेको छ। गोलभेडा अहिले व्यापारीले लकडाउनको बहाना बनाएर थोक मूल्य प्रति किलो ९० रुपैया बिक्री गरिरहेका छन्। तर, किसानले भने आफ्नो बारीबाट व्यापारीले ३० देखि ३५ रुपैयाँमा खरीद गरेर लैजाने गरेको बताउँछन्। 

अघिल्ला वर्षहरुमा यो सिजनमा बढीमा ४०–४५ रुपैंयामा बिक्री हुने गोलभेडाको मूल्य यो वर्ष भने आकासिएको हो। अहिले तराईको बजारमा व्यापारीले गोलभेडा खुद्रा मुल्य एक सय २० रुपैंया प्रति किलोमा बेचिरहेका छन्। बर्खाको सिजनमा धनकुटा गोलभेडा मुख्य उत्पादन क्षेत्र हो। बर्खामा तराईमा गोलभेडा उत्पादन बन्द हुने भएकाले पहाडी जिल्लामा मात्र गोलभेडा उत्पादन हुने गरेको छ। 

कोरोना संक्रमणका कारण भारतीय गोलभेडाको आयात रोकिएको तथा उत्पादन कम र खपत बढी भएकाले मूल्य वृद्धि भएको व्यापारी बताउछन। धनकुटामा करिब १५ सय हेक्टर क्षेत्रफलबाट वार्षिक करिब ५० हजार मेट्रिकटन गोलभेडा उत्पादन हुने गरेको छ।

यस्तै लकडाउनका कारण पहाडी क्षेत्रबाट गोलभेडा महँगो मूल्यमा खरीद गर्न परेको भन्दै धरान–१३ स्थित कृषि उपज बजारस्थलका थोक व्यापारीले कालोबजारी गर्ने गरेको पाइएको छ। धरानमा हाल धनकुटा–९ बेलहारा र धनकुटा–१० पात्लेखोला क्षेत्रबाट गोलभेडा ल्याउने गरिएको छ। गोलभेडाको यो थोक मुल्य नै धरानमा अहिलेसम्मको सबैभन्दा महंगो भएको कृषि बजारले जनाएको छ। कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दुई बर्षअघि पनि बाढीपहिरोको बेला गोलभेडाको मुल्य प्रतिकिलो ८० रुपैया पुगेको थियो। अहिले लकडाउनको बेला प्रतिकिलो ११० रुपैया कृषि बजार सञ्चालन भएयताकै महंगो भएको उनले बताए। धरानका थोक व्यापारीले ढुवानी खर्च प्रतिकेजी ५ र मार्जिन ५ रुपैयाँ राख्दा पनि फाइदा नै हुने उनको भनाइ छ।

गोलभेडा अत्यधिक महंगोमा किन्नु परेपछि धरान उपमहानगरपालिकाका अनुगमन समितिले प्रहरी, प्रशासन सहित कृषि बजारमा आकस्मिक बैठक बसेको थियो। उक्त बैठकले गोलभेडाको भाउ आकासिनुको कारणबारे यथार्थ बुझ्न वडा नं १३ को अध्यक्ष नेत्र काफ्लेको नेतृत्वमा एक टोली स्थलगतरुपमा पठाउने निर्णय गर्यो। धरानकी उपमेयर एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेपछि वडाअध्यक्षको नेतृत्वमा एक टोली धनकुटाको विभिन्न स्थानमा स्थलगत अनुगमनको लागि गएको थियो। यो टोलीले धनकुटाको गुठीटार, तमोर मुलघाट, रुद्रबारी, पात्लेखोला र हिलेसम्म पुगेर त्यहाँका किसान, स्थानीय व्यापारीले पाउने मूल्यबारे बुझेको छ। 

किसानको खेतमै गएर थोक व्यापारीहरूले गोलभेडा खरीद गरेर ल्याउने गरे पनि महँगो मूल्य तिरेर ल्याएको भन्दै उपभोक्तासँग थोकबजारमा दोब्बर मूल्य लिने गरेको पाइएको टोलीले निष्कर्ष निकालेको हो। किसानका अनुसार थोक व्यापारीहरूले धनकुटाको पात्लेखोला क्षेत्रका खेतमै गएर प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्ममा खरीद गर्ने गरेका छन भने धनकुटाको अन्य क्षेत्रमा किसानको खेतबाट प्रतिकेजी ६५ देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

सोही गोलभेडा धरान आइपुग्दा प्रतिकेजी थोकमूल्य ११० रुपैयाँसम्म पुग्ने गरेको छ भने उपभोक्ताले प्रतिकेजी १६० रुपैयामा खरीद गर्न पर्ने बाध्यता रहेको छ। थोक व्यापारीले प्रतिकेजी झण्डै दोब्बर मुनाफा लिइरहेका छन।

धनकुटा–९ बेलहारास्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टंक रोईरालाले उत्पादन कम भएकाले विगतका वर्षहरू भन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रुपमा मूल्य निर्धाारण  हुनु गलत भएको बताए। बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्विन्टल टमाटर बिक्री हुने गरेको छ।

त्यस्तै धनकुटा–१० स्थित पात्लेखोला कृषि सहकारीका सचिव समेत रहेका किसान अमरबहादुर दाहालले हिजोआज पात्लेखोला क्षेत्रका किसानबाट स्थानीय व्यापारीले प्रतिकेजी ३० देखि ३५ रुपैयाँमा खरीद गरेर लैजाने गरेको बताए। बजारमा पुग्दा प्रतिकेजी ७० रुपैयाँको हाराहारीमा बिक्री हुन पर्ने उनको भनाइ छ।
कोभिड १९ संक्रमणको कारण लकडाउनले गर्दा आम मानिसहरुले रोजगारी गुमाएका छन, जसले गर्दा उनीहरुको आम्दानी पनि छैन। यस्तो बेला सरकारले जनतालाई राहत दिनुपर्ने हो। तर, संघीय सरकारले पहिलो पटक लकडाउन गर्दा राहत पाए पनि अहिले स्थानीय तहहरु आफैले लकडाउन गर्दा भने राहत वितरण गरेका छैनन। अहिले दोस्रो पटकको लकडाउनमा निम्न आर्थिक अवस्थाका सर्वसाधारणहरु आम्दानी गुमाएर समस्या भइरहेको बेला गोलभेडा लगायत तरकारीको भाउ अचाक्ली बढेपछि सर्वसाधारण उपभोक्ता एवं जनताहरु झन मारमा परेका छन्। 

यसैबीच महँगो मूल्यमा थोकमै बिक्री हुन थालेपछि धरान उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गरी प्रतिकेजी ११० रुपैयाँमा नै बेच्न पर्ने भए बेच्नै छाड्न व्यापारीलाई निर्देशन गरेको छ। अनुगमन अधिकृत बेदप्रकाश सापकोटाले भने, ‘बिहान चार बजे नै गएर निरीक्षण गर्दा प्रतिकेजी ११० रुपैयाँमा थोकमै बिक्री भएको पाइयो, अनि धनकुटाका किसानलाई सोध्दा त्यस्तो नभएको पाइएपछि ११० रुपैयाँमै बेच्नुपर्छ भने नबेच्नुस् भनेका छौं।’

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले महँगो मूल्यमा बिक्री गरिरहेको हो भने जफत गर्नुस् भनेर बजार अनुगमन अधिकृतलाई निर्देशन दिएको बताए। उनले भने, ‘केही व्यापारी साथीहरू यो संक्रमणको बेला कमाउ धन्दामा लागेको भन्ने सुन्नमा आयो, त्यसो हो भने तत्काल रोक्नुस्, कारबाही गर्नुस् भनेर मैले निर्देशन दिइसकेको छु। त्यस्तालाई कारबाही हुन्छ, महँगोमा बिक्री हुनु हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.